कोरोना भाइरस हामीले पुन आगमन भनेका छौ तर कोरोना भाइरस हाम्रै वरिपरि नै थियो। हामीले धेरै नै हेलचेक्राई गरेको कारण आज कोरोना भाइरस समुदायमा फैलिसकेको छ। जसका कारण कोरोना संक्रमित दिनहुँ बढी रहेको छ। संक्रमितहरुको संख्या धेरै भएकाले शहरको हरेक अस्पतालमा पानि विनाको माछा झैँ नागरिकको अमुल्य जिन्दगी अक्सिजनको अभावले तड्पी रहेको दिनहुँ देखि रहेका छौ। अस्पतालमा सेवा दिन आफ्नो पुरा जोरबलका साथ निडर भएर उभिएका स्वास्थ्य कर्मीहरुले पनि धेरै सहयोग गर्ने चाहना हुदा हुदै पनि मात्र अक्सिजन र शैयाको कमिको कारण कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न नसकेको बताई रहेका छन।
सरकार भन्ने पनि यो देश छ र भन्ने विश्वास हराई सकेको आमनागरिकले महसुश गर्न लागि सकेका छन्। अहिले नयाँ संविधानको व्यवस्था अनुसार गठन भएको तिन तहको सरकार छ। तर ति सरकारमा रहेका पार्टीहरुले निर्वाचनको बेलामा जारि गरेको घोषणापत्रमा ठुल-ठुला नारा त दिए तर नारामा विश्वास गरेका जनताले बल्ल आज तिनका नारामा झुक्किएको महसुश गर्न बाध्य भएका छन्। तिनले भनेका थिए प्रत्येक गाउँ पालिका २५ शैयाको अस्पताल र हरेक वार्डमा एउटा एम्बुलेन्स,त्यति मात्र कहाँ हो र आकस्मिक सेवाको लागि हेलिपेड पनि बनाउछु भन्नेहरु आज आफ्नै जन प्रतिनिधि कोरोना संक्रमित भएर उपचारका लागि अस्पतालको ढोका ढोका चाहार्दा चाहर्दै उपचार विना ज्यान गएको दुखद समाचार दुख साथ हामी सबैले सुन्न पर्यो।
कोरोना भाइरस संक्रमित भए पनि समयमा राम्रो उपचार पाएर सन्चो भएर घर फर्किनेहरु पनि धेरै छन्। तर धेरै संक्रमित हुनाले उपचारको लागि भर्ना गरेर राख्ने शैयाको कमि भएको छ। कतिपय अस्पतालमा शैयाको व्यवस्था भए पनि अक्सिजन सहजरुपले अस्पताललाई उपलब्ध नहुदा संक्रमितहरुलाई भर्ना गर्न मनाही गरि रहेका छन्। प्रदेश र स्थानीय सरकार अहिले आफ्नो क्षेत्रका जनताले उपचार नपाएर भौतारी रहदा मुक दर्शक भएर बसेका छन् । यिनले आफ्नो घोषणापत्र अनुसार कार्य गरेको भए आज धेरै हदसम्म यो स्तिथि आमनागरिकले व्योहर्नु पर्ने पक्कै थिएन। अहिले पनि मेयर चड्ने गाडी एम्बुलेन्स,अक्सिजन बैंक,जनशक्ति विनाको आइसुलेसन वार्ड,घर घरमा आक्सिजन पुयाउने कार्य,घरमै पिसिआर टेस्ट जस्ता जनतालाई झुक्काउन कार्य स्थानीय तहमा गरिरहेका छन्।
स्वास्थ्य मंत्रालय कोबिड खोपको कमिशनको वक्तव्य बाजीमा अल्झिरहेको छ। प्रदेश र संघीय सरकार आफ्नो सत्ता बचाउने खेलमा उल्झी रहेको छ भने स्थानिय सरकार होडबाजीमा तम्सेका छन्। वास्तवमा तिनै वटा सरकारको चासो अहिलेको यस माहामारीको घडीमा आफ्नो नागरिकप्रति हुनु पर्ने हो तर सबै मस्त छन्। सरकारी सयन्त्र भने विज्ञप्ति दिदा र हेर्दा ठिक्क छन्।आफ्नो नागरिकप्रति वर्तमान सरकारले चासो र दायित्व निर्वाह गर्ने आफ्नो कर्तब्य कहिल्यै ठानेन,यस्ता सरकार हुदा सम्म देशका नागरिकले जहिले पनि संकटको अवस्थामा दुख पाउने बाहेक अरु केहि उपलब्धि हासिल गर्न सक्दैनन।
नागरिकको जिन्दगी यति सस्तो भएकै हो त ? पक्कै होइन, हामीले आफ्नो अमुल्य मत हिजोको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई दिएको भए,यो अवस्था आज नेपाली नागरिकले भोग्नु पर्ने अवस्य थिएन। हामीले हिजो हाम्रो अमुल्य मत सस्तो गरेकै कारण आज हामीलाई यो महामारीको समयमा उपचार नपाउदा जिन्दगी कतै सस्तो भएको हो कि जस्तो भान हुन् सक्छ।
त्यसैले यो कोरोना भाइरसको महामारीलाई जित्न अब हामी सबै एक भई विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको मापदण्डहरुको पालना गर्दै,आफु पनि सुरक्षित रहौ र अरुलाई पनि सुरक्षित रहन अनुरोध गरौ। हरेक नागरिकको जिन्दगी अमुल्य छ,यो अमूल्य शरीरलाई सधै सबैले माया गरौ। साथै सत्तामा बसेकाहरुले पनि जति अहिले आफ्नो कुर्सिको माया गरेका छन् त्यति नै आफ्नो नागरिकको जिन्दगीको माया गर्न सिख्नु पर्छ। होइन भने भविष्यमा अहिले कष्ट भोगेका नागरिकले आफ्नो मतको कदर गर्न सीखे भने भोलिको निर्वाचनमा फेरी मत माग्नेहरुको लागि अक्शिजन खोज्नु न पर्ला भन्न सकिदैन।


Post a Comment