प्राकृतिक नियम नै हो मानिसहरु यो संसारमा जन्मिन्छन र एउटा निश्चित आयुमा पुगे पछि मृत्यु हुन्छ। जन्म र मृत्युको बिचमा मानिस अनेक कुरामा रोम्ल्लीएर अल्झी रहेका हुन्छन। प्राकृतिक नियमको गतिमा मानिसहरु अघि बढ्नु पर्ने हो तर उ आफु बाच्ने नियम पनि तोडेर,वेवास्ता गरि आफ्नो जिन्दगी बिताउने भर मग्दुर एउटा असफल प्रयास गरि रहेका हुन्छन।
मानिसको जन्म देखि मृत्यु भन्दा पनि पर सम्म निरन्तर अघि बढ्ने भनेको समय हो। जो कि मानिससंग निरन्तर संगसगै हिडी रहेको हुन्छ। तर मानिस भने आफु बाचुन्जेल हरपल साथ दिने समयलाई भने सधै हेलचेक्राई गरि रहन्छन । हुनपनि हो मानिस जन्मे पछि उ कसैको आडभरोसामा हुर्कन शुरु गर्दछ। तर समय त त्यो अबोध बच्चा संगसंगै हुन्छ। उसलाई उनका अभिभावकहरुले समयको महत्व प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनाउ दि रहेका हुन्छन। उसलाई समयमा हरेक थोकको उपलब्ध गराई रहेका हुन्छन। तर उसलाई समयको अर्थ भन्दा पनि उसले प्राप्त गर्ने भौतिक सामाग्रीहरुको मात्र महत्व र चाहना हुन्छ। समय नभई दिएको भए उसले पल पल प्राप्त गरेका वस्तुहरु उसलाई प्राप्त हुने थिएन।
समय जति बितिरहन्छ मानिस पनि त्यति नै हुर्किदै गई रहेको हुन्छ। जब मानिस समयसंगै युवा हुन्छन। अनि मात्र केहि समय बारे बुझे जस्तोगरी समयमा बिहान उठ्न खोज्छ,खेल्न खोज्छ,सुत्न खोज्छ। सकेसम्म युवा अवस्थामा समय संग पैठेजोरी खेल्दै अघि बढ्छ। उसलाई समय अति महत्वपूर्ण हो भन्ने जानकारी हुदा हुदै पनि समयलाई पछ्याउन खोज्दैन। युवा मानिसमा यति जोश भरिएको हुन्छ कि बरु समयले उसलाई पछ्याउस भन्ने इच्छा राख्दछ। उसलाई थाहा छ समयले उसलाई हुर्कन सिखायो,उभिन सिखायो,पढ्न सिकायो,खेल्न सिकायो। भनु न समयले उसलाई युवावस्थामा युवा बनाउन धेरै सिखायो। अझै पनि उ समयको महत्व राख्दैन। समयलाई चिन्न सक्ने क्षमताको विकास भई सक्दा पनि समय केहि होइन भन्ने अहमपना उभित्र जागृत हुदै गैरहेको हुन्छ। त्यही अहमतामा अल्झिदा उसलाई समयले धेरै पछि छाडी सकेको हुन्छ।
प्राय मानिसहरुले आफ्नो युवावस्था टाईम पास भन्दै आफुलाई विभिन्न गतिविधिमा संग्लन गराउदै समयको गतिलाई ध्यान दिदैनन। उसलाई थाहा हुदैन समयले उसलाई हरपल पछि छाड्दै अघि बढिरहेको हुन्छ।मानिसले अहिले म युवा नै छु,भन्दै मस्त रहन्छन। उ खेल्छ,उ घुम्छ,उ मस्ती गर्छ। उसलाई लाग्छ उसले समयको सहि सदुप्रयोग गरिरहेको छ,तर उसले समयको पुरा उपयोग गरेको हुदैन। मानिसको युवावस्थामा धेरै चाहनाहरु हुन्छन,ति सबै चाहनाहरु पुरा हुन् सक्दैन। उनको उदेश्य सहितको गन्तब्य भएता पनि उनको असली लक्ष्य के हो भन्नेमा सधै अन्योल रहन्छ। उसले सोचे जस्तो प्राप्त नहुदा समयको ज्ञान बल्ल उसलाई महसुस हुन् थाल्छ।
जब समयसंगै उ लक्ष्य सहितको गन्तव्यमा पुग्दैन। तब मानिसलाई छाँगाबाट खसेको अनुभव हुन्छ। अनि मानिसले समयको महत्व बुझ्न थाल्छ,त्यतिखेर उसको उमेरले युवावस्था पार गरिसकेको हुन्छ। जब मानिसले आफ्नो उमेरको तेश्रो चरणमा पुगेको थाहा हुन्छ। उसले समयको महत्वसंगै मूल्य पनि बुझ्न थाल्छ। मानिस आफ्नो उमेरको तेश्रो चरणमा पुगेर जति समयलाई बुझ्छ,उति नै मानिस निराश र झस्किन्छ। किनकी समयले उसको साथ छोडी सकेको हुन्छ। भन्नाले मानिस भन्दा धेरै अघि समय बढिसकेको हुन्छ। मानिस भने मसंग धेरै समय छ भन्दै ति व्यतीत गरेका पलहरु सम्झिदै आफ्ना धेरै समय खेर गएको, तर कुनै उपलब्धि हासिल गर्न नसकेको महसुस गर्दछ।
आफ्नो उमेरको तेश्रो चरणसम्म आईपुग्दा बल्ल मानिसले समयको पुरा महत्व बुझ्ने प्रयास गर्दछ। अब बुझेर एउटा निष्कर्ष निकाल्ने चेष्टा गर्दछ। जति उ विचार गर्न घोत्लिन्छ त्यति उ आफुलाई हारेको महसुस गर्दछ। युवावस्थामा हुने जोश र जाँगर अहिले आफुभित्र नपाउदा खल्लो अनुभव हुन्छ। मानिस यो क्षणमा आफु भित्रको हिम्मत जगाउन प्रयास गर्दछ। तर उसलाई समय अभाव लाग्दछ। अहिले आएर उसले समयलाई समयमा चिन्न सकेको भए,आज आफैसंग आफैले पश्चाताप गर्नु पर्ने अवस्था आउने थिएन। समय समय नै हो। जसले समयसँग योजनाबद्द ढंगबाट हिड्न सक्यो,उसले सबैथोक समयमा प्राप्त गर्न सक्दछ। समयमा समयसंगै हरेक कुरा हिड्दछ,गुड्छ,हुर्किन्छ,सप्रिन्छ,तन्ग्रिन्छ,फैलिन्छ अनि फुल्दछ। त्यसपछि मानिसले चाहेका कुराहरु प्राप्त गर्न सक्दछ।
समयले मानिससँग मात्र सरोकार राख्दैन,संसारका हरेक जीव र निर्जीव वस्तुसंग समय संगसंगै हिडिरहेको हुन्छ। संसारका हरेक कुराहरु समय संगै परिवर्तन हुन्छन। जसले समय संग परिवर्तन हुन् खोज्दैन,उसलाई समयले छोडेर अघि बढ्छ। त्यसैले समयलाई बुझ्ने प्रयास सहित समय अनुसार अघि बढ्न सिखौ,हुर्किन सिखौ,प्राप्त गर्न सिखौ,अनि मात्र समय समय रहन्छ। मानिस मानिस रहन्छ। जीव जीव रहन्छ। निर्जीव निर्जीव रहन्छ। त्यसैले भनिन्छ नि समय अति बलवान छ। तसर्थ समय भन्दा बढी बलवान बन्ने चेष्टा पनि नगरौ र समयलाई सधै ध्यान दिदै अघि बढौ। समयले निर्माण गरेको यो संसारलाई समयमा मानिसले आफु सहित सबैको कल्याण हुने गरि समय लाई सम्मान गर्दै एउटा खुशी जीवन बाचौ।

Post a Comment