समुदायस्तरमा समुदायकै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि परामर्श,सेवा,सल्लाह वृद्धि गर्ने उद्धेश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरु सबै गाउँ पालिकाका प्रत्येक वार्डमा कार्यरत रहेका छन्। हाल नेपालमा ५१ हजार ४ सय २० जना महिला स्वास्थ्य स्वंयसेविकाहरु स्वंयसेवी भावनाले प्रेरित र समुदायमा नि:शुल्क रुपमा स्वास्थ्य सम्बन्धि परामर्श,सेवा तथा सहयोगका लागि काम गरिरहेको हामि सबैलाई थाहा नै छ। हाम्रा टोलछिमेकमा पनि ति स्वास्थ्य स्वंयसेविकाहरुले आफ्नो सेवा दि रहेका देखेका पनि छौ।
स्वास्थ्य आमा समुहहरु समावेसी बनाउन र सेवाको पहुँच बाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्नमा महिला स्वंयसेविकाले महत्वपुर्ण भूमिका निर्वाह गरि रहेका छन्। नेपाल सरकारले महिला स्वास्थ्य स्वंयसेविकाको कार्यको पहिचानको लागि लोगो समेत निर्माण गरेको छ। आर्थिक वर्ष २०४५/४६ साल देखि शुरु भएको महिला स्वास्थ्य स्वंयसेविका परिचालन कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य,परिवार नियोजन सेवा,प्राथमिक स्वास्थ्य सेवा उपयोग तथा महिला सशक्तिकरण सुधारमा महत्वपुर्ण योगदान दिएका छन्। त्यसैगरी महिला स्वास्थ्य स्वंयसेविकाले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तस्राव रोक्न मातृ सुरक्षा चक्की,परिवार नियोजनका स्थायी साधन,गर्भवती महिला र सुत्केरी पछि आइरन चक्की वितरण जस्ता काम गर्दै आएका छन्। साथै बालस्वास्थ्य अन्तर्गत भिटामिन ए खुवाउने,झाडापखाला लागेका बच्चालाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधी वितरण स्थाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने काम गर्दै आएका छन्।
सरकारले स्वंयसेविकालाई वार्षिक १३ हजार रुपियाँ भत्ताको व्यवस्था गर्दै आएको छ, जसमा पोशाक वापत वार्षिक १० हजार र यातयात खर्च ३ हजार रहेको छ। पछिल्लो पटक कोभिड -१९ को महामारी जब नेपालमा पनि देखिन थाले पछि सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य स्वंयसेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर,विमा सहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय सम्म गरेको थियो। त्यो निर्णय कति लागु भयो भएन त्यो समिक्षा विषय रहने छ।
पछिल्लो पटक दोस्रो चरणको कोरोना भाइरस पुन: समुदायमा फैलिन गई संक्रमित संख्या बढ्न शुरु भयो। विशेष गरेर रुपन्देही र बाँकेमा कोरोना संक्रमित बढ्दो क्रममा रहदा पनि महिला स्वास्थ्य स्वंयसेविकाहरुले भिटामिन ए र जुकाको औषधी बैशाख ६ र ७ गते खुवाउने कार्यक्रम संचालन भयो। हुन् त सरकार कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मन्त्रालयले आग्रह गरेको थियो। वितरण केन्द्रमा भिडभाड नगर्ने,कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने,आफ्नो बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सहि तरिकाले प्रयोग गर्ने र साबुन पानीले हात धुने वा सेनिटाईजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको थियो।
मन्त्रालयले गरेको आग्रह कति पालना भयो भएन निगरानी गर्ने कुनै निकाय या प्रतिनिधिको साथै खटिएका स्वास्थ्य स्वंयसेविकाहरुले पनि ध्यान दिएको देखिएन। जसको कारण अहिले स्वास्थ्य स्वंयसेविका कोरोना संक्रमितको साथै मृत्यु भएको खबरले हामी स्तब्द भएका छौ। जसले सेवाको भावना सहित समाजमा स्वास्थ्य चेतना दिदै आएका थिए। तिनकै उपचार नपाएर मृत्यु हुनु दुखद घटना हो।
केहिदिन अघिको घटना हो, एक जना अनुभवी स्वास्थ्य स्वंयसेविका केहि दिन देखि रुघाखोकीको साथै सामान्य टाउको दुखाईले घरमै बसी रहेकि थिइन्। उनको लामो स्वास्थ्य स्वंमसेविकाको अनुभवलाइ उपयोग गर्दै घरमै सामान्य घरेलु उपचार गर्दै थिइन्। दैनिकी काम गरेर जो हो गरेर घर चलाउने उनको सानो परिवार खुसीका साथ दिनहरु बिति रहेकै थियो। उनको परिवारका सबै सदस्य कम बोल्ने स्वभावका थिए। तर पनि कसैलाई नराम्रो बचन या रुखो बोलि नगर्ने परिवार थियो भन्दा पनि हुन्छ। उनि आफ्नो परिवारको दैनिकी चलाउन अन्य कामसंगै वार्डमा स्वास्थ्य स्वंयसेविकाको काम पनि बढो ईमान्दारिताका साथ निभाई रहेकी थिइन्।
यहि बैशाख ६ र ७ गते उनि भिटामिन ए र जुकाको औषधि बालबालिकालाइ खिलाउन खटिएको बेला समुदायको सम्पर्कमा आईन। जहाँ सम्म लाग्छ त्यहि बेला उनलाई कोरोना भाइरसबाट संम्रमित हुनु पर्छ। तर पनि उनि स्वंय स्वास्थ्य स्वंयसेविका भएकै कारण आफ्नो लामो अनुभव प्रयोग गरि सामान्य घरेलु उपचार गर्दै घरमै आराम गर्न तर्फ लागिन। तर उनलाई भित्र भित्रै समस्या झन् झन् बल्झिदै गइ गरेको आभाष भएन। उनलाई स्वास फेर्न निक्कै गाह्रो हुन् थाल्यो। त्यतिखेर सम्म निक्कै ढिलो भैसकेको रहेछ। यता रुपन्देहीमा १६ गते बिहान देखि निषेधाज्ञा शुरु भैसकेको थियो। जसको कारण जिल्ला भित्र कुनै पनि गाडी,रिक्सा,टेम्पो संचालनमा निषेध गरिएको थियो।
ति स्वास्थ्य स्वंयसेविकालाई स्वास फेर्न निक्कै कठिनाइ हुन् शुरु भै सकेको थियो।अब उनका परिवारले उनको तड्पी रहेको शरीरलाई कहाँ लागि उपचार गर्ने भनि अन्योलमा रहदा रहदै झन् झन् उनलाई निक्कै गार्हो भएको थियो। चाहेर पनि उनलाई कुनै सवारी साधन नभएको कारण अस्पताल लैजाने उपाय सुजि रहेको थिएन। अहिले फेरी कोरोना भाइरसको डर त्राशले पनि सामान्य विरामीको नजिक सहयोग गर्न कोहि जान चाहदैनन्। उनको परिवारले भरमग्दुर कोशिस गरि जसो तसो बाटो सम्म पुर्याउन सफल भए। भाग्यवश उनको परिवारलाई एकजना टेम्पोवालाले सहयोग गर्यो।
अब शुरु भयो उनको उपचारको यात्रा ! एउटा स्वास्थ्य स्वंयसेविका जसले आफु स्वास्थ्य हुदा सम्म समाजका धेरै महिला र बालबालिकाहरुको ज्यान बचाउन रातदिन खटिन तर आज उनको जीवन रक्षाको लागि उनको परिवार बाहेक कोहि उनको साथमा थिएनन। जुन सरकारले उनलाई स्वंयसेविकाको पोशाक दिई समाजमा स्वास्थ्य जनचेतना दिन रातदिन खटायो, त्यहि सरकार आज उनको जीवन रक्षाको लागि कहाँ छ भन्ने उनि र उनको परिवारलाई पनि थाहा छैन।
साच्चै नै भन्नु पर्दा स्वंय सेविकाहरुले लगाउने पोशाक आकाशे रंगको साडीमा छेउमा नोलो रंग हुन्छ। किनारमा सेतो ४ वटा गोलो घेरा हुन्छ। हामि धेरै लाइ त्यसको अर्थ थाहा नहुन सक्छ। जसरी पोखरीमा एउटा सानो ढुंगा फ्याँक्दा तरंग बन्दछ त्यो तरंग बढ्दै बढ्दै पोखरी ढाकिन्छ। त्यसरी नै महिला स्वास्थ्य स्वंय सेविकाहरुले वार्डबाट कार्यक्रम शुरु गरेर गाउँ विकाश र पुरै जिल्ला सम्म कार्यक्रम संचालन गरेका हुन्छन।
एउटा महिला स्वास्थ्य स्वंयसेविकाले ५० देखि २ सय घरधुरीलाई हेर्नु पर्ने हुन्छ। तर आज उनि विरामी पर्दा उनको परिवारका केहि सदस्य बाहेक उनको साथमा कोहि थिएन। आज उनलाई मात्र होइन संसारका धेरै देशहरुमा यस्तै समस्या हरेक कोरोना संक्रमित परिवारले भोगी रहेको छ। के थाहा भोलि तपाई हामीले यस्तै समय व्योहोर्नु पर्ने अवस्था आउन सक्छ। त्यसैले समय आफै पनि सचेत हौ र अरुलाई पनि सचेत राखौ।
उनलाई त्यो टेम्पोको साहाराले एउटा सरकारी अस्पतालमा उनको परिवारले भर्नाको लागि पुर्याउदा सरकारी अस्पतालले अक्शिजन र शैया खालि नभएको भन्दै भर्ना लिन मानेन। उनलाई फेरी हतार हतार अर्को निजि अस्पतालमा लगियो। त्यहाँ पनि उही बहानाका साथ भर्ना गरिएन। हताश मन लिएर फेरी आर्को निजि अस्पताल तिर दौड लगाए। अहिले हरेक अस्पताल र अस्पतालको कर्मचारीले दिने जवाब शैया खालि छैन या अक्सिजन छैन। आज नेपाल सरकारले मान्यता दिई धेरै वर्ष सम्म मानव सेवाको भावना लिई स्वास्थ्य स्वंय सेविकाको भूमिका निर्भाह गरिकी स्वंय सेविकाले सरकारकै अस्पतालमा उपचार नपाउनु कस्तो विडम्वना ? फेरी पनि केहि मनमा आश राख्दै शहर देखि १५ किलोमिटर टाढाको निजि अस्पतालमा टेम्पो हुइकाउदै लागे तर त्यहाँ पनि उही जवाब उनीहरुलाई पर्खेर बसेको थियो।
करिब बिहान १०.३० बजे देखि उनको त्यो छटपटाहट हालातमा एउटा अस्पताल देखि अर्को अस्पतालको दैलो चाहार्दा चाहर्दै दिन बित्यो। पुन: साँझ झिनो आश लिएर उनको परिवारले सरकारी अस्पताल लगेर गए। एउटा सामान्य परिवारको आश भनेकै सरकार र सरकारी वस्तु नै हो। पहुँच हुने र पैसा हुनेहरुको उपचारमा तत्काल हुने यो देश, जहाँ पहुँच नहुनेहरु दिन भरि एम्बुलेन्समा पनि होइन, टेम्पोमा विरामी लिएर घुमी रहनु पर्ने। कस्तो प्रणाली बनाएका छन् बस उत्कृष्ट भन्ने संबिधानमा मात्र सबै थोक सहजरूपले प्राप्त गर्छन नागरिकताको खोस्टो भएका नागरिकहरुले।
दिउँसोको घाम डुबी सकेर झमक्क रात पर्ने बेलामा बल्ल उनको सरकारी अस्पतालको एउटा कुनामा आश्रय पाउछिन तर शैयामा होइन स्ट्रेचर मै उनको प्राम्भिक उपचार शुरु हुन्छ। बिहान अक्शिजनको कमी देखाउदै भर्ना नभएको विरामीलाई अक्शिजन दिन शुरु गरिन्छ अस्पतालका स्वास्थ्य कर्मीले। उनले दिनभरी त्यो टेम्पोमा कति सकस र कष्टपूर्ण यात्रा सहित पल पल काटिन होला सोच्दा पनि कहाली लगेर आउछ। तर उनिबाट उनको उपचार समयले नेटो कति सकेको थियो। उनको परिवारलाई अस्पतालको बरन्डामा भैरहेको उनको उपचार प्रति विश्वाश कता कता जागेर आइ रहेको थियो। अब त उनि पक्कै सन्चो भएर घर फर्किन्छिन।
उनि मात्र होइन देशका अन्य कुनामा पनि यस्ता जीवनभर समुदायको स्वास्थ्यको पिर गर्ने स्वास्थ्य स्वंयसेविकाहरुले कोरोना संक्रमित भएर उपचार सहजरुपले नपाएका कति होलान। तर सरकार अझै पनि आफ्नो पट्टि जनतालाई पढाउन मस्त छ। केहि पहुँचवालालाई यहाँ जसको सरकार र जस्तो सुकै निषेधाज्ञा लागोस कुनै असर छैन। सत्तामा बसेर यो गर्छु त्यो गर्छु भन्ने हरुले कहिल्यै यो पनि गरेनन त्यो गरेनन। र गर्दा पनि गर्दैनन्।
कोरोना संक्रमितहरु अस्पताल भरि नै भएकोले पनि चिकित्सकहरुको नियन्त्रण भन्दा बाहिर थियो। तर पनि रातदिन खटेर अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गर्ने चिकित्सक र स्वास्थ्य कर्मिको प्रयाश सफल हुन् सकेन र अन्तमा उनले आफ्नो जीवन देखि हार खान बाध्य भईन। करिब राति ११ बजे तिर आफु स्वास्थ्य हुदा सम्म अरुको स्वास्थ्यको हर पल चिन्ता गर्ने एउटा अनुभवी स्वास्थ्य स्वंयसेविकाको दुखद अवसान भयो।
यस्ता नियति अन्य स्वास्थ्य स्वंयसेविका र सामान्य पहुँच नहुने नागरिकले कदापी भोग्न नपरोस। सबैले सहज स्वास्थ्य उपचार प्राप्त गर्न सरकारले ध्यान दियोस। यहि कामनाका साथ उनलाई हार्दिक श्रद्धान्जलि सहित उनको परिवार प्रति समवेदना प्रकट गर्दछु।



समाजका लागि खट्ने त्यस्ता कर्मठ व्यक्तिको सरकारी पहुच भएन हाेला, सरकारमा बस्नेहरूकाे नालनाता परेनन हाेला । व्यथितिकाे चाङ छ देशमा । थप स्मरण सहित उजागर गर्नु भएकोमा धन्यवाद । दिवंगत आत्मालाई निर्वाण प्राप्त हाेस् ।
ReplyDeleteThank you topji
DeletePost a Comment