पैसा अहिलेको युगमा अति अनिवार्य भएको छ,यो कुरा सबैलाई थाहा भएकै कुरा हो। त्यसैले हामी पैसा कमाउन,पैसा जमा गर्न या पैसा धेरै बनाउन रातदिन लागि परेका छौ। पैसा हरेक दिन एक बाट आर्कामा हिडिरहेको हुन्छ। तर हामीलाई थाहा भएर पनि थाहा नभए जस्तो लाग्छ।
पैसा बिना अहिले एक पाईला सार्न नसकिने वातावरण तैयार भई सकेको छ। तर पनि पैसालाई हामीले बुझ्न सकेका छैनौ। यदि समयमा त्यसको महत्व र आवश्यकताले बुझ्ने हो भने पैसा हामीसंग जति पनि हुन सक्छ। पैसा जति महत्त्वपूर्ण छ,त्यति हामी पैसा बारे छलफल गर्दैनौ। अनि कुनै स्कुल या कलेजमा पैसा कसरी कमाउन र जमा गर्न सक्छौ भन्ने बारे नसिकाईन्छ,न त पढाईन्छ।
सिकाउने र पढाउने चिज भएता पनि पैसाबारे हामीले या हाम्रो वातावरणले पैसाबारे शुरूमा नकारात्मक भ्रमहरू फैलाएको पाउछौ। हामी निकै आर्दशका गफ दिन्छौं कारण हाम्रो वातावरणले हामीलाई यस्तो गफ हाक्ने बनाई दिएको छ। जसको कारण संसारमा 90% मानिससंग भन्दा 10% मानिससंग पैसा धेरै हुने कारण पनि त्यही हो।
हामीलाई हाम्रो वातावरणले पैसामा भन्दा अन्य कुरा बढो महत्त्वपूर्ण हो भन्ने बनाई दिएको छ। हामीले प्राय यसो भनेका सुन्छौ - पैसा कमाएर के गर्ने जन्मदा खाली हात जन्मेको,मरेर जादा पनि खाली हात नै जाने हो। पैसा कमाउनु भन्दा राम्रो धर्मकर्म गर्नु राम्रो हुन्छ। जोसंग पैसा धेरै हुन्छ उसले समाजलाई ठगेर कमाएको हुन्छ। पैसाले खुशी किन्न सकिँदन,पैसाले नाताकुटुम्भ जोडदैन,पैसाले माया किन्न सकिँदन,पैसा हातको मैल हो आदि ईत्यादि यस्ता भ्रमका कुराहरू हामीले सानै देखि सुन्दै र सुनाउदै आई रहेका छौ। जसको कारण पैसा बारे हामी धेरै कुरा कहिल्यै गर्न चाहादैनौ।
यसो विचार गर्ने हो भने पैसावालले नै समाज निमार्ण गरिरहेको छ। केही होला जसले पैसाको बलमा समाजमा नकारात्मक सन्देश दि रहेका हुन्छन। तर पनि पैसा विना हिजोआज हामी केही पनि गर्न सक्ने अवस्थामा छैनौ । तसर्थ पैसाबारे छलफल किन नगर्ने ? आखिर पैसाले नै अहिलेको समाज निमार्ण भईरहेको छ भने पैसाको कमिकै कारण सम्बन्ध बिग्रिरहेको छ। पैसाकै कारण समयमा स्वास्थ्य उपचार हुनसकेको छैन। पैसाकै कारण कसैको मानसिक र भौतिक विकास हुन् सकेको छैन। राम्रो खान र बस्न पाएका छैनन्। अहिले जहाँ पनि जे गर्दा पनि पहिला पैसाकै आवश्यकता अनिवार्य भई सकेको छ।
पैसा नराम्रो होईन,बस ! पैसालाई हामीले कसरी र कहाँ अनि कुन कार्यका लागि खर्च गर्छौ त्यसमा भर पर्ने हो। संसार दिन प्रतिदिन परिवर्तनको खेलमा दौडि रहेको छ। यही परिवर्तनमा पैसाको भुमिका अहम हुँदै गएको छ। पैसा हामीसंग धेरै हुनु नराम्रो होईन,बरू त्यो पैसालाई कसरी र के मा प्रयोग गरिएको छ।त्यसमा भर पर्छ पैसा राम्रो हो या होईन भनेर।
पैसालाई राम्रो कार्य या नराम्रो कार्यमा सजिलै प्रयोग या खर्च गर्न सकिन्छ । तर त्यसको परिणाम कस्तो हुन्छ त्यो झन महत्त्वपूर्ण कुरा हो । पैसालाई पहिला हामीले बुझ्न जरूरी छ । त्यसपछि पैसा कमाउन अनि खर्च या प्रयोग गर्न जान्नु अति जरूरी छ । कृषि र औधोगिक युगमा जो संग राजनैतिक अधिकार थियो उसंग मात्र पैसा बढी हुन्थियो। अब त्यस्तो जमाना सकिएको छ। अहिलेको युग भनेको सुचनाको युग हो,यहाँ जसले पनि जतिखेर पनि धेरै पैसा कमाउन कुनै बेर लाग्दैन। बस ! उसंग पैसा कमाउने सोच र सपना हुनु पर्छ। हिजो अवसर कसैले दिनु पर्थ्यो,आज अवसर आफै ले समात्ने हो।
आज पैसाका लागी युवाहरुले आफ्नो परिवार र देश नै छाडेर जान थालेका छन्। गाउँघर खण्डर बनेका छन्। राज्यले जनतालाई दिनु पर्ने सामान्य सुविधा पनि नदिदा आज हरेक जनता पैसाको खोजीमा भौतारिनु परेको छ। सरकारले जनतालाई न त रोजगार नै दिन सक्यो,न त व्यवसाय गर्ने वातावरण नै बनायो। अब जनतासंग रहेको विकल्प भनेको आफ्नो गाउँदेखि शहर,शहरदेखि देश नै छाड़ेर पलायन हुने अवश्था सिर्जना भै सकेको छ । आखिर के का लागी भन्दा पैसाका लागी मात्र ।
राज्यले पैसाको बारेमा भरपुर बुझेको छ त्यसैले विभिन्न शीर्षकमा जनतासंग शुल्क तोकेरै उठाउछ ,पुगेन भने अन्य देशसंग कर्जा या अनुदानको लागी हारगुहार गरी रहेको हुन्छ। जनताको सहयोगले नै कुनै पनि देश समृद्ध हुने हो तर नेपालमा भने जनता भनेको केही पनि होइन जस्तो गरेर गर्ने व्यवहारले नेपाली जनता नै आजित भएर देशबाट नै पलायन हुने सजिलोबाट बाटो अपनाउने गरेका छन्। जसको कारण आज देश दिन दिनै हिजो गाउँ घर रित्तो भए झैँ आज शहर रित्तो हुदैछ।
सरकारले नेपाली जनतालाई देशमा बस्ने वातावरण नबनाए पनि नेपाली जनताले आफ्नो गाउँ घर र देशलाई भने माया गर्न भने छाडेको देखिदैन। सरकार हाक्नेहरुलाई सत्तोसराफ गर्दै विदेश लागे पनि आफ्नो गाउँ घर र परिवारको मायाले आफ्नो खुन पसिना बगाएर कमाएको पैसा थोरै खाएर भए पनि रेमिटान्स को रुपमा अरबौ रुपिया नेपाल पठाई रहेका छन्। जसले गर्दा आजसम्म देश जेनतेन चलि रहेको छ। तर अब माहौल फेरिदै छ युवाहरु अब उतै विदेशमा नै स्थायीरूप ले बस्न थाले पछि नेपाल आउने रकम कम हुदै गएको छ। साथै नेपालमा भएका जायजेथा पनि बिक्रि गरेर उतै लैजाने क्रम पनि शुरु भएको छ।
हुन् त मानिसले पैसा धेरै कमाए पछि तिन कुरामा खर्च गर्ने गरेका छन् - १ ) मनोरंजन २ ) लगानी ३ ) परोपकार। तर त्यो भन्दा पहिला मानिसले आफ्नो दैनिक जीवन धान्न पैसा कमाउन शुरुवात गर्दछन। त्यसपछि मानिसको जीवन न हो ,उनको आवश्यकता र ईच्छा निरन्तर आफ्ना निकटको समाजको वातावरणले बढाई दिने गर्दछ। अनि मानिस आफ्नै मनको गुलाम भएर अन्धाधुन्ध पैसा कमाउने संघर्षमा हुमिन्छ। पैसा भनेको एउटा मानिसबाट अर्को मानिसमा सर्दै जाने हो तर एउटाले कमाएको पैसा अर्कोमा कसरी सर्छ त्यो भने अचम्मको खेल छ।
हो त्यही पैसाको खेल बुझ्न अति जरुरी हुन्छ। त्यसैले यो पैसाको खेल नबुझ्नाले प्राय: मानिस कमाएर पनि रित्तो खल्ती हुने गर्दछन। अनि संसारमा पैसा ९०/१० मा विभाजित हुन्छ। ९० प्रतिशत मानिसले कमाएको पैसा आखिरमा गएर १० प्रतिशत मानिसको मा गएर थोपरिन्छ। जहिले देखि पैसाको चलन शुरु भयो त्यहि समय देखि यो पैसाको खेल चलि रहेको छ। स्कुल कलेजमा जागिर खाने शिक्षा मात्र दिने गर्दछ। राम्रो पढ्नु पर्छ र राम्रो कम्पनीमा जागिर खानु पर्छ भन्ने मान्यता हाबी भएको छ। आधुनिक शिक्षाको फर्मुला यहि नै हो। यदि स्कुल कलेजमा पैसा धेरै बनाउने पढाई शुरु गरि दिएको भए आज गाउँ मै बसेर पैसा धेरै बनाउने काममा लाग्ने थिए।
पैसा धेरै बनाउने भनेकै तपाईसंग बेच्ने चिज हुनु हो या तपाईसंग बेच्ने कला हुनु पर्छ। त्यो हाम्रो देश नेपालमा पर्याप्त मात्रामा रहेको छ। तर सरकार हाक्नेहरुले जनतालाई नै बेच्ने चिज बनाउन थाले पछि ,कसरी हुन्छ देशको विकास र कसरी बस्छन नेपालीहरु नेपालमा ? अझै पनि नेपाली जनतालाई श्रमिकको रुपमा दिन दिनै सरकारले नै विदेश पठाउने प्रपन्च रचिरहेको छ। नेपाल सरकारले या भनु सरकार हाक्नेहरुले आफ्नो लागि सजिलो गरी पैसा बनाउने माध्यम त बनाए तर नेपाली जनतालाई पैसा बनाउने वातावरण बनाई दिएनन्।
यदि नेपाल सरकारले खनिज,विधुत,पर्यटन,जडिबुटी,जैविककृषि र उधोगमा नेपाली जनताले पुरा फाइदा प्राप्त हुने गरि नीतिनियम बनाई दिएर सहज वातावरण बनाई दिएको भए आज देशको यो हबिगति हुने थिएन। हाम्रो देशमा विदेशिहरुलाई बेच्ने धेरै महत्वपुर्ण चिजहरु हुदा हुदै पनि सरकार हाक्नेहरुले सजिलोगरी नेपाली जनता बेच्न थाले पछि कसरी नेपाल र नेपालीले पैसा कमाउन सक्छन त ? त्यसैले पैसाको खेलमा नेपाली जनता सधै भुमरीमा परिरहेका छन्। अब नेपाली जनताले पैसाको खेल कसरी खेलिन्छ भन्ने कुरा बुझ्न अति जरुरी छ। तपाई संग जे छ त्यो बेच्न सक्नु पर्छ पैसाको खेल को पहिलो नियम नै यहि हो।
अब नेपाली युवाहरुले पैसाको खेललाई बुझौ र नेपालमा बसेर विदेशी पैसा कमाउने शिपलाई जसरी हुन्छ सिखने प्रयास गरौ र पैसा कमाउने वातावरण देशमा जनताले नै बनाउने हो,न कि देश छोडेर अन्य देशमा कमाउने ?बरु अन्य देशको पैसा कसरी सजिलो गरि नेपाल भित्राउन सकिन्छ,त्यसमा सोच र शक्ति लगाउ। कि कसो ?


Post a Comment