" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 

 

  

         प्राय  मानिसको बाल्यकाल थाहै नपाई बितेको हुन्छ। केहि घटनाहरु मानसपटलमा  ताजा भएर बसे पनि युवास्थामा आई पुग्दा ति कुराहरु पनि बिलाउने तरखरमा हुन्छ। युवास्थामा एउटा जोश हुन्छ ,शरीरमा बल नभए पनि जोसंग पनि भिड्न सक्ने आँट मन भित्र हुन्छ। युवा मनमा रहरहरु पनि कति हो कति हुन्छ ,चाहे त्यो पुरा हुने रहर होस् या रहरै रहरको रहर होस्। बाल्यकाल र युवास्था प्राय हासी मजाकमा हुर्केर बितेको हुन्छ। जिन्दगी त एउटा युवाले घरजम गरे पछी मात्र के हो भन्ने बुझ्ने आँट गर्छ। असली जिन्दगी हरपल बुझ्ने प्रयास गर्छ र गरिरहन्छ। जिन्दगी उसले कति बुझ्छ,कति बुझ्दैन उसलाई पनि थाहा हुदैन। उ झस्किन्छ बेला बेलामा कसरी मेरा ति रमाइला दिनहरु बितेर गयो भनेर। एउटा लामो श्वास फेरेर जिन्दगी त अझ आधा त बाकी नै छ भनेर आफैले आफैसंग दुक्क हुन् खोज्छ। तर उ पूर्णरुपले दुक्क भने हुन् सक्दैन। त्यसैले तपाई यदि ५० को उमेरमा पुग्नु भएको छ भने अब दुक्क हुने होइन त ? 

     हो यदि तपाई आफ्नो बाकिको जिन्दगी दुक्कसंग रमाइलो गरि बिताउनु चाहनु हुन्छ भने तीनवटा  कुराहरु लागू गर्नु होस्। हिजोको जिन्दगी भन्दा आजको जिन्दगी खुशी,रमाइलो र हासेर बिताउन सकिन्छ। खासै नयाँ कुराहरु पनि होइन,जो तपाईले बाल्यकाल या युवास्थामा गरेका या गर्न खोजेका कुराहरु नै हुन्। कतिपय कारणले गर्दा गर्दा निरन्तरता दिन सक्नु भएन अब दिनुहोस। बस आफ्नो जिन्दगीको लागी ! जिन्दगीका बचेका पलहरु खुसि साथ बिताउनका लागी ! हिजोको जिन्दगी कसरी बित्यो त्यसको पिर अब नगर्दा नै बेस हुनेछ। अब मात्र यी कुराहरु आफ्नो दैनिकी जिन्दगीमा लागु गर्नुहोस र जिन्दगी सुखमय,हर्सोउलासका साथ परिवार,समाज र देशलाई मजाले नजिकबाट चिनेर,बुझेर सफल जिन्दगी बिताउने एउटा फेरी हिम्मत गर्नुहोस । हिम्मत पनि युवा हिम्मत ! युवा हुदा एउटा कामका लागी गरेका हजार चेष्टा सम्झिनुहोस त ? त्यतिखेर चाहे खेलमा होस्,चाहे पढाई होस्,चाहे आँपको रुखमा चड्दा होस्,चाहे साईकल लिएर साथीहरुसंग दिनभरी घाममा कुदाउदा होस्,पोखरीमा पौड्दा होस्,स्कुल छाडेर फिल्म हेर्दा होस् स्मरण गर्नुहोस त युवा हुदा गरेका हिम्मतहरु। हो त्यतिखेर बदमासी थियो कसैका लागी,तर तपाईका लागी भने हिम्मत नै हो। अब फेरी तपाईले आफ्नो लागी ति बिर्सिएका हिम्मतहरु अब आफ्नै लागी गर्नु पर्ने बेला आएको छ ,यदि तपाई ५० भन्दा माथि हुर्की सक्नु भएको छ भने है। 



           सर्वप्रथम अब तपाईले सबै भन्दा पहिला आफ्नो स्वास्थ्यका लागी समय अनिवार्य छुट्टाउनु पर्छ। स्वास्थ्य प्रति तपाई यो भन्दा अघि पनि सचेत अवश्य हुनु हुन्थियो,तर पारिवारिक,सामाजिक र आर्थिक कारणले जति आफ्नो शरीरका लागि दिनु पर्ने समय दिन चाहेर पनि दिन सक्नु भएन। हो त्यसैले अब सबै भन्दा पहिला आफ्नो स्वास्थ्य प्रति विशेष दिनु पर्दछ। तपाईको स्वास्थ्य ठिक छ भने सबै कुरा ठिक हुन्छ। त्यसका लागी आज देखि नै नियमित तपाई जिमखाना जानुहोस,या कुनै आफ्नो रुचि अनुसारको खेल क्लबमा जानुहोस,या साईकिलिङ्ग गर्नुहोस,या स्विमिङ्ग क्लब जानुहोस,या योग कक्षामा भर्ना हुनुहोस। तर आफ्नो स्वास्थ्यका लागी दैनिक दुई घण्टा नियमित  व्यायामका लागि दिनु होस्। जसले तपाईलाई ताजगी,उर्जा,तनावमुक्त,स्वास्थ्यको साथै खुशी महसुस गराउछ।


 

          दोश्रो  स्वास्थ्य जस्तै अति महत्वपूर्ण तपाईको जीवन संगिनी,उनिसंग अब धेरै समय व्यतित गर्नुहोस। किनकी हिजोका दिनहरुमा तपाईले आफ्ना छोराछोरीहरुको उज्ज्वल भविष्यका लागी आफु र आफ्नो जिवानसाथीका सबै इच्छाहरु नै बिर्सेर  काम गर्नु भयो। धेरै समय खट्नु भयो। उनि पनि धेरै खटिन। अहिले तपाई दुई जनाले आफ्ना छोराछोरीलाई राम्रो संस्कार दिनु भयो,उनीहरु आफ्नो भविष्य निर्माण गर्न आफै सक्षम भई सके,अब उनीहरुको चिन्ता लिनु पर्ने अवस्था पक्कै छैन होला। त्यसैले अब जति समय तपाईसंग रहन्छ,बस आफ्नो उनीलाई दिने गर्नुहोस। उनको हृदयको कुरा ध्यान लगाएर सुन्नुहोस। उनले चाहेका कुराहरु पुरा गरी दिनुहोस। जिन्दगी भनेको सायद यहि त होला होइन र ? जिन्दगी अब दुवै जना मिलेर सुख दुख बाटेर लिने दिने अनि सहकार्य गरेर बिताउने गर्नुहोस। त्यति गरेपछि हेर्नुहोस अहिलेसम्म गरेका दुख,कष्ट बिर्सेर नयाँ जिन्दगीको अनुभव आफै प्राप्त गर्नु हुनेछ।  



         तेश्रो  तपाईको इच्छा,शौक,चाहना के थियो,अब त्यो पुरा गर्ने समय आएको छ। हिजो युवा हुदाको शौक,इच्छा र चाहना जुन तपाईले पुरा गर्न कहिलै सक्नु भएन या समय परिस्थितिले पुरा हुन् दिएन। कारण पारिवारिक र आर्थिक नै हुनु पर्छ। तपाईको शौक,इच्छा र चाहना जुन अहिले सम्म मुर्दा झैँ भएर बसेको छ अब त्यसलाई जगाउनु होस्। र पुरा गर्नु लाग्नु होस्। तपाईको शौक,इच्छा चाहना जे भए पनि यहि बेला हो अब पुरा गर्ने। तपाईको रहर फेरी रहर बनेर नमरोस। त्यसलाई यहि समय हो पुरा गर्नु होस्। हिजो तपाईलाई देश विदेश घुम्ने रहर होला,हिमालतिर ट्रेकिंग जाने शौक होला,गीतसंगीत सिखने चाहना होला,पुस्तक पढ्ने इच्छा होला,गीतगजल,कथा कोरेर किताब प्रकाशित गर्ने चाहना होला,जे थियो तपाईको मनले गर्न खोजेको,तर विभिन्न कारणले अहिले सम्म गर्न नसकेका ति सबै इच्छा,शौक,चाहना अब केहि नसोची पुरा गर्नु होस्। 

            यी माथिका तिन कुराहरु यहि जुनीमा पुरा गर्नुहोस। जिन्दगी न हो आनन्दले बिताउने चेष्टा गर्दा कसको के न बिग्रिन्छ र। होइन र हजुर  ! जिन्दगीमा हजार कष्टहरु भोगेका यो समाजमा मानिसहरु धेरै छन्। तर पनि कोहि धेरै खुशी छन् भने कोहि यहि यस्ता कुराहरु आफ्नो जिन्दगीमा लागु नगर्दा धेरै दुखि पनि छन्। हुन् त दुख र सुखको संगम नै जिन्दगी हो भन्छन। तर पनि संगममा पुग्दा सम्म तपाईले दुख धेरै स्वीकार्ने कि सुख ? यो तपाइँ हाम्रो जिन्दगी जिउने तरिकामा भर पर्छ। 

               मानिसले जिन्दगी एकपटक नै पाउने हो,मरे पछि पुन: यो धर्तिमा आउने अवसर प्राप्त गर्छ गर्दैन थाहा छैन। त्यसैले जिन्दगी खुलेर बाच्ने चेष्टा किन नगर्ने ? हामी सबैले चेष्टा गर्ने ,हिम्मतका साथ गर्ने ! होइन र। 

Post a Comment

Previous Post Next Post