स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न हुदैछ। आज २७ गते मंगलबार निर्वाचन आयोगको अनुसार राति १२ बजे देखि मौन अवधी शुरु हुदैछ। स्थानीय तह निर्वाचनको घोषणा पछि आयोगले आफ्नो काम निरन्तर सबै प्रक्रिया पुर्याएर गरि रहेको छ। निर्वाचन आयोगले दलहरुको आग्रह अनुसार उम्मेदवारी दर्ता समय दुई दिन तोकि दिएको थियो,दलहरुको आफना आन्तरिक र बहिर्य कारणले उम्मेद्वारहरु समयमा तय गर्न सकेका थिएनन्। धेरै रस्साकस्सी पछि दलहरुले आफ्ना उम्मेद्वारहरु तय गर्न सफल भए कि भएनन् भन्नेमा दलका नेता तथा कार्यकर्ताहरु आज सम्म पनि अन्योलमा देखिन्छन।
चाणक्य नीति अनुसार 'सुनको परख घोटेर,काटेर,तताएर अनि पिटेर गरिन्छ भने झैँ व्यक्तिको परिक्षण उसले गरेको त्याग,उसको आचरण,उसको गुण र उसको व्यवहारको आधारमा गरिन्छ। तर अहिले हुन गई रहेको स्थानीय तह निर्वाचन -२०७९ का उम्मेद्वारहरुको परिक्षण जनताले कसरि गर्ने भन्ने बारेमा जनतालाई उम्मेदवार र दलका नेताहरुले कन्भिन्स र कन्फ्युज पारि रहेका छन् । नेताहरुको निर्देशन नमान्ने सम्मको हद नाघेका आफ्नै दलका बागी उम्मेदवारलाई हराएर आफुले खडा गरेको आफ्नो उम्मेदवारलाई जसरी पनि जिताउन साम,दाम,दण्ड,भेदको नीति आफ़्नाई रहेका छन्। आफ्नो मान,सम्मान,प्रतिष्ठा सबै गुमे पनि कुनै फरक नपर्ने नेता तथा कार्यकर्ताहरु नेपाली राजनीतिका लागि ग्रहण लागे झैँ भएको छ।
नेपाली राजनीतिमा काम गर्नु नपर्ने,कुनै जवाबदेहिता हुनु नपर्ने भए पछि, जसरी पनि कुर्सीमा विराजमान हुने प्रचलन हाबी भएकोले अहिले स्थानीय तह निर्वाचन २०७९ मा सबैको मोह बढेको पाइन्छ। तर मतदातालाई रिझाएर मत माग्नु पर्ने मा सदा झैँ मत किन्ने,विभिन्न भ्रम छर्ने,झुठो आश्वाशन बाढ्ने काम बाहेक कुनै नौलो प्रयोग गरेको देखिदैन। साथै मतदाताहरु पनि उम्मेदवारको एजेन्डा भन्दा पनि उनको अनुहार र उनले दिने उपहार हेरेर मत कसलाई दिने भन्ने निर्णय विगत लामो समय देखि यहि गरिरहेका छन्। यसपटक त झन् मतदाताहरुलाई आफ्नो उम्मेदवारले नजिते देशमा सङ्कट सिर्जना हुने धम्की सम्म दिए नेताहरुले । तर यस्ता धम्की र धाकले नेपाली मतदातालाई एकछिन गफ गर्ने बाहेक अरु कुनै कुराको डर चिन्ता देखिदैन। किनकी मतदातालाई थाहा छ जुनै जोगी आए पनि कानै चिरेको भन्ने नेपाली उखानमा विश्वाश गरेका छन् ।
पहिलो स्थानीय निर्वाचन पश्च्यात बनेको स्थानीय सरकारले के कति काम गर्यो गरेन भन्ने बारे दलहरुले कुनै समिक्षा गरेको देखिदैन। स्थानीय सरकारका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुले आफु र आफ्नो दलले निर्देश गरेको घोषणापत्र अनुसार सबै काम गरेको भन्दै, अहिले जनतालाई सुनाई रहेका छन् ति दलका नेता तथा उम्मेदवारहरुले । साथै जनताले पनि आफ्नो अमुल्य मत दिएर जिताएको जनप्रतिनिधिहरुले बितेको पाँच वर्षमा आफ्नो वार्ड ,नगर र पालिकामा के,कस्तो र कसरी काम गरे भन्ने बारेमा छलफल र बहस भएको देखिदैन।
अहिले दलका उम्मेदवार अनि त्यही दलका बागी उम्मेदवार,साथै स्वतंत्र उम्मेदवार,त्यति मात्र कहाँ हो दलले टिकट नदिएर रुष्ट भएर दल परित्याग गरेर स्वतंत्र बनेर उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी मैदानमा छन् । अहिले हिजोको जस्तो अवस्था रहेन दलहरु भित्र ? लामो समय देखि आफ्नो दल भन्दै त्याग,समर्पण,निष्ठा,ईमान्दारिता र कर्तव्य निर्वाह गर्दै आई रहेका कार्यकर्ताले भन्दा नेताका परिवार भित्रका सदस्य या धन भएकाहरु उम्मेदवारी टिकटका लागि प्राथमिकता पर्दछन। जसको परिणामस्वरूप विभिन्न रुपधारण गरेका उम्मेद्वारहरु अहिले मतदाताले चुनावी मैदानमा पाएका छन्।
राजनीतिमा ‘कन्भिन्स’ गर्न नसके ‘कन्फ्युज’ गराउनुपर्दछ भन्ने सूत्र प्रयोग भइरहेको छ अहिलेको स्थानीय निर्वाचनमा। नेताहरु आफ्नो उम्मेदवारको गुण दोष भन्दा पनि आफ्नो उम्मेदवारले जसरि पनि जित्नु पर्छ भन्ने मान्यतामा जनता र कार्यकर्ता भेला पारेर ठुल्ठुला आमसभा गरिरहेका थिए। हिजो सम्म नेता र जनप्रतिनिधिहरुलाई दोष दिने जनता फेरी त्यहि नेता र उम्मेदवारको पछि आँखा र कान बन्द गरेर तिनका भक्तिगान गर्दै हिडेका छन्। जुन मतदाताले त्याग, आचरण, व्यवहार र गुणहरू हेरेर सही प्रतिनिधि छान्न नसके आफैंलाई शासन गर्ने क्षमता नभएको सिद्ध हुन्छ । यो क्षमता नहुनु भनेको सार्वभौमसत्ता सम्पन्न नागरिक हुने योग्यता नहुनु हो। जसको फाइदा पटक पटक दलहरुले र ति दलका नेताहरुले उठाई रहेका छन।
नेपालमा मतदाता तीन प्रकारका छन् — सधैँ मत हाल्ने, कहिल्यै मत नहाल्ने र कहिलेकाहीँ मत हाल्ने । चुनावका खेलाडीहरूले दोस्रो र तेस्रो वर्गका मतदातालाई मतदान गर्न उत्साहित बनाउन सक्नुपर्दछ। निर्वाचनमा मतदाताहरूले जस्तो निर्णय लिन्छन्, स्थानीय सरकार त्यस्तै बन्ने हो । तर यहाँ आफ्नै दलका उम्मेदवारलाई मत नदिने,तर आफ्नो स्वार्थ मिले जस्तैसुकै उम्मेदवार भए पनि उनलाई मत दिने धेरै मतदाताहरु छन्। जसले गर्दा राम्रा उम्मेदवार नेपाली राजनीति पाउन सकिदैन।
जर्ज बर्नाड सा ले भनेका छन् - " परिवर्तन विना प्रगति असम्भव छ,जसले आफ्नो दिमाग परिवर्तन गर्न सक्दैनन्, तिनले केहि पनि परिवर्तन गर्न सक्दैनन्।" यस्तै नेपाली मतदाताहरुको छ। चुनाव भरि ति उम्मेद्वारहरुसंग आफ्नो स्वार्थ अनुसार साख्खै हुन्छन। चुनाव सकिएको भोलि पल्ट देखि त्यहि उम्मेदवार या नेतालाई विभिन्न आरोप लगाउदै कुरा काट्न थाल्छन। तर आफु भने कहिलै परिवर्तन हुन् नखोज्ने र परिवर्तन हुन् खोज्ने लाई पनि जोरबल लगाएर रोकी हाल्ने चलन चलाएका छन्।
हामीले निर्वाचन आउनु अघि या पछि उम्मेदवार र दलको विषयमा खुला बहस कहिलै गर्दैनौ। त्यसैले हामीले जस्तो रोज्छौ,त्यस्तै जनप्रतिनिधिले जित्ने गर्छ। जसको कारण कुनै विकास हुदैन,कुनै सुविधा समयमा प्राप्त हुदैन। बारम्बार दल र दलका नेताहरुले मतदाताहरुलाई सके सम्म नानाथरिका प्रोलोभन देखाएर कन्भिन्स गर्न खोज्छन। नेपाली जनता प्रोलोभन कै कारण ति दलहरुसंग कन्भिन्स भै रहेका छन्। मेरो दल तेरो दल भन्दै पैठेजोरी गर्न पनि पछि हट्दैनन्। यसैको फाइदा दलका नेताहरुले बारम्बार लिई रहेका छन्। पटक पटक एकजना मुखिया भएर बसिरहदा पनि चु बोल्न सक्दैनन्।
नेपाली जनता दलहरुसंग कन्भिन्स भएनन् भने बेला बेलामा दलका नेताहरुले चटके देखाई नेपाली जनतालाई राष्ट्रियताको नारा लगाएर जनतालाई कन्फ्युज पार्ने गर्दछन। अहिले स्थानीय तह निर्वाचनमा कित्ता काट गरेर नेपाली जनतालाई देश विकासको कुनै अजेण्डा विना आफ्ना उम्मेदवारलाई जिताउन कन्फ्युज पारि रहेका छन्। किनकी कन्भिन्स त आफनै कार्यकर्तालाई गर्न नसक्ने नेताले अहिले कन्फ्युज पारेर आफ्नो पोल्टामा स्थानीय सत्ता पार्न खोजेका छन्।
यिनलाई आचारसंहिता पनि लागु नहुने,अनि जे गर्दा पनि कसैले केहि गर्न सक्दैन भन्ने घमण्ड रहेको देखिन्छ। त्यसैले नेपाली जनताले अब बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा यिनका झुठा कुराहरुमा कन्भिन्स र कन्फ्युज नभई राम्रो उम्मेदवारलाई मत दिई विजय गराउनु पर्दछ। अहिले सबै दल र उम्मेदवारहरुले भ्रष्टाचार सहित वार्ड,नगर र पालिका बनाउछु भन्दै छन्,तर हिजो गरेको भ्रष्टाचारको हिसाब किताब कसले गर्ने हो त्यो कसैले भन्दैनन।
त्यसैले कन्भिन्स भएकाहरुले एक पटक यिनका बारेमा सिङ्घवलोकन गरौ र कन्फ्युज भएकाहरुले पनि एक पटक यिनका घोषणापत्र र अजेण्डाहरुलाई अध्धयन गरौ। अनि मात्र ३० बैशाखमा आफुले रोजेको उम्मेदवारलाई मत दिई अत्यधिक बहुमतले विजय गराऊ।
धन्यवाद,हाम्रो र हाम्रो देश नेपालको भविश्य उज्जवल रहोस।



Post a Comment