राजनीति दुई शब्दको समुह हो - राज + नीति। राज भन्नाले शासन र नीति भन्नाले सहि समय र सहि ठाउँमा सहि काम गर्ने बुझिन्छ। अर्थात् कुनै खास नीतिद्वारा शासन गर्ने वा खास उद्देश्य हासिल गर्ने कार्यलाई राजनीति भनिन्छ। अर्को शब्दमा भन्नु पर्दा राजनीति भनेको जनताको सामाजिक र आर्थिक स्तर (सार्वजनिक जीवनस्तर) माथि उठाउनु हो। जसको लागि सिद्धान्त ( दर्शन ) आवस्यक पर्दछ। सिद्धान्त "सिद्धिको अन्त्य" हो। जसलाई प्रमाणित गर्नका लागि गर्नु पर्ने सबै कुरा पुरा भएको धारणा हो,र एक अडान लिने समय हो। धर्म,विज्ञान,दर्शन,नीति,राजनीति सबैलाई सिद्धान्त चाहिन्छ।
राजनीति सिद्धान्तले मानव जाति,यसले सङ्गठित समाजहरु र ईतिहास र सामान्य रुपमा ऐतिहासिक घटनाहरुसंग सम्बन्धित प्रश्नहरुको जवाव खोज्छ। उसले मतभेद हटाउने उपायहरुको पनि सुझाव दिन्छ। र कहिलेकाँही क्रान्तिको वकालत गर्दछ। प्राय: भविष्यवाणीहरु पनि दिईन्छ। राजनीतिक सिद्धान्तको मुख्य विषय राज्य र सरकार हो। यसले स्वतंत्रता,समानता,न्याय र लोकतन्त्र जस्ता अवधारणाहरुको अर्थ बुझाउछ। नागरिकहरुलाई राजनीतिक प्रश्नहरुको बारेमा तर्कसंगत सोच्न र सामाजिक - राजनीतिक घटनाहरुलाई सहि रुपमा न्याय गर्न तालिम दिन्छ।
तर अहिले नेपाली राजनीति उक्त अर्थको ठिक विपरित अगाडी बढी रहेको छ। राजनीति र सिद्धान्त एकातिर थाती राखेर,आफ्नो स्वार्थ फुर्तिमा सबै दल र ति दलका नेता तथा कार्यकर्ताहरु मरी मिटि लागि परेका छन्। झट्ट हेर्दा त्यस्तो नदेखिएता पनि सारमा राजनीति अहिले व्यापार भएको छ। कुनै पनि राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गर्दा आफ्नो विधान र चुनाव चिन्हको विवरण सहित दर्ता गरेको हुन्छ। र त्यहि आधारमा जनतालाई आफ्नो दलमा संगठित गराउदै अघि बढेको हुन्छ। दलको सिद्धान्त अनुसार नै मानिसहरु विभिन्न दलमा विश्वास र भरोसाका साथ आबद्ध हुन्छन।
जुन विश्वास र भरोसा नागरिकहरुले आफ्नो दललाई गरेका थिए। त्यो विश्वास र भरोसा आज टुट्दै गएको देखिन्छ। विशेष गरेर पार्टीको सिद्धान्त र दर्शन माथि कसैको गुनासो देखिदैन,भरोसा र विश्वास आफ्ना नेताहरु माथि टुटेको देखिन्छ। किनकी पार्टीको सिद्धान्त एकातिर नेताहरुको व्यवहार अर्कोतिर भए पछि कतिपय असल नेता तथा कार्यकर्ता आफ्नो दलबाट बाहिरिने क्रम निरन्तर चलिरहेको छ। हुन् त कतिपय नेताहरु आफ्नो स्वार्थका लागि बाहिरिने गरेका पनि छन्।
आफ्नो पद जोगाउन नेतृत्वले जे गरे पनि हुन्छ भन्ने मनोवृतिले ग्रस्त नेताहरुको कारणले नै नेपाली राजनीतिले देश विकासमा कुनै भूमिका निर्वाह गर्न सकेको छैन।निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुको आ-आफ्नो सिद्धान्त र दर्शन रहेको छ। तर ति दर्शन र सिद्धान्त मात्र दल दर्ताका लागि लेखिएको देखिन्छ। आज सम्म कुनै पनि दलले आफ्नो सिद्धान्त र दर्शन अनुसार आफ्नो दलको राजनीति अघि बढाएको देखिदैन। यदि ति दलहरुले आफ्नो सिद्धान्त अनुसार देशमा सत्ता संचालन गरेको भए,आज देशको परिस्तिथि यस्तो हुदैन थियो। साथै दलहरुको अवस्था पनि यति नाजुक हुने थिएन।
आज दलहरु आफुलाई जति नै ठुलो भने पनि एकले अर्को दलको हात नसमाई निर्वाचनमा एक्लै भिड्न सक्ने हिम्मत गर्न सकेका छैनन्। त्यहि पनि आफ्नो दलको अस्तित्वका लागि होइन, नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ र अस्तित्व बचाउन गठबन्धन गर्नु पर्ने बाध्यता आई परेको छ। विना गठबन्धन एक्लै निर्वाचनमा जान सकेका छैनन्। तिनका पार्टीका सिद्धान्त,दर्शन आज कागजको खोष्टा भएको छ। अहिले सिद्धान्त एकातिर राखेर गठबन्धन गरि रहेका छन्। पाँच वर्ष अघिको गठबन्धन र अहिले भएको गठबन्धनमा केहि फरक देखिदैन,फरक नेताहरुको स्वार्थ मात्र। खास गरेर गठबन्धन सिद्धान्त र दर्शन या राजनैतिक अजेण्डा मिल्नेसंग गर्नु पर्ने हो। तर यहाँ कुन नेताको कुर्सी र कसका लागि पद बचाउने खेलमा गठबन्धन भएको छ।
गठबन्धनसंगै दल परिवर्तन गर्ने होडबाजी अहिले नेपाली राजनीतिमा खुब चलेको चर्चा हो। देश विकासको चासो होइन कि आफ्नो विकासको चासो बढी परेको हुनाले पनि दल परिवर्तनको लहर चलेको छ। विशेष गरेर हरेक दलमा व्यक्तिगत स्वार्थ,परिवारवाद र नातागोतावाद हाबी भएको कारण सबै दलको सिद्धान्त,दर्शन खोष्टा बनाई दिएका छन् । अब देश विकास भन्दा पनि व्यक्ति विकासमा दलहरु संचालन हुन् लागे पछि जनताले पनि आफ्नो मत पैसामा साट्ने बाहेक अरु विकल्प देख्दैनन। राजनीतिमा पैसाको खेल बढी हुन थाले पछि देशमा भ्रष्टाचार बढेर जान्छ। जसको कारण भ्रष्टहरुले देश हाक्न थाल्छन र उनीहरु पैसाका लागि जे पनि गर्न पछि हट्दैनन्।
यस्ता बिभिन्न कारणले नै देशको आर्थिक अवस्था संकटको संघारमा पुगेको छ। राजनैतिक अजेण्डा विनाको राज्य संचालन भए पछि भ्रस्टाचार मौलाउने बाटो खुल्छ। सबै थोक पैसाले नै चल्ने भए पछि नैतिकता,अनुशासन,कर्तव्य र त्यागको कुनै मुल्यांकन र मूल्य हुदैन। जसले गर्दा देशमा विरोजगारी,महंगाई,गरिबी र कुशासनले जरो गाड्न पुग्छ। परिणामस्वरूप देश असफल राष्ट्र तिर उन्मुख हुने गर्दछ। त्यसपछि निर्वाचन जनता ढाट्ने खेल मात्र हुने गर्दछ। पैसाको बलमा उम्मेदवारले टिकट लिने र पैसाकै बलमा निर्वाचन जित्ने भए पछि जनता र देशको विकास कसरि गर्छन ति प्रतिनिधिहरुले ?
आज देशमा पेट्रोलियम पद्धार्थ खरिद गर्ने विदेशी डलरको कमि हुदा सरकारले अन्य कुनै विकल्प सोच्न नसकेर सीधै सरकारी कार्यालय र स्कूल दुई दिन बन्द गर्ने निर्णय गरि सकेको छ। साथै अन्य विलासिताका सामानहरु आयातमा रोक लगाउन सरकार बाध्य भएको छ। कोभिड -१९ ले देशको आर्थिक अवस्था नाजुक बनि सकेको यस्ता सरकारका निर्णयहरुले स्पष्ट पर्दछ। तर सरकार चलाउने र चलाई सकेका दलहरुले आफ्ना नेता,कार्यकर्तालाई अनुशासन र पार्टी पद्दतिमा राख्न नसक्दा झन् देशको भविष्य अझ कठिन हुने पक्का देखिन्छ।
त्यसैले अब हुन् गई रहेको स्थानीय निर्वाचन २०७९ मा भाग लिएका दल र ति दलका उम्मेदवारहरुले विना सिद्धान्त र कुनै ठोस अजेण्डा विनाको गठबन्धनले नेपाली राजनीतिमा कस्तो असर पार्दैछ भन्ने स्पष्ट रुपरेखा देखाई सकेको छ। ३० गते मत दिदा जनताले विवेक प्रयोग गरेर असल उम्मेदवारलाई आफ्नो अमुल्य मत दिनु पर्दछ। फेरी मेरो दलको उम्मेदवार हो भन्दै चुनाव चिन्हको माया गरेर मत दिए पछुताएर मात्र भरणपोषण हुने वाला छैन,देश नै सङ्कटमा जाने निश्चित प्राय रहेकोले दल भन्दा माथि सोचेर मत दिनु पर्दछ। अब देशलाई कस्तो बाटोमा अग्रसर गराउने सबै मतदाताको हातमा रहेको छ। यसपटक मतदान होइन मतादेश दिनु पर्दछ उम्मेदवारहरुलाई।
हिजो एउटा दलमा आज आफ्नो स्वार्थ नमिल्दा अर्को दलमा शरण लिने नेता तथा कार्यकर्ताले नेपाली जनताको भलो गर्छ भन्ने कसरि विश्वास गर्न सकिन्छ। त्यसैले अब नेपाली जनताले यस्ता विचित्र चरित्र बोकेका उम्मेदवार र दलका नेतालाई सबक सिखाउने समय आएको छ। अब पनि नेपाली जनता चुक्यो भने यी चरित्रहीन नेता अनि कार्यकर्ताहरुले सधै देश र समाजलाई कुबाटोमा मात्र हिडाउने काम बाहेक अरु केहि गर्न सक्दैनन्। जसको कारण देशमा अझै भ्रष्टाचारी,विरोजगारी,महंगाई,अराजकता र द्वन्द बढ्ने खतरा बढेर जानेछ। झन् झन् आर्थिक सङ्कट बढेर जानेछ। त्यसैले रोगलाई बेलैमा पहिचान गरि निको हुने कार्यमा अघि बढौ। देशलाई अझै सुन्दर र शान्त अनि विकसित राष्ट्र तिर उन्मुख गराऊ।





Post a Comment