सडक दुर्घटना नेपालमा अत्याधिक रूपमा बढेको विभिन्न अध्ययनले देखाउँछ र सडक दुर्घटना भएको समाचार नआउने दिनै हुँदैन् । दुर्घटना विभिन्न कारणले हुने गर्दछ, तर पनि हामी सबै सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गर्नु अति नै जरुरी हुन्छ, जसले गर्दा सडक दुर्घटनामा केही भए पनि न्यूनीकरण हुन्छ । त्यतिले मात्र न्यून हुने पनि होइन, जसको लागि सरकारको दायित्व अधिक हुने गर्दछ ।
तर सडक दुर्घटना पश्चात् हुने क्षतिमा हामी कति संवेदनशील छौ भन्ने कुराको हामीले सोच पु¥याउनु अति जरूरी छ । हामी कतिपयले सडक दुर्घटना पश्चात् मानवता बिर्सेर रमिते या सामाजिक सञ्जालको रिपोर्टर बनिरहेका हुन्छौं । हामीले दुर्घटनामा परी घाइते भएकाहरूको उद्दार गर्न छाडेर फोटो खिच्ने र घटनाको विश्लेषण गरेर समय खेर फाली रहेका हुन्छौ । समयमा घाइतेको उद्दार गर्नेतर्फ हाम्रो ध्यान गईरहेको हुँदैन । यदी कसैले उद्दार गर्न चाहे पनि उनलाई सहयोग गर्नुको साटो लफडामा फसिन्छ है भन्ने जस्तो अभिव्यक्ति तुरून्त भिडमा दिने गर्दछौ । जसको कारण कतिपय बच्न सक्ने घाइतेहरूको उद्दार हुन नसकेर मृत्यु भएको हामीले सुनेका, देखेका छौं । सडक दुर्घटना कसले, कसरी गर्यो या यस्तो गर्दा यस्तो घटना हुने थिएन भन्ने भन्दा पनि दुर्घटना पश्चात् हुने क्षतिलाई कसरी कमी गर्न सकिन्छ भन्ने सवाल जटिल हुँदै गएको छ । तर जटिललाई सहज गर्न सकिन्छ । त्यसको लागि हरेक नागरिकको आ–आफ्नो भूमिका र कर्तव्यबोध हुनु जरूरी छ ।
नागरिकको मात्र भूमिकाले क्षतिलाई कमि गर्न असम्भव पनि छ । जसको लागि सरकारले सडक दुर्घटना पश्चात् हुने क्षतिलाई कम गर्न सधै भौतिक र मानवीय रूपले तयार हुनु जरूरी छ । तर सरकारले अहिले सम्मको सडक दुर्घटनामा देखाएको भूमिकामा पूर्ण रूपले तैयार भएको देखिदैन । जसको कारण समयमा सही ढंगले उद्दार नहुँदा धेरै घाइतेहरूलाई बचाउन नसकेको प्रत्यक्ष या समाचारमा देख्न र पढ्न पाएका छौ । सरकारले सही ढंगमा उद्दार गरेन भने हामीले नै तत्काल उद्दार गर्न सक्छौ । दुर्घटना पश्चात् घाइतेलाई तुरून्त प्राथमिक उपचार दिन सके धेरै घाइतेहरूलाई मृत्युबाट बचाउन सकिन्छ ।
नेपालमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । सडक दुर्घटना पश्चात् न सरकार, न सवारी सञ्चालक र न चालक सचेत भएको देखिन्छ । साथै यात्रुहरू पनि सडक दुर्घटनाका समाचार सुनिरहँदा पनि जबरजस्ती बसमा चढेका हुन्छन् । जुन सडक दुर्घटनाको मुख्य कारणहरू मध्येमा पर्दछ । सिट क्षमता भन्दा बढी यात्रु चढाउने र चढ्ने पनि भागीदार हुन् । साथै सडकको अवस्था र कमसल मोटर पार्टस पनि कारक रहेको हामी पाउछौ । तर यति भनिरहँदा के बस सञ्चालक र सरकारले अहिले सम्म सडक दुर्घटनाको बारेमा केही गरेको छैनन त ? अवश्य पनि गरेका छन् । सरकारले दुर्घटना हुँदाको केही हप्ता चहलपहल गरेको पाइन्छ तर ठोस निर्णय र कार्यान्वयन गरेको पाइँदैन । सरकारले निर्देशन दिनेबाहेक अरू केही गरेको पनि देखिदैन । यदि सरकारले जनताको जिउज्यानको ध्यान दिने भए ठोस निर्णय र प्रक्रिया सुरू भइसकेको हुने थियो । अकालमा जनताको ज्यान जाँदा पनि सरकारले सडक दुर्घटनाबारे गहन अध्ययन नगर्नु र सडक सुधार नगर्नु जनता माथिको बेइमानी हो । हाल सम्मको नेपालमा भएका सडक दुर्घटनाको सरोकारवाला निकायले ध्यान दिने हो भने पक्कै पनि सडक दुर्घटना न्यून हुँदै जाने थियो तर बढिरहेको छ ।
सडक दुर्घटनाका प्रतिवेदनहरू पनि तयार गरेर सरकारले बुझेको छ तर सो प्रतिवेदनबाट आएको सुझावको कार्यान्वयन पक्षमा न बहस भएको छ, न सार्वजनिक भएको छ । कमसेकम पनि ती प्रतिवेदनहरू हुबहु जनता सामु सार्वजनिक भएका भए, पढेर, बुझेर जनता, चालक र बस सञ्चालकहरू सचेत हुने थिए र केही हदसम्म सडक दुर्घटना न्यूनीकरणमा अवश्य पहल हुने थियो ।
सडक दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा पहिला ठूला सवारीसाधन चलाउने चालकहरूलाई पढाउने चालक स्कूल हुनुपर्छ । आजसम्म पहाडी भेगमा बस चलाउने चालकहरूले हिल ड्राइभिङ टेष्ट गरेका छैन र गराउने कुनै निकाय पनि छैन । जसको कारण पहाडी भेकमा ठुलठुला सडक दुर्घटना हुने गर्दछ । त्यससंगै सडक महत्वपूर्ण हो, जुन मापदण्डमा सडक निर्माण भएको हुन्छ त्यही मापदण्ड अनुसारको सवारीसाधनले चलाउन अनुमति पाउनुपर्छ । साथसाथै महत्वपूर्ण कुरा सवारीसाधनमा लाग्ने पार्टपुर्जा कमसल प्रयोग गर्नाले पनि दुर्घटना निम्त्याइरहेको हुन्छ । सवारीसाधन मर्मत गर्ने मेकानिक्सहरूको दक्षतामा पनि बेलाबेलामा सवाल उठ्ने गरेको छ । मर्मत गर्ने स्थल या ग्यारेजमा पर्याप्त आधुनिक औजारहरूको कमी पनि रहेको छ । सडक दुर्घटना कम गर्न समग्रमा हामी सबैको भूमिका महत्वपूर्ण रहेको छ ।
यदि हामीले आ आफ्नो ठाउँबाट आफ्नो कर्तव्य निर्वाह गर्न सके सडक दुर्घटना न्यूनीकरणसंगै धेरै नेपालीहरूको जिउज्यान बचाउन सकिन्छ । मुलुक संघीय व्यवस्था पश्चात तीन तहको सरकार सञ्चालनमा आए पछि गाउँगाउँमा सडक निर्माण जुन तीव्र गतिमा भइरहेको छ, त्यसको मापदण्ड र निगरानीमा कसैको ध्यान गइरहेको छैन । जसको कारण भविष्यमा अझ डरलाग्दो सडक दुर्घटना र भुस्खलन हुने सम्भावना बढेर गएको छ । त्यसैले तीनै तहको सरकार, सडक विभाग अनि यातायात व्यवस्था विभाग समयमा सचेत रहनु जरूरी छ । सडक निमार्णमा पु¥याउनुपर्ने ध्यान सबै पक्षले समयमा पु¥याएमा मानवीय र भौतिक क्षतिमा धेरै कमी गर्न सकिन्छ । सडक दुर्घटना हुने विभिन्न कारणहरू छन् । दुर्घटना न्यूनीकरण गर्न सही र सजिलो तरिका सडक प्रयोगकर्ता सबैले ट्राफिक नियम पालना गर्नु नै उत्तम उपाय हो । अन्त्यमा हामी सबैले सडक दुर्घटना न्यूनीकरणमा आ–आफ्नो भूमिका निर्वाह गरौ ।
.jpeg)

Post a Comment