" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

  




         कस्तो राम्रो चलन हाम्रो नेपालमा । जनताको छोराछोरी राष्ट्रप्रमुख हुने नयाँ संविधान बनेपछि सांसद भवनमा नेपाल र नेपाली जनताका लागि भलो हुने नीति तथा कार्यक्रम राष्ट्रप्रमुखले वाचन गर्ने चलन चलाए। नयाँ संविधान बनेको आज आँठ वर्ष भई सक्यो । नेपाल सरकारले तीन जना राष्ट्रप्रमुख (राष्ट्रपति ) प्राप्त गरि सकेको छ । 

       हरेक वर्ष जेष्ठ १५ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने संविधानमा नै उल्लेख गरिएकोले जेष्ठ १५ गते राष्ट्रप्रमुखले बाचन गरिदै आएको छ। यसरी देश र जनताका लागि जनताको भलो हुने,जनताको दैनिकीमा सुधार हुने र जनताले अधिकार अनि सुख प्राप्त गर्न सक्ने देशका लागि हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम तैयार पार्दछ। त्यसै अनुरुप बजेट बनाई काम गर्दछ। 

      विगत जस्तै यस पटक पनि संसद्को संयुक्त बैठकमा सरकारको आ.व. २०८० - ०८१ सालको नीति तथा कार्यक्रम राष्ट्रपतिज्युले प्रस्तुत गर्नु भयो। यसरी हरेक वर्ष प्रस्तुत हुने नीति तथा कार्यक्रम अहिले सम्मको हेर्दा कुनै पनि सफल र पूर्ण भएको देखिदैन। सुन्दा मिठो गीत सुने जस्तो लाग्ने तर त्यो अनुसारको प्रतिफल अहिले सम्म नेपाली जनताले अनुभव गर्न पाएका छैनन्। त्यसो हुदा उही दलहरु चुनावमा होमिने बेलामा जनताको मत पाउन सपनाको पोको पारेर आफ्नो चुनावी घोषणापत्र जनतालाई दिए जस्तो भएको छ। चुनाव जिते पछि घोषणापत्र अनुसार आज सम्म कुनै दल र नेताले अक्षरस पालना गरेको पाईदैन। एकछिन सबैलाई खुशी बनाउन सक्छन तर दिर्घकालिन खुशी नेपाली जनताले प्राप्त गर्न सकेका छैनन्। 

      संसद भवनबाट रेडियो या टेलिभिजनबाट प्रत्यक्ष हेर्दा र सुन्दा रमाइलो लाग्ने नै भो,किन कि नेपाली जनताले केहि नपाउदा भाषणबाट त हरेक वर्ष राम्रा राम्रा योजनाहरु त पाई रहेका छन्। त्यो नेपाली जनतालाई पनि थाह छ पहिला त उपलब्ध नै हुदैन,भयो भने पनि नेता र पार्टीका पहुँचवालाले मात्र उपभोग गरी रहेका छन्। जसको मुख्य कारण नीति तथा कार्यक्रम संगै नीतिगत भ्रष्टाचार हुने गरेको यथार्थ कसैसंग लुकेको छैन। 

        देशको विकास हुने भनेको उधोग,व्यापार र कृषिले नै हो। तर यसरी नै हरेक वर्ष घोषणा भए अनुसारको  कार्यावन्यन नहुदा नाम फेरिएर कार्यक्रम प्रस्तुत हुने गरेको छ। स्टार्टअपलाई सहुलियत कर्जा दिने भनेर २०७२ सालमा आएको "च्यालेन्ज फंड,वैदेशिक रोजगारीबाट फर्किएकाहरुको दक्षतालाई सदुपयोग गर्न "रिटर्नी उधमशिलता विकास कार्यक्रम" ,कृषि क्षेत्रका लागी विभिन्न नाममा थुप्रै कार्यक्रमहरु आए। तर यसरी नै नीति तथा कार्यक्रम मार्फत सरकारले सदनमा प्रस्तुत गरिएका हजारौ कार्यक्रमहरुको लागी चाहिने आर्थिक व्यवस्थापन गर्न कुनै योजना नहुदा कार्यक्रमहरु अलपत्र परेका छन्। 

         आर्थिक वर्षका लागि कुन कुन क्षेत्रमा सरकारको नीति कस्तो हुन्छ ? अनि ति क्षेत्रहरुलाई अघि बढाउन के के कार्यक्रम ल्याउछ ? त्यसको लागी के काम गर्छ भन्ने कुराको समग्र जानकारी दिने एउटा ऎना हो सरकारको नीति तथा कार्यक्रम। तर सरकारले राष्ट्रप्रमुख मार्फत पाँच वर्षमा यसो गर्छौ,दश वर्षमा त्यस्तो गर्छौ भन्दै घोषणा गर्छन। तर न यसो,न यस्तो केही गर्दैनन्। किन कि सरकारलाई कहिले पनि दायित्व बोध र ग्लानी महसुस नै हुदैन। 

        हरेक निर्वाचनमा दिने चुनावी घोषणापत्र झैँ केही गर्नु नपर्ने अभ्यास भएका यी नाताप्रेमी नेताहरुले यसरी नै नीति तथा कार्यक्रम प्रस्तुत गरि रहेका छ्न। यिनले सधै खेस्रा सम्झेर प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले गर्दा नै आज देश बेतिथी र भ्रष्टाचारको भुमरीमा अल्झेको छ। अलिकति पनि लाज नलाग्नेलाई मानिसलाई जे गर्दा पनि हुन्छ भन्ने उनीहरुको मानसपटलमा लाहछाप झैँ बनेर बसेको छ। 

      कुनै पनि नीति तथा कार्यक्रमका लागी महत्वपूर्ण आर्थिक नै हो। आर्थिक विना कुनै कार्यक्रम सम्पन्न हुनसक्दैन। त्यसको लागी सरकारको ठोस नीति या योजना केही पनि छैन। आज भएका उधोग,व्यापार र कृषि क्षेत्र लगभग पूर्णरुपले धरासायी भई सकेको छ। जब सम्म यो क्षेत्रलाई सरकारले आफ्नो मुख्य अङ्ग मान्दैन, तब सम्म यस्ता नीति तथा कार्यक्रम सुन्नका लागि मात्र घोषणा गरेको ठहर्छ। 



    आज देश विकासको लागी चाहिने लाखौ युवाहरु विदेशी भूमिमा लाम लगेर जाने गरेका छन्। त्यति मात्र होइन बौद्धिक युवाहरु पनि दिन दिनै देशबाट पलायन भै रहेका छन्। तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक वर्षमा गरिब परिवार पहिचान गरी बिमा,चुल्हो,ट्युबवेल सामग्री दिने गरे तर गरिब भएर विदेश जाने युवाहरुलाई रोजगारी दिने योजना खै सरकार ? अनि नवप्रवर्तक र स्टार्टअपहरुका लागी "राष्ट्रिय स्टार्टअप उधम नीति" लागु गर्ने गरे।  एक हजार जना स्टार्टअपहरुलाई सहुलियत कर्जा दिने भनिएता पनि दिने कार्य हिजो पनि भएन,भोलि पनि हुन्छ भन्ने कुनै विश्वास गर्ने आधार छैन। साथै सुचना प्रविधि उधोगलाई रोजगारी र सेवा निर्यातको हब बनाउने भनि रहदा आई. टी.मा लागेका सक्षम युवाहरु रोक्ने कुनै ठोस योजना समावेश गरिएको देखिएन। 

         देशको सुरक्षा तथा प्रतिरक्षा सामग्री उत्पादनमा आत्मनिर्भर हासिल गर्ने नीति प्रस्तुत गरिरहदा सरकारले किन युवाहरुलाई देशमै टिकाई राख्ने बारे सोच्दैन। अझ पनि सरकार मंत्रीहरु वैदेशिक रोजगारी सम्झौता गर्न देश दौडाहमा रोम्ल्ली रहेको देखिन्छ। जुन देशमा युवाहरु हुदैन त्यो देशको न विकास हुन्छ,न सुरक्षा नै हुन् सक्छ। त्यसैले सरकारले यस्ता खेस्रा सधै जेष्ठ १५ गते प्रस्तुत गर्नु भन्दा अहिले भई रहेको निर्माण कार्य होस्,या विकास कार्य या जनताको सामाजिक विकासको कार्यलाई समयमा सम्पन्न गरी रोजगारी सिर्जना गर्ने क्षेत्रहरु उधोग,पर्यटन,कृषि र व्यापारलाई महत्वका साथ र सहयोग गरी यथाशिग्र सहज नीति ल्याउनु पर्दछ। 

       नीति तथा कार्यक्रम घोषणा मात्र गरेर हुने भए आज ८१ साल लाग्दा सम्म देशले धेरै फड्को मार्नु पर्ने हो। तर अहिले देशको अवस्था बारे हामी सबैलाई स्पष्ट थाहा नै छ। अहिले कुन गतिमा देश अघि बढी रहेको छ भनेर। त्यसैले खेस्रावाला नीति तथा कार्यक्रमले भन्दा भ्रष्टाचार विहिन नीतिले धेरै कुरा देश र जनताले प्राप्त गर्न सक्दछ। तसर्थ नीति भन्दा अघि अनुशासनमा रहेर इमान्दारिताका साथ देश संचालन गरौ। भ्रष्टाचार निर्मुल पार्ने प्रतिवद्धता गरौ। 

      यति भनिरहदा हिजोआज संसदीय छानबिन समिति बनाउनु पर्छ भन्ने विषयमा संसद भवन भित्र देखाईएको रडाकोले यस्ता नेताहरुले देशलाई विकासको गतिमा लैजाला भन्ने ठाउँ नै छैन। अझै भन्छन देशका लागी हामी यति वर्ष जेल जीवन बिताएका थियौ र हामी देश र जनताका लागी कति आन्दोलन गरेका छौ। अहिले यस्तो लाग्छ यदि जेल मै रहेका भए,बरु अहिले सम्म देशले ठुलो प्रगति गरी सकेको हुन्थियो। यसरी संसदमा यिनका बेमतलबका लडाईले कसरी समयमा राम्रो बजेट आउछ ? यो बढो गम्भीर विषय बनेको छ। अहिले देश एकप्रकारले भन्ने हो भने आर्थिक गतिविधि समय अनुकुल नहुदा,सङ्कट तिर उन्मुख भैरहेको छ। मुलुकलाई आर्थिक सङ्कट बाट मुक्त गर्दै नेपाल र नेपाली जनताको विकासका लागी नै हरेक वर्ष नीति तथा कार्यक्रम घोषणा हुने गर्दछ। तर अहिले देशका ठुला भनाउदा नेताहरुको गतिविधि र प्रस्तुति देख्दा विश्वास कसरी गर्न सकिन्छ। 

         यसो आश दल भित्र देखिएका युवा नेताहरुको थियो। तर तिनीहरु पनि संसद भित्र ठुला नेताहरु बीच त्यसै जन्गीएको देख्दा,देशका लागी होइन यिनका राजनीति आफनै दलका ठुला नेताहरुका लागी गरेका रहेछन भन्ने प्रष्ट देखिन्छ।  नेपाली जनताले पटक पटक नेताहरुको आन्दोलनमा सहभागी हुदै आएका थिए,त्यसैले अब नेपाली जनताको आन्दोलन यी भ्रष्ट नेताहरुको विरुद्धमा हुन् जरुरी देखिन्छ। होइन भने देशलाई छिया छिया पारेर  सिद्धाउन बेर लाग्दैन। जागौ नेपाली जनता एक पटक आफ्नो देशका लागी र आफ्ना सन्ततिका लागी जागौ। 

         

       

Post a Comment

Previous Post Next Post