" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

     नेपाली राजनीतिको खेल गत वर्ष देखि निरन्तर चलि रहेको थियो। गएको राति त्यस खेलको रेफ्रीले मध्यान्न घोषणा गरिदिएको छ। अहिले सम्म भन्ने हो भने खेल कसैले हारेका छैनन्। तर खेल सक्नु अघि रेफ्रीले नै झेल्ली गरेको आरोप आज बिहानै देखि धेरै खेलाडीले लगाउन शुरु गरि सकेका छन्। झेल्ली कसले गर्यो भन्दा पनि खेलाडी चुन्ने समर्थक र त्यो खेल हेर्ने दर्शकहरुलाई रेफ्री सहितका ति सबै खेलाडीहरुले ठुलो बदमाशी गरेका छन् । अहिले आरोप जसले जसलाई जे लगाई रहे पनि सबै दर्शकको नजरमा बदमाशको सुचिमा परि सकेका छन्। 
      कुनै पनि खेलको सर्वमान्य नियम हुन्छ। नियम पालना गर्छु भनी छनौट हुदै,खेलको मैदानमा प्रतियोगितामा भाग लिन पुगेका थिए। तर आज सम्म कसैले कुनै पनि नियमको पालना गरेको देखिदैन,जसले जे मनमा लाग्यो त्यही गरि खेल खेल्नमा व्यस्त थिए। छनौटमा परिसके पछि उनीहरुलाई कहिलै पनि आफ्ना समर्थक र दर्शक प्रतिको कर्तव्य र उत्तरदायित्व बोध भएन।  शुरुका दिन देखि नियमको पालना गरेको भए,आज खेलमा रेफ्रीले मध्यान्नको सिटी जबरजस्ती बजाउन पाउने थिएन। तर सबै बदमाश खेलाडी जस्तै रेफ्रीलाई पनि मज्जाले बदमाशी गर्ने अवसर यिनै खेलाडीहरुले दिएका हुन्। 
       अब खेल मध्यान्न पछि शुरु हुनु पर्ने हो तर रेफ्रीले खेल त हुन्छ, दर्शकहरुले पुन: नयाँ खेलाडी छनौट गरेर मात्र हुन्छ भनेर चुपचाप बसि दिएको अवस्था छ। अब खेलाडीहरु उकुस मुकुस भएर एक अर्कालाइ हेरी दोषारोपण गर्न शुरु गरेका छन्। तर सबै खेलाडीहरुलाई थाहा छ,उनीहरु सबै आफ्नो निजि स्वार्थमा सधै अल्झिएको कारण नै बाध्य भएर आज यो दिन हेर्नु परेको छ। यदि यी सबै खेलाडीहरुले इमान्दारीका साथ आफ्ना समर्थक र दर्शकहरुलाई मध्यनजर गर्दै राम्रो प्रदर्शन गरि दिएको भए,दर्शकहरुले अझै राम्रा खेलहरु जसरि आज भुईमा बसेर हेर्न बाध्य भएका छन्,आउने दिनहरुमा सुविधा सम्पन्न स्टेडियममा बसेर मज्जाले हास्दै हेर्न पाउने अवसर प्राप्त गर्ने थिए।  
        
       नेपाली राजनीतिका खेलाडीहरुले बनाएको नियम इमान्दारी पुर्बक नमान्दा नै नियम पुस्तिका सात पटक लेखि सकेका छन्। झन् अहिले नयाँ बनाएको नियम पुस्तिका त संसारको सबै भन्दा उत्कृष्ट भन्दै चोक चोक र सडकमा दिपावली नै गरेका थिए। आज त्यहि खेलको नियमलाई पत्र पत्र पार्नमा कुनै कसर बाकि राखेनन्। अनि आज आएर उही पुरानो लागेको बानी आफ्नो चोर औंला एकले अर्कालाई देखाउदै झेल्ली गर्यो भन्दै गल्ली गल्लीमा एउटा कुकुरले अर्को कुकुरलाई जसरि भुक्ने गर्छन नि त्यसरी नै भुक्न शुरु गरेका छन्। 
        नेपाली राजनीतिको खेलको नियम बनाउदा नै त्रुटी हुने गर्दछ। नियम बनाउदा खेस्रा विदेशी भूमिमा बसेर कोर्छन, अनि यहाँ उनको समर्थक र दर्शकलाई सोधे झैँ गरेर जबरजस्ती पारित गर्छन। अनि कसरि नियमको  पालना गर्छन त सबै तथा नयाँ खेलाडीहरुले।  जबरजस्ती पारित गरेको खेलको नियम अनुसार खेलाडी छनौट गरि प्रतियोगिता शुरु गर्छन। त्यहाँ सम्म त ठिकै थियो,अनि होडबाजीमा सबै टिमले आ -आफ्ना लागि विदेशी प्रशिक्षक गोप्य रुपले नेपाल भित्राउछन या उतै विदेशी भूमिमा पुगी कसरि खेल जित्न सकिन्छ भन्दै सल्लाह माग्छन। विगत लामो समय देखि आफुलाई निकै माहिर खेलाडी सम्झिनेहरुले गर्दा नै खेलको नियम पटक पटक च्यात्दै सात पटक बनाई सके तर आफ्ना समर्थक र सोझा दर्शकलाई कहिलै राम्रो खेल खेलेर देखाउन सकेनन,न उत्कृष्ट खेलाडीको ईनाम प्राप्त गरे। हुदा हुदा आफ्नो खेल मैदानमा अन्य विदेशी खेलाडी आएर खेल्न शुरु गरि सके। तर पनि यिनलाई होश नआएको झैँ सुति रहेका छन्।  
     फेरी कस्ता कस्ता खेलाडी छन् भने प्रतिद्वन्दीको गोल पोस्ट तिर बल लगेर गोल छिराउला भन्दा त आफनै गोलपोस्टमा आत्मघाती गोल हान्ने शुरमा मात्र खेली रहेका छन्। आफ्नै टिम क्याप्टेनको कुरा नमान्ने खेलाडीहरुको जमातको पनि कमि छैन। अहिले सातौँ पटक बनेको खेलको नियम पनि यी आफुलाई माहिर खेलाडी भनाउदाहरुले च्यात्न बेर लाग्दैन। हुन् त लक्षन देखाई सकेका छन्। अब उनका समर्थक र सोझा दर्शक धेरै सचेत र सजग हुनु जरुरी देखिन्छ। फेरी पनि समर्थक र दर्शकहरुले होइन फेरी एक पटक आफनै त हो नि भन्दै यिनै खेलाडीहरुलाई अंकमाल गर्न तिर उन्मुख भयो भने जीवन भर यसरी नै चउरमा पलेटी मारेर यस्ता घिन लाग्दा खेलहरु पुन: दोहरी रहने छन्,बाध्य भएर हेरी रहनु पर्ने छ।त्यति खेर यी खेलाडी होइनन अन्य प्रदेशी खेलाडी हाँसी हाँसी खेली रहेका हुनेछन। अनि समर्थक र सोझा दर्शकलाई ति प्रदेशी खेलाडीले हानेर चउर बाहिर गएको भकुण्डो समाउन लगाउने छन्। 
   त्यसैले आफ्नो खेल नियम,चउर र दर्शक बचाउन सबै एक जुट भै आफ्नो नियममा इमान्दारीका साथ खेल खेलौ। र आफुलाई माहिर खेलाडी भन्दै विदेशीको सल्लाहमा नियम मिची खेल खेल्नेलाई अब त चिनौ।        
  
   

Post a Comment

Previous Post Next Post