नेपालमा जनसंख्याको जनगणना हरेक १०/१० वर्षमा हुने गर्दछ। २०११ पछि २०२१ को जनगणनाको सक्षिप्त प्रतिवेदन आई सकेको छ। जनगणना प्रतिवेदन २०२१ अनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ। जुन दश वर्ष अघिको २,६४,९४,५०४ जनसंख्याको तुलनामा २६,९७,९७६ ले वृद्धि भएको छ। अहिले नेपालीहरु विदेशमा २१,६९,४७८ बसोबास गरिरहेका छन्। जुन २०११ मा १९,२१,४९४ को तुलनामा बढेको छ। जस मध्ये पुरुष १६,८४,०२९ छन् भने महिलाहरु २३,७,४०० रहेका छन्। २०११ देखि २०२१ को प्रतिवेदनमा प्रस्तुत गरिएको नेपालमा न्यून जनसख्या वृद्धि दरको लागि एउटा महत्वपुर्ण कारक राम्रो अवसरको खोजीमा धेरै भन्दा धेरै नेपालीहरु विदेश पलायन रहेको छ। जसमा भारत सर्ने कामदारहरु समावेश छैनन्। जनगणना प्रतिवेदनले सुचना प्रविधिको विकासका कारण अघिल्लो जनगणनाको तुलनामा विदेश पलायन हुने महिलाहरुको संख्या ७१% ले बढेको छ। सन् १९११ देखि २०२१ को जनगणना सम्म आई पुग्दा १२ औं जनगणना प्रतिवेदन हो। (स्रोत -केन्द्रिय तथ्यांक विभाग )
नेपालमा युवाको परिभाषा २०१० राष्ट्रिय युवा नीतिले युवाहरुलाई १६-४० वर्ष उमेरका "महिला,पुरुष र तेश्रो लिङ्गि" व्यक्तिको रुपमा परिभाषित गरेको छ। नेपालमा १६ देखि ४० वर्ष उमेर समुहको जनसंख्यालाई युवा जनसंख्या भनिन्छ। २०११ को जनगणना अनुसार नेपालमा कुल युवा जनसंख्या १०,६८९,८४२ ( कुल जनसंख्याको ४०.३% ) थियो। जसमध्ये ४५. ८ % पुरुष र ५४.५% महिला रहेका थिए। १६-२५ वर्ष उमेर समुहको साक्षरता दर ८०% छ भने २६- ४० वर्षको ६१.३ % रहेको छ। १४,७५,६९२ युवाहरु ( अर्थात कुल युवाहरुको लगभग १४%) विदेशमा रहेको देखिन्छ। २०७८ सालको भएको १२ औ जनगणनामा २०६८ को भन्दा तथ्यांक बढेर आउने निश्चित देखिन्छ छ।
नेपालमा युवाहरुको मूल समस्याहरु बेरोजगारी र अर्ध बेरोजगारी,युवा पलायन र राजनीतिक अस्थिरता,युवाहरुको कमजोर स्वास्थ्य,पोषण र मानसिक शक्ति,युवा मैत्री लगानी र उधमशिलताको वातावरणको अभाव रहेको छ। अझ पनि अन्य धेरै समस्याहरु रहेका छन्। यी र यस्ता समस्याको निराकरण गर्ने भनेकै राजनीतिले हो। नेपाली युवाहरुले पटक पटक भएका विभिन्न राजनीतिक आन्दोलनमा अग्रपंक्तिमा उभिएर आन्दोलन सफल बनाएका छन्। तर नेपालमा युवाहरुलाई राजनीतिक नेतृत्वमा पुग्ने र पुर्याउने वातावरण अहिले सम्म बन्न दिएका छैन बुढा नेतृत्वहरुले।
आफनै शरिरको ताकतले एक पाईला अघि बढन नसक्ने शिर्ष नेताहरुले पटक पटक देशको नेतृत्व लिदा आज देशको यो गति नेपाली जनताले देख्नु र भोग्नु परेको छ। राम्ररी हिड्न नसक्ने,बोल्न नसक्ने,बोले पनि के बोलेको भ्याउ नपाउने, शारीरिक मात्र नभई मानसिक अस्वस्थ्य भएका शिर्ष नेताहरुले देश हाके पछि नेपालको प्रगति होइन दुर्गति बाहेक अरु केहि नेपाली जनताले प्राप्त गर्न सकेका छैनन् र गर्दैनन् पनि। नेतृत्वमा पुगेको मानिसको मनोविज्ञानले देशको आम मनोविज्ञानमा असर पार्ने हुनाले बौद्धिक र शारिरिक रुपले ठीकठाक अवस्थाको नेतृत्व हरेक समाजले खोजिरहेको हुन्छ। राजनीतिक नेतृत्वले समाजका सबै क्षेत्रलाई प्रभाव पार्ने हुँदा उसको स्वास्थ्य,मनोविज्ञान र बौद्धिक सज्ञानको अवस्था दुरुस्त हुन् अति जरुरी हुन्छ।
नेपालमा स्वास्थ्य मंत्रालयको सन् २०१७ को तथ्यांक औसत आयु ७०.९ वर्ष रहेको छ।तर नेपालमा देश हाक्ने नेताहरु लगभग औसत आयुको वरपर या त्यो भन्दा धेरै पुगी सकेका छन्। तिन वर्ष अघि देखि फिनल्याण्डमा प्रधानमंत्रीका रुपमा देश हाकीरहेकी ३६ वर्षीया सान्ना मारिन देउवा पहिलो पटक प्रधानमंत्री हुदा १० वर्षकी थिएन। हाम्रा प्रधानमंत्री ७६ वर्ष पुगी सक्दा पनि फेरी प्रधानमंत्री हुने दौडमा उभिने सम्भावना देखिन्छ।सामान्य निजामती सेवामा ६० वर्षको उमेरहद तोकिएको छ। तर हाम्रा नेताहरु भने आफु सत्ताको कुर्सीमा बस्ने बाहेक अरु केहि पनि गर्न चाहदैनन्। मानिस जतिसुकै चतुर भए पनि नेतृत्वमा पटक पटक बस्नु सान्दर्भिक हुदैन र बस्नु पनि दिनु हुदैन।
बुढा नेतृत्वको अघि पछि लागेर हिड्ने युवाहरु अब सचेत हुनु पर्दछ। यस्ता नेताहरुको आश र भर पर्ने युवाहरु कै कारण देशलाई भड्खालोमा हाल्ने काम निरन्तर भैरहेको छ। जसको कारण युवाहरुले नै हरेक निकायमा सास्ती भोग्नु परेको छ। युवाहरुले न राहदानी सहज र समयमा पाएका छन्,न सवारी चालक अनुमति पत्र। देश भित्र रोजगारी त पाउने कुरा नै भएन। सरकारले संचालन गरेका उधोगहरु युवाहरुलाई नै उस्काएर बन्द हड्ताल गराएरै कबाड़ बनाइ छाडे। निजी क्षेत्रले संचालन गरेको उधोगहरुलाई प्रोत्साहन गर्नु को सट्टा विभिन्न प्रकारले हतोत्साही गराई रहेकाले उधोग संचालन नगर्ने पक्षमा उधोगपतिहरु पुगी सकेका छन्। अनावश्यक कर लगाएर जनताको ढाड सक्ने काम सरकारले गरिरहेको हुदा नेपालमा रोजगारी सिर्जना हुन् सकेको छैन।
नयाँ नेपाल बनाउने खेलमा अहिले सम्म विशेष गरेर युवाहरुलाई प्रयोग गर्दै,गराउदै यी हजुरबुबा नेतृत्वहरुले भ्रष्ट्राचार,महँगी,बिरोजगार बेतिथी बाहेक देश र जनतालाई केहि दिन सकेनन र दिदैनन। अब नेपाली युवाहरु एक पटक आफ्नो लागि जाग्ने बेला आएको छ। स्थानिय निर्वाचनमा धेरै युवाहरुले आफ्नो शक्ति देखाई सकेका छन्। अब हुने संघ र प्रदेशको निर्वाचनमा युवाले युवालाई जिताउनु बाहेक अरु विकल्प हुनु हुदैन। बस ! एक पटक आज सम्म नेपाल आमाको रगत चुसी रहने ति भ्रस्टाचारी दल र ति दलका नेताहरुलाई पाखा लगाउनु नै पर्छ। ति नेताहरुका मिठा र चिप्ला कुराहरु युवाहरुले बढी पत्याउदाको नियति सबै भन्दा बढी युवाहरुले नै सास्ती भोग्नु परेको छ। अब आफ्ना होइन राम्रा तर युवालाई जिताउनु पर्दछ। आफ्नो सम्मान र अधिकार स्थापित गरी देशलाई विकसित राष्ट्रतिर अग्रसर गराउने जिम्मा युवाहरुले लिनु पर्दछ। त्यसका लागि बारम्बार विभिन्न प्रलोभन देखाउदै सत्ताको कुर्सीमा बसेर रजाई गर्ने नेताहरुलाई यस पटकको निर्वाचनमा लोप्पा खिलाउनु पर्दछ।
विश्वभरका युवाहरुले रुचाउने खेल फूटबल हो। २०२२ नोवेम्बर मा विश्वकप फूटबल प्रतियोगिता कतारमा हुदै छ। विश्वकप सफलताका साथ सम्पन्न गर्न आजका दिन सम्म नेपाली युवा श्रमिकहरुको रुपमा ठुलो योगदान रहेको छ। तर नेपाली युवाहरुको योगदानको कदर संसारको कुनै देशमा आज सम्म भएको छैन। कारण हाम्रा देश हाक्ने आजसम्मको नेतृत्वको चरित्रका कारणले। देशमा रोजगार दिन पनि नसक्ने र नेपाली युवाहरुले विदेशमा आफ्नो खुन पसिना बगाउदा पनि त्यसको मूल्य प्राप्त गर्ने वातावरण नबनाई दिने,यी भ्रष्ट नेता र दलहरुलाई अब हुने संघ र प्रदेशको निर्वाचनमा बहिष्कार अब युवाहरुले गर्ने कि नगर्ने ?
"वैदेशिक रोजगार विभागका अनुसार कतारमा १७ लाख नेपाली श्रमिक गईसकेका छन्। दोहास्थित नेपाली दुतावासका अनुसार सन् २०१० यता कतारमा १ हजार ८ सय ८४ श्रमिकको मृत्यु भएको छ। कतारस्थित अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ ) द्वारा हालै प्रकाशित कतारको व्यवसायजन्य चोटपटक सम्बन्धी प्रतिवेदनअनुसार २०२० मा ३७ हजार ६ सय १ श्रमिकलाई मध्यम खालको चोटपटक लागेको थियो,जसमा नेपाली श्रमिक ७ हजार ८ सय ९६ जना (२१.३%) छन्। घाईते हुने २५ देखि ३४ वर्षभित्रका ४४.५ प्रतिशत छन्। रोजगार दाताले जीवन विमा खरिद नगर्दा पिडित परिवार अझै क्षतिफ़ुर्ति विहिन छन्।" (कान्तिपुर दैनिक १ भदौ,२०७९ बाट साभार )
यो घटना कतारको मात्र हो। जबकी नेपाली युवाहरु संसारका विभिन्न देशमा रोजगारीका लागि दिनहु हजारौको संख्यामा विदेश जाने गरेका छन्। दिन प्रतिदिन विदेश जानेको संख्या बढ्दो रहेको छ। तर शिर्ष नेता भनाउदाहरु चुनाव हार्ने डरले गठबन्धन,महा गठबन्धन गरेर फेरी सत्तामा रजाई गर्ने हेतुले साम,दाम,दण्ड,भेद प्रयोग गर्दै, फेरी पनि युवाहरुलाई ठुला ठुला सपना देखाउदै चुनाव जित्ने रणनीतिमा लागी रहेका छन्। अब युवाहरु यस्ता भुलभुलैयाको भ्रममा कदापी पर्नु हुदैन। होइन भने देशको माटो छुदै प्रदेशको यात्रा युवाहरुको अनिवार्य हुनेछ।
कस्तो देश बनाउन योगदान दिदै छन् युवाहरुले ? यी भ्रष्ट र बुढा नेताहरुलाई बारम्बार सत्तामा पुराउछन्,सिंहदरबार भित्र विराजमान गराउछन,अनि आफु भने सानो झोला बोकेर विदेशतिर आफ्नो सानो परिवारलाई यी भ्रष्ट नेताहरुको भरमा छाडेर पसिना बगाउन जान्छन। दुई वर्ष पछि सकुशल फर्किने युवा फेरी अर्को चुनावका लागि ति बुढा र भ्रष्ट नेताहरुको पछि लाग्छन नै। धेरै युवाहरु लाश बनि बाकसमा फर्की रहेका हुन्छन। युवाहरुलाई थाहा छ कि छैनन् यी नेताहरुले तिम्रो परिवारलाई खाने पानी दिन सक्दैन,तिम्रो छोरा छोरीका लागि गाउँमा स्कुल खोल्दैन,तिम्रा बुढा बा र आमाका लागि स्वास्थ्य चौकीमा औषधि पुर्याउदैन,तिम्रा बारी र खेतका लागि मल समयमा उपलब्ध गराउदैन, तिम्रो गाउँ नजिकको नदीमा आधाकल्चो पुल बनाएर छाडी दिन्छन,तिमीले कमाएर पठाएको पैसाले तलबभत्ता कामै नगरी खान्छन। युवा हो ! तिमिले सहयोग गरेको नेताहरुको बेथिति गनेर साध्य छैन। तिमि र तिम्रो परिवार लामो समय देखि बाटो नपुगेको गाउँमा बसेका छौ। तर तिमीले आफ्नो दल,नेता भन्दै आफनै संग बाझेर,लडेर जिताएको जनप्रतिनिधिले के गरेको छ शायद तिमीलाई थाहा हुदैन। तिनका कर्तुत थाहा भए पनि आखिर तिम्रो दलको नेता न हो। होइन र ? फेरी उनको पार्टीको झन्डा बोकेर तिनका अघि पछि लागेर जय जयकार गर्न छोड्दैनौ।
युवाहरु देशका कर्णधार हुन् भन्ने उखानलाई अब जसरी पनि नेपाली युवाहरुले आत्मसात गर्नु नै पर्छ। अबको संघर्ष भनेको युवा भर्सेस बुढा नेता ! यस पटक निर्वाचनमा कुन पार्टीले कुन पार्टीलाई या कुन दलको नेताले अर्को दलको नेतालाई हराउने भन्दा पनि युवा उम्मेदवारले कुनै पनि दलको भ्रष्ट र बुढा नेतालाई हराउने अभियान आज देखि नै देशभरका युवाहरुले स्वत स्फुर्त शुरु गर्नु पर्दछ। देशको आमुल परिवर्तनका लागि एउटा युवा आन्दोलनको रुपमा घोषणा गर्नु पर्दछ। अहिले देशको यस्तो अवस्था देखेर पनि मेरो दल,मेरो नेता भनेर देश र युवाको विरुद्ध लाग्ने युवाहरु देशका लागी देशद्रोही साबित हुनेछन।
आर्थिक रुपले देश सङ्कटमा छ। यी भ्रष्ट नेताहरुले आर्थिक भन्दा नीतिगत भ्रष्टाचार बढी गरेका कारणले आज हाम्रो देशको अवस्था हरेक दृष्टिकोणबाट नाजुक हुदै गएको छ। अब देश बचाउन नेपाली युवाहरु राजनीतिक रुपले अघि आउनै पर्दछ। युवा मात्र आएर हुदैन,युवामा हुनु पर्ने गुण - जोश, इमान्दार,स्वच्छ छवि,जुझारू,कर्मठ,सक्षम र धैर्यता हुनु पर्दछ।
युवा हो अब त जाग। तिमि भित्र सुतेको बाँघ एक पटक जगाउ,र सधै भरि आफ्नै देशमा शिर ठाडो पारेर स्वाभिमानका साथ बाँच र बाच्न देऊ।
Post a Comment