विश्व + आश = विश्वास। " विश्वास" शब्दमा निर्माण भएको यो संसार अहिले सम्म पनि विश्वासमा अडेको छ। । त्यसैले त हरपल मानिसहरु विश्वलाई आश गरेर बाची रहेका छन्। तर मानिस न हो विश्वास जस्तो पवित्र शब्दमा पनि "विषको बास" गराई दिन्छन।
पृथ्वीको उत्पत्ति संगै प्राणीहरुको बसोबास निरन्तर यस धर्तीमा बढ्न थाल्यो। त्यसको संगसंगै प्राणी प्राणी विच विभिन्न प्रकारको सम्बन्ध कायम हुदै गयो। खोला,नाला,बन,जंगल,हिमाल र पहाड बीच मौसम अनुसारको प्राणीहरु आफुलाई बचाई राख्न अनेकौ जुक्ति निकाल्न थाले। जसमा मानव जाति सबैसंग मिलेर बस्न र बस्ने वातावरण निर्माण गर्न सफल भयो।
विकासक्रम अहिले पनि जारि छ। मानवहरु झुण्ड,कबिला हुदै परिवारमा परिणत हुदै जीवन निर्वाह गरि रहेका छन्। झट्ट हेर्दा मानिसहरु आ- आफ्नो परिवारमा खुशी र मस्त देखिन्छ्न। तर जति आपसी विश्वासमा मिलेर बस्नु पर्ने हो,वास्तवमा त्यस्तो रहेनछ। परिवार भित्रबाट परिवारहरु दिनहुँ जसो निर्माण भैरहेको छ।आज परिवार भनेको बाबा,आमा,छोरा,छोरीलाई बुझे पनि,सिंगो परिवार कमै भेटिन्छ। परिवार भित्र एक आपसमा विश्वासको कमिको कारण परिवारहरु छुट्दै छन्,टुट्दै छन्।
जुन संसार आज पनि विश्वासका आधारमा चलिरहेको छ। त्यहि संसार आज विश्वासको कमिको कारण विभिन्न युद्धमा बारम्बार होमिनु परेको छ। विश्वासकै कमिको कारण घर घरमा द्वन्द बढी रहेको छ। जसले गर्दा आज मानव समाज असुरक्षित बन्दै गएको छ। समाजलाई सुरक्षित राख्न प्रयास नभएको पनि होइन,तर विश्वासको कमिले लगातार समाज भत्किदै गएको छ। आजको समाजमा परिवार निरन्तर भत्किदै जानु चिन्ताको विषय हो। परिवार परिवार रहेन भने समाज कसरि रहन्छ । समाजको मूल्य मान्यता,रितिथिति कायम रहन असम्भव हुनेछ।
हिजोआज परिवार भनेको बुबा,आमा,छोराछोरीलाई मानिन्छ। हिजोको जस्तो सामुहिक परिवार कमै भेटिन्छ। विभिन्न कारणले हिजोआज सामुहिकरुपमा परिवारहरु बसेको पाईदैन। सानो परिवार पनि झन् सानो हुदै गएको छ। सानो हुदै जानुमा परिवार भित्रको विश्वासको कमि भेटिन्छ। आज बुबा,आमा लाई छाडेर छोराछोरी छुट्टै बस्ने गरेको पाइन्छ। जुन बुबा आमाले आफ्ना सन्तान भनेर धेरै स्याहार सुसार गरेर हुर्काएका हुन्छन,ताकी ठुलो भएर आफुले जीवनमा गर्न नसकेको काम आफ्ना छोराछोरीहरुले पुरा गरि दियोस भन्ने आश रहन्छ ।
आधुनिकता र स्वतंत्रताको नाममा परिवार भित्र विश्वास हराएको छ। अहिले परिवार भित्र विभिन्न कारणले विश्वासको खडेरी देखिन्छ। विश्वासको व्याख्या र अर्थ आफ्नो हिसाबले बुझ्ने हुदा मानिस मानिस बीच संकट पैदा भएको छ। विशेष गरेर छोराछोरीहरुले आफ्नो स्वार्थ अनुसारको आफ्ना बुबा आमालाई विश्वास गर्ने गरेको पाईन्छ। "छन् गेडा सबै मेरा,छैनन् गेडा सबै टेडा" भने जस्तै हिजोआज मानिसहरु यसरी एकार्कालाई विश्वास गर्ने गर्दछन।
खास भन्ने हो भने मानिसले आफैले आफैलाई विश्वास गर्न सकिरहेका छैनन्। जसले गर्दा मान सम्मानका कारण विश्वास हटेको छ,कतै आर्थिकका कारण विश्वास टुटेको छ। परिवार भित्र पनि,परिवार बाहिर पनि। विश्वास एउटा मनको भावनाको गुण हो। विश्वास राख्नु सकारात्मक सोच पनि हो। मानिसले जहिले पनि आफु माथि विश्वास राख्नु पर्दछ।जसको कारणले मानिसलाई मानसिक र शारीरिक रुपले सधै उर्जावान बनाई राख्छ। जीवनमा जति ठुलो संकट आई परे पनि आफु भित्रको विश्वासलाई गुम्न दिनु हुदैन।
विश्वास एउटा यस्तो पुंजी हो,यसलाई जति खर्च गर्यो उतिनै लाभ दिन्छ। आज हामी विश्वास खर्च गर्न कन्जुसाई गरि रहेका हुन्छौ। जसको कारण हाम्रो समाजमा दिनहुँ सम्बन्धहरु बिग्रिदै गएका छन्। सम्बन्धहरु तोडिनु अघि एक पटक आफ्नो विश्वासलाई आत्ममन्थन किन नगर्ने ? हुनसक्छ विश्वास भित्र अविश्वास पसेको हुन् सक्छ। भनिन्छ नि कसैको विश्वास जित्नु त्यति ठुलो कुरा होइन,जति ति विश्वासलाई कायम राख्नु त्यो भन्दा ठुलो कुरा हो।
त्यसैले धर्म श्राद्धले,विज्ञान तर्कले चले झैँ संसार विश्वासले चलेको छ आज सम्म। यदि संसारमा हामी सुख सयल र खुशी साथ जीवन बिताउन चाहन्छौ भने सर्वप्रथम आफैले आफुलाई विश्वास गर्नुहोस। आफ्नो विश्वासलाई भरोसा गर्दै आफ्नो परिवारलाई विश्वास गर्नु होस्।
हो कहिले कहीं कसैले विश्वास माथि विश्वासघात गर्न सक्छ। तर कसैले कसैलाई जानेर या बुझेर विश्वासघात गरेको हुदैन। समय र परिस्थितिका कारण विश्वासघात गर्न मजबूर भएका हुनसक्छन। उनको बाध्यता र मजबूरीलाई बुझ्न तपाईमा आत्मविश्वास हुनु जरुरि छ। जसको मददले यो सुन्दर संसारलाई अझ सुन्दर बनाउन तपाइको भूमिका अहम हुनसक्दछ।
हामी सबैले विश्वासलाई कायम राख्दै सुन्दर परिवार,समाज र संसारको निर्माणमा जुटौ। धेरै सुन्दर छ यो संसार। यो सुन्दर संसारमा हामी सबै केहि दिनका लागी मात्र आएका पाहुना हौ। हामी पाहुना भएर बाच्न सिखौ र यो सुन्दर समाज र संसारलाई सदाका लागी सुन्दर बनाई राख्न सहयोग गरौ।
Post a Comment