युवाहरु देशका भविष्यका कर्णधार हुन् भन्ने पुरानो नेपाली उखानलाई "Generation Z" वर्गका युवाहरुले २४ घण्टामा प्रमाणित गरेर देखाई दिएका छन्। यी पुस्ताका युवाहरुलाई "जित " को लागी धेरै धेरै धन्यवाद र बधाई दिन चाहन्छु।
यी पुस्ताले दुई दिनमा देशमा लामो समय देखी बेथिति र भ्रष्टाचार गर्नेहरुलाई ठुलो झट्का दिएका छन्। बहुमतको दम्म देखाई नेपाली जनतालाई बारम्बार तर्साई रहने नेता र दलहरुलाई ठेकान लगाई दिएका छन्। यी युवाहरुले ती नेता र दललाई यो घटना घट्नु अघि पनि पटक पटक बिन्ती गरेका हुन। तर केटाकेटी सम्झेर अटेर गर्नाको परिणाम आज भोगेका छन्। देश बनाउने सोच कहिल्यै आएन यिनीहरुलाई ,किनकी दलाल र बिचौलियाहरुको जालमा फसेका यी नेताहरुले बस !भ्रष्टाचार गर्ने बाहेक केही पनि सोचेनन।
अहिले पनि यिनलाई पछुतो लागेको देखिदैन। किनकी घटनाको राप चिसो हुन् नपाउदै फेरी आफ्ना झोले कार्यकर्ताहरुलाई सडकमा उतारेर आफ्नो उही पुरानो उपस्थिति देखाउन थालेका छन्। अझ पनि दम्म छ यिनलाई। चेत खुलेको छैन। हो देश संविधान अनुसार चल्नु पर्छ सबै नेपालीको चाहना पनि हो। तर हिजो आफुहरु सत्ता बस्दा सम्म संविधानको "स " पनि उच्चारण नगर्ने अहिले संविधानको रक्षा गर्नु पर्छ भनेर आफ्ना झोलेहरुलाई विभिन्न माध्यमबाट बोल्न लगाउने ? आखिर किन ? के नेपाललाई खेल मैदान बनाएर आफ्नो अभिष्ट अझै पुरा गर्ने सोचमा हो ? यदि त्यसो हो भने खबरदार ! अब धेरै नै भयो नेपाल र नेपाली जनतालाई लुट्ने काम।
यतिका वर्ष सम्म नीतिगत र आर्थिक भ्रष्टाचार गर्ने नेता र दलहरुलाई Generation Z का पुस्ताहरुले राम्रोसंग चिनेर २४ घन्टामा जराबाट उखालेर फालीदिदा आफुले गरेका भूलहरूलाई महसुस नगर्ने, जनतासंग माफी नमाग्ने हो भने यि भ्रष्टहरुको मात्र होइन देशको भविष्य नै खतरामा पर्न सक्छ भन्ने हेक्का हामी सबैले बेलैमा राख्नु पर्दछ। अहिलेको यो सुचनाको युगमा देश भित्रका दुश्मनसंग मात्र होइन देश बाहिरको दुश्मनहरुसंग पनि संगसगै जुध्नु परीरहेको छ।
अन्य देश भन्दा नेपाली जनता आफ्नो देशका लागी सधै छिटो एकजुट हुन् जानेका छन्। जसले गर्दा बाहिर्य शक्ति यहाँ समयमा सल्बलाउने मौका नै पाउदैनन। बग्लादेश,श्रीलंका,कोम्बोडिया,पाकिस्तानमा भएका घटना र नेपालमा भएका घटनाहरुलाई निहालेर हेर्ने हो भने हामी प्रष्ट हुन् सक्छौ। नेपालमा नेपाली जनता जस्तो सुकै कठिन समयमा पनि सबै रिसराग छोडेर छिट्टै एकजुट भई संघर्ष गर्न सक्छन। हिजोको दिनमा भएका आन्दोलन र Generation Z का पुस्ताहरुले गरेको आन्दोलनमा केही फरक देखिदैन। २३ र २४ गते भएको आन्दोलनको घटना देखेर जो कसैले पनि अब नेपालमा लामो समय सम्म द्वन्दमा जाने खतरा देखेका थिए होला। तर २५ गते देखि सबै मिलेर सरकार बनाउने र आन्दोलनको क्रममा भएका फोहोर सफा गर्ने,प्रहरी चौकी स्थापना गर्ने मिलेर काम शुरु गरी सकेका छन्।
आज नया सरकार पनि नयाँ म्यान्डेट लिएर बनी सक्यो। अब देश फेरी सरल तरिकामा दैनिक कामकाजमा नेपाली जनता लागी सकेको छन। यति भैसक्दा पनि फेरी देशलाई भड्खालोमा हाल्न जो कोहीले दुश्साहस गर्ने चेष्टा गर्यो भने अब नेपाली जनताले यतिकै पक्कै पनि छाड्दैनन। सबैले अब देश र जनतासंग गद्दारी गर्ने काम नगर्ने प्रण गरौ र नेपाल र नेपालीलाई समृद्ध बनाउन एक जुट भएर अघि बढौ।
अन्तमा देशलाई भ्रष्टाचार,दलाली र बिचौलिया मुक्त अनि सबै नेपालीको सम्मान हुने नेपाल बनाउन आन्तरिम सरकारका पहिलो महिला प्रधानमंत्री श्री सुशिला कार्कीज्युलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।
साथै यो आन्दोलनमा सहादत प्राप्त गर्नु भएका सम्पूर्णलाई हार्दिक श्रद्दान्जली अर्पण गर्दछु र घाईते भएका सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
अब फेरी नयाँ सोच,जाँगर र एक भएर हाम्रो देश नेपाल र नेपालीलाई संसारको सबै भन्दा खुसी जनता बनाउने कार्यमा जुटौ। जय नेपाल।

Post a Comment