" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 

          ५ अक्टुबर १९९९ को साँझपख एउटा चिट्ठी मेरो हात पर्यो। चिट्ठीको खाममा एकातिर मेरो नाम सहित ठेगाना थियो भने अर्को भागको माथिको कुनामा चिट्ठी पठाउनेको नाम,पोस्ट बक्स नम्बर र ठाउँ लेखिएको थियो।  चिट्ठी सामान्य खाममा, तक्षक नागको फोटो भएको रु. २ को नेपालको हुलाक टिकट टासिएको थियो। तर चिट्ठीमा लेखिएको पठाउनेको नाम र ठाउँ देखि पुरै अपरिचित थिए म। कहिल्यै मेरा आफन्त,इष्टमित्र,साथीसंगीको घेरा भित्र नपरेको नाम थियो। चिट्ठी हात परेपछि केहीबेर निहालेर हेरेर चिट्ठी खोले। 



           चिट्ठी निकै ठुलो सादा पानामा धेरै हरफ कोरिएको शब्दहरुको संजाल थियो। चिट्ठीको माथिको दाहिने कुनामा मिति लेखिएको थियो। २०५६/भदौ/२० गते। चिट्ठीको शुरुवात कविताको चार हरफबाट शुरु गरिएको थियो - 

                                "सुखमा बाच्न खोज्ने यी मान्छे,

                                आफन्तको सुखलाई कुल्चिएर अघि बढ्छ !

                                 दुख देखि भाग्न खोज्ने यी मान्छे ,

                                 आज आफन्तको मुखमा थुकेर हिड्छ !! "

              त्यसपछि चिट्ठीको शुरुवात यो माथिको कविताका रचनाकार तथा अपरिचित मित्र नमस्कार लेखि अघि बढेको छ। चिट्ठी पढ्दै जादा कविताका ति हरफहरुले उनको जीवनका दुख सुखसंग मेल खाएको देखिन्छ। निक्कै भावुक भएर चिट्ठी लेखिएको प्रष्ट बुझिन्छ। 

              धेरै वर्षपछी मैले आज मेरा पुराना डायरीहरु खोतल्ने क्रममा एउटा डायरीमा करिब २३ वर्ष अघि उनले पठाएको तिन चिट्ठी देखे र पुन: ति चिट्ठीहरु एकपटक पढे। मलाई ति दिनहरु हिजो जस्तै लाग्न थाल्यो र ति दिनहरु सम्झिदै यो लेख लेख्दै छु। आज २३ वर्ष पछि ति चिट्ठीहरुको बारेमा मैले खुलाउन खोजे, उनले एउटा पबित्र मनले आफ्ना दुख,सुख र जीवनका आरोह अवरोह अनि एउटा सम्बन्धको कुरा लेखेकी थिएन। तर हाम्रो वार्ता या सम्बन्ध जे भन्नु होस्। बस ! तिन वटा चिट्ठीमा सिमित रह्यो,खै त्यो के कारण थियो, मैले पनि बिर्से। यदि हाम्रो वार्ता र सम्बन्ध चिट्ठीमा मात्र सिमित नभई दिएको भए आज सम्म हाम्रो सम्बन्ध समधुर अवश्य रहने थियो। 

            त्यसैले चिट्ठीमा मात्र रहेको अपरिचित सम्बन्ध आजसम्म पनि अपरिचित नै छ भौतिकरुपले। चिट्ठीको सम्बन्ध मेरो कविता श्रावण/भदौ -२०५६ सालमा एउटा पत्रिकामा प्रकाशित "यी मान्छे " शिर्षकको कविता उनले पढे पछि, उनको पहिलो चिट्ठी मेरो हात परेको थियो। पहिलो चिट्ठीमा उनको आफ्नो परिचय र आफुले भोगेका ति तिता पलहरु,अनि जीवन चाहेर नचाहेर बाच्नु परेका शब्दहरुले भरिएको थियो। मेरो कविता १६ हरफको थियो। उनको जिन्दगीसंग मेल खाएको माथिको चार हरफले, उनको मन छोएर निक्कै भावुक भएको कारण मित्रताको अनुरोध गर्दै पहिलो चिट्ठी लेखेकी रहिछिन। 

            उनि एउटा दुर्गम गाउँ कि रहिछिन,उच्च शिक्षा हासिल गर्न राजधानी आएर पदमा कन्या कलेजमा पढेको दुई वर्ष भएको रहेछ। उनको आफ्नो जन्म दिने आमा अहिले उनीसंग नरहेको जिकिर चिट्ठीमा गरेकी छिन। जसको कारण कता कता कष्ट भोग्नु परेको उनको मनमा लाग्दो रहेछ। उनि जिन्दगी खुलेर बाच्न चाहन्छिन। तर समाज र समयको परिस्थितिका कारण उनले आफुलाई एक्लो महसुस गर्ने रहिछिन। उनको चाहना जिन्दगीमा उच्च शिक्षा हासिल गरेर केहि गर्ने रहेछ। तर नेपालको शिक्षा नीतिका कारण राजधानीमा दुर्गम गाउँका विधार्थीहरुले सिमित सुविधाका साथ प्रतिस्पर्धा गर्न निक्कै धौ धौ पर्ने स्वाभाविक नै थियो। 

            चिट्ठीमा धेरै गन्थन नभए पनि उनको आफ्नो भोगाईका कथा अनि केहि व्यथाहरुको संगालो थियो। जे होस् उनले कविताको कुराहरु धेरै गर्न खोजेकी छिन। कविता पढ्दा आफ्नै जिन्दगी भित्र हराएकी रहेछिन। उनको आमा आफुसंग नरहेको पिडा निकै रहेछ। त्यसैले यस्ता भावुक कविताहरु अझ पढ्न पाउने आशा अनि विश्वास राखेकी कुराहरु लेखेकी छिन। जसको कारण धेरै दुखहरु माँझ कता कता एउटा हिम्मत अनि साहस आफूभित्र रहेको महसुस हुने रहेछ कविताहरु पढ्दा।    

             उनको दोश्रो चिट्ठी २०५६/मङ्सिर/८ गते लेखिएको प्राप्त भएको थियो। यसपटक उनले चिट्ठीमा एउटा प्रस्ताव अघि सारेकी थिएन। चिट्ठी निक्कै गहकिलो शब्दहरुले भरिएको थियो। सायद जिन्दगी भनेको यहि नै होला। जहाँ सम्बन्ध छ, त्यहाँ एउटा जिन्दगी रहन्छ। संसारमा सम्बन्ध अनेक प्रकार हुन् सक्छन। तर मानिसले चाहेर वा नचाहेर कतिपय सम्बन्ध आफैं जोडिन पुग्छ भने कतिपय जोडिएर बिग्रिन सक्छ। कतिपय समाजको नियमले बनेका सम्बन्धहरु हुन्छन,भने कतिपय सम्बन्ध रगतका नाताले बनेका हुन्छन। तर एउटा सम्बन्ध यस्तो हुन्छ,मनका भावनाहरुले आफै स्वतस्फुर्त सम्बन्ध कसैसंग जोडिन पुग्छ। 

            उनले चिट्ठीमा एउटा सम्बन्ध अघि बढाउन मलाई प्रस्ताव गरिन,तर कुनै करकाप नभएको,यदि चाहनु हुन्छ भने प्रस्ताव स्वीकार गरि दिन आग्रह गरेकी थिएन। उनले चिट्ठीमा उनको परिवारमा आफ्नो दाजु र भाई नरहेको जानकारी गराउदै हामी दुई दाजु र बहिनीको सम्बन्ध अघि बढाउने चाहना राखेकी थिएन। स्वीकार नै पर्छ भन्ने पनि छैन है भन्दै चिट्ठीको अर्को हरफमा दाजु लेख्दै सम्बोधन शुरु गरेकी थिएन। चिट्ठीको अन्तमा "उही तपाइको बहिनि बन्न चाहने" लेखी समाप्त गरिएको थियो। 

            उनको दुईटा चिट्ठी पढे पछि मैले पक्कै पनि उनको दाजु बनि दिने प्रस्ताव स्वीकार गरेको रहेछु। जिन्दगीमा खै कसरी समयहरु थाहा नपाईकन बित्दो रहेछ। आज २३ वर्ष पछि पुन: चिट्ठीहरु फेरी पढी रहदा जिन्दगीको एउटा कथा डायरीको माझमा बसेको रहेछ। "चिट्ठीमा अल्झेको एउटा अपरिचित" सम्बन्ध आज सबैको सामु उजागर गर्दैछु। उजागर नगरे पनि हुदो हो,तर २३ वर्ष अघि दाजु बहिनीको सम्बन्ध बनि सकेको नाता फेरी आउने दिनहरुमा समधुर भएर जाने आशामा र अनि यो संसारको भिडमा म आफुले कहिल्यै मेरी बहिनीलाई खोज्ने चेष्टा नगरेको हुदा आज यो लेख मार्फत मेरी बहिनीलाई खोज्दै छु। 

          मिति २०५६/पुष/१३ गते लेखिएको उनको तेश्रो चिट्ठी मैले प्राप्त गरे। यो चिट्ठीमा हाम्रो सम्बन्ध शुरु भएको छ। अति सम्मानका साथ मेरी बहिनि लक्ष्मी मगरले बुर्तिबाङ्गबाट लेखि प्रेषित गरेकी रहेछिन। पहिलो चिट्ठीमा दशैँमा गाउँ जाने कुरा थियो। त्यसैले यो चिट्ठी उनले गाउँबाट पठाएकि रहेछिन। मलाई लाग्छ मैले उनको दाजु बन्ने प्रस्ताव सहर्ष स्वीकार गरेको कारणले नै होला उनले बढो आदरका साथ यो चिट्ठीमा धेरै दाजु बहिनीको सम्बन्धका कुराहरु लेखेकी छिन। जिन्दगी न हो,कुन मोडमा को संग भेट हुन्छ,अनि को संग छुट्टिन्छ कसैलाई थाहा हुदैन। 



           तर पनि मानिसहरु भएका सम्बन्धहरु तोडिरहेका हुन्छन भने कतिपय मानिसहरु सम्बन्धका लागि बाचेका हुन्छन। सम्बन्ध जहिले पनि जो संग पनि हुन् सक्छ। तर सम्बन्धलाई जिन्दगी भर जोगाई राख्न सम्झौता गरि रहनु पर्दछ। समाजमा सम्बन्धका लागी सम्झौता गर्न नसक्ने र स्वीकार गर्न नचाहने हरुको सम्बन्ध दिन प्रति दिन सम्बन्धमा खाडल हुदै जान्छ। त्यहि खाडल सम्बन्धका लागी सदाको लागि अवरोध हुन् पुग्छ। 

             मैले बहिनि बनाउने उनको प्रस्ताव स्वीकार गरि सकेको थिए। तर जिन्दगीको भागदौडमा मैले बहिनीलाई भेट्ने चाह हुदा हुदै पनि आज सम्म भेट हुनसकेको छैन। उनले मलाई पठाएको ति तीनवटा चिट्ठीले मलाई आज २३ वर्ष पछि फेरी झक्झगाई दिएको छ। आज भन्दा २३ वर्ष अघि संचारको साधनहरु पनि प्रयाप्त मात्रामा उपलब्ध थिएन। आज जस्तो सामाजिक संजाल र मोबाईल सहज भएको भए जति दुर्गम गाउँमा भए पनि हाम्रो भेट हुने नै थियो।   

            हामी चिट्ठीमा मात्र सिमित रहेको कारण पनि हाम्रो दाजु बहिनीको सम्बन्ध मात्र तीनवटा चिट्ठीमा सिमित रह्यो। चिट्ठीमा अल्झेको एउटा अपरिचित सम्बन्ध बनेर बसी दियो। त्यो चिट्ठीमा अल्झेको अपरिचित सम्बन्धलाई पुन: मैले २३ वर्ष पछि बहिनीको चिट्ठी खोले झैँ हाम्रो दाजु बहिनीको सम्बन्ध अघि बढाउन चाहन्छु। तर मैले मेरी बहिनि लक्ष्मी मगर अहिले कहाँ छिन,कस्तो अवस्थामा छिन ? त्यसैको खोज र जानकारीका लागि मैले २३ वर्ष देखि चिट्ठीमा अल्झेको एउटा अपरिचित सम्बन्ध आज सबैको सामु यो लेख मार्फत उजागर गर्दैछु। 

             २३ वर्ष अघि चिट्ठीमा अल्झेको अपरिचित सम्बन्धलाई निरन्तरता दिन मैले मेरो बहिनी लक्ष्मी मगरलाई यो संदेश पठाउदै छु। हाम्रो भेट प्रत्येक्ष कहिल्यै भएन,खै के कारणले हो हामी दाजु बहिनी बस! तीनवटा चिट्ठीमा सिमित भयौ। मैले कति वटा चिट्ठी मेरी बहिनीलाई पठाए, त्यो पनि मेरो मस्तिष्कको स्मरणमा छैन। जहाँ होस् मेरी बहिनी कुशल होस् अनि खुशी होस् यहि कामना गर्दै उनिसंग छिट्टै भेट हुने अपेक्षा र उनको बहिनी बन्ने अभिलाषा अब छिट्टै पुरा हुनेछ। 

                        
                  हो ! हामी दुई दाजु बहिनीले फेरी खै के कारणले हो एकअर्कालाई खोज्ने प्रयास गरेनौ क्यारे ! यदि हामीले प्रयास गरेको भए,आजसम्म हाम्रो चिट्ठीको अपरिचित सम्बन्ध २३ वर्ष सम्म मेरो डायरीमा थन्किएर रहने थिएन। अब अवश्य हाम्रो भेट हुने नै छ,यदि यो लेख पढ्दै गर्दा मेरा शुभचिन्तक पाठक वर्गहरुले मेरो बहिनी लक्ष्मी मगरलाई चिन्नु भएको या कतै सम्पर्कमा रहनु भएको छ भने तल कमेन्ट मा राखी दिनु सादर अनुरोध गर्दछु। यो कुनै कथा होइन,वास्तविकतामा आधारित यो एउटा जीवन हो। एउटा मानव सम्बन्ध हो। यस्ता सम्बन्धहरु हाम्रो समाजमा धेरैको हुनसक्छ। यो कुनै रगत को समबन्ध होइन,सम्बन्ध एउटा प्रेरणा र साहसको हो। हामी सबैले यस्ता सम्बन्धको सम्मान गर्नु पर्छ र हामी सबै यो संसारमा सम्मानका बाच्ने अधिकार हुनु पर्छ। 


         पत्रिकामा छापिएको मेरो कविताको यस्तो थियो :-

                                                        " यी मान्छे "

                          सुखमा बाँच्न खोज्ने यी मान्छे,आफन्तको सुखलाई कुल्चेर अघि बढ्छ !

                           दुख देखि भाग्न खोज्ने यी मान्छे,आज आफन्तको मुखमा थुकेर हिंड्छ !!

                            शान्तिको खोजीमा हिंडेको यी मान्छे,आफ्नो देश त्यागेर,घर छोडेर;

                             अशान्तितिर दौडेको छ यी मान्छे !

                                         शान्तिका निम्ति बुद्धले दरबार त्यागे !

                                          शान्तिका निम्ति यी मान्छे वनजंगल तिर लागे !!

                                            शान्ति छैन त्यहाँ पनि,दुखको भुमरीमा नाचेको छ,

                                                  परिस्तिथि को गुलामी यी मान्छे !!! 

                                                       भोको र प्यासी थकित पाईला बढाउदै पुग्छ,

                                                             शरणार्थी शिविरमा यी मान्छे !!

                                                              बाँचेको छ आधा गाँस खाएर,आफ्नै गुनासो लिएर यी मान्छे !

                                                               खै कहिलेसम्म बाँच्ने हुन् यी मान्छे !!

            

 

         

Post a Comment

Previous Post Next Post