साइकल भन्ने बित्तिकै तराईको ग्रामिण क्षेत्रमा बस्ने बासिन्दाहरुले आफ्नो दैनिकी सजिलोका लागि प्रयोग गर्ने सवारी साधन भनेर बुझ्नेहरु आज पनि नेपालमा धेरै छन्। तराईका धेरै गाउँहरुमा साईकलको प्रयोग विभिन्न कामका लागि गर्दै आई रहेका छन्। सरकारले सडक समयमा निर्माण नगर्नु,कुनै पनि यातायातका सवारिसाधन समयमा संचालन नहुनुका कारण आफ्नो कृषि उत्पादन बजार सम्म लैजान,घाँस दाउरा ल्याउन,बजार जान,आफ्ना केटाकेटीहरुलाई स्कुल पठाउन,अन्य सामाजिक कार्यका लागि,साथै विरामीलाई अस्पताल सम्म लैजान बढी मात्रामा आजसम्म पनि साईकल प्रयोग हुदै आइरहेको छ।
तर हिजोआज साईकललाई साहसिक कार्यमा प्रयोग गर्ने युवा पुस्ता अगाडी आई रहेका छन्। साईकल हिजो गाउँबाट शहर आउथियो भने अहिले साईकल शहरबाट गाउँ तर्फ निरन्तर कुदी रहेको छ। साईकल अहिले विशेष गरेर शहरियाहरुका लागि साहसी खेल,स्वास्थ्य र देश,विदेश घुम्ने एउटा उत्कृष्ट सवारी साधन भएको छ। त्यति मात्र नभएर साईकल आन्तरिक पर्यटन प्रवर्द्धन र देशभरका युवाहरुलाई जोड्ने साधन बनेको छ। तराई र शहरका केटा केटिहरुले सबै भन्दा पहिला चलाउन सिक्ने भनेकै साईकल हो। अभिभावकहरुले आफ्ना बच्चाहरुलाई स्वस्थाय्का लागि सुरक्षित खेलौनाको रुपमा दिने उपहार पनि साईकल भएको छ। त्यसैले साईकल कुदाउन जान्ने तराई र शहरमा प्राय हुन्छन।
सरकारले साईकललाई खेलकूदको रुपमा विकाश गर्न खोजे पनि कुनै ठोस कार्यक्रम गर्न सकेको छैन। जसको कारण राजनैतिक भागबन्डाका लागि मात्र साईकल संघ खडा गरेको देखिन्छ। सरकारले केहि नगरे पनि देशका विभिन्न स्थानका युवाहरु आफैले आफ्नो बलबुताले भ्याए सम्म देशभर साईकल सम्बन्धि कार्यक्रमहरु गर्दै आइ रहेका छन्। वर्षभरी विभिन्न नाममा साईकल कार्यक्रम गरेर आयोजकहरुले युवाहरुलाई परिचित हुने,आफ्ना अनुभवहरु साट्ने,रहनसहन बुझ्ने,देश चिन्ने र स्वास्थ्य रहने अवसर दिएको छ। अहिले सम्म विभिन्न उदेश्य राखी भै रहेको साईकल सम्बन्धि कार्यक्रमहरु :- नेपाल साईकल उत्सव,कोरा,टुर डे रानीमहल,सिन्धुलिगढ़ी राईड,फार वेस्ट्रन राईड,टुर डे ठाकुरद्वार,यति बाईक रेस,हेरिटेज राईड,अन्नपुर्ण राईड,टुर डे लुम्बिनी,टुर डे अर्घाखाँची लगायत थुप्रै रहेका छन्।
विगत चार वर्ष देखि सफलताका साथ "टुर डे ठाकुरद्वार" नेपालगंज साईकिलिङ्ग क्लबले आयोजना गर्दै आइ रहेको छ। यस पटकको चौथो संस्करणमा हामी साईकल सिटी भैरहवाका साईकिलिष्टहरुले पनि सहभागी हुने अवसर प्राप्त गरौ। हाम्रो चाहना तेश्रो संस्करणमा सहभागी हुने थियो। तर विभिन्न कारणले हामी सहभागी हुन् सकेनौ।यसपटक जसरी पनि सहभागी भई एउटा नयाँ अनुभव लिने उदेश्यका साथ सहभागी भयौ।
साईकल सिटी भैरहवाले आफ्ना सदस्यहरुलाई अनुभव र अभ्यासका लागि टुर डे अर्घाखाँची र टुर डे रानीमहल क्रमसः तिन दिन र दुई दिनको साईकल यात्रा सम्पन्न गरि सकेको छ। "स्वास्थ्य र प्रयावरणका लागि साईकल" भन्ने मूल मंत्रका साथ गठन भएको साईकल सिटी भैरहवाले अर्घाखाँची र रानीमहलको साईकल यात्रामा आन्तरिक प्रर्यटनलाई प्रर्वर्द्धन र प्रचार-प्रसार गर्ने उदेश्य लिएको थियो।
टुर डे ठाकुरद्वार देशभर हुने साईकल कार्यक्रममा सफल र व्यवस्थित कार्यक्रम हो। जसमा देशभरका २०० भन्दा बढी साईकिलेहरु उपस्थित हुने गर्दछ। छिमेकी राष्ट्र भारतबाट पनि साईकलेहरु टुर डे ठाकुरद्वारमा भाग लिन आउने गर्दछन। टुर डे ठाकुरद्वार अन्तराष्ट्रिय स्तरको साईकल कार्यक्रमको उचाईमा अग्रसर हुदैछ। त्यसको लागी स्थानीय र प्रदेश सरकारले कस्तो सहयोग र प्रोत्साहन गर्छ आउने दिनहरुमा हेर्न बाकी नै छ। ठुलो चुनौतिका साथ करिब २०० भन्दा बढी देश विदेशका साईकिलेहरुलाई नेपालगंज शहरमा साईकल सहित विगत चार वर्ष देखि नेपालगंज साईकलिङ्ग क्लबले निमंत्रणा गर्दै आई रहको छ।
टुर डे ठाकुरद्वार दुइ दिनको साईकल यात्राको कार्यक्रम भए पनि आयोजकले बाँके र बर्दिया जिल्लाको आन्तरिक पर्यटनलाई प्रबर्द्धन र प्रचार प्रसारका लागि ठुलो सहयोग गरेको देखिन्छ। आयोजकलाई स्थानीय पर्यटन व्यवसायीहरुले पनि साथ दिएको देखिन्छ। नेपालगंज साईकिलिङ्ग क्लबले कार्यक्रम गरेता पनि त्यस क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार,व्यवसायी र जनताको अहम भूमिका रहन्छ ।
यो वर्ष टुर डे ठाकुरद्वार फागुनको २० र २१ गते भएको थियो। हामी साईकल सिटी भैरहवाको सदस्यहरु ९ जना सहभागी भएका थियौ। सहभागी हुनलाई हामीहरु १९ गते करिब ७ बजे बिहान तिन वटा सवारी साधनमा नेपालगंज तर्फ लुम्बिनी हुदै प्रस्थान गरौ। हामी लाई बिहान प्रस्थान गर्नु अघि हाम्रा अन्य सदस्य साईकिलेहरुले विदाई गर्नु भएको थियो। लुम्बिनीमा हामीलाई लुम्बिनी पर्सा चौराहाका होटेल व्यवसायी अनिल गुप्ताज्युले हामीलाई स्वागत गर्दै बिहानको नास्ताको व्यवस्था गर्नु भएको थियो।
हामीले दिनभरको यात्रा गरेर करिब ४ बजे नेपालगंज पुग्यौ। हामीलाई आयोजक साथीहरुले स्वागत गर्नु भयो। हामी भन्दा पहिला अन्य ठाउँका साईकिलेहरु आईपुग्नु भएको रहेछ। कति परिचित थिए कति भर्खर परिचित हुदै थियौ। सचिवालयमा गएर नाम दर्ता गरे पछि हामीलाई बस्ने व्यवस्था चार तारे होटेल सिद्धार्थमा गरिएको रहेछ। साँझको खानाको लागी स्थानियले संचालन गरेका "डोको रेष्टुरेन्ट" मा व्यवस्थापनले व्यवस्था गरेका रहेछन। एउटा साईकल कार्यक्रमले देशभरबाट आएका साईकिलेहरुले नेपालगन्जको बजारमा रौनकता मात्र होइन स्थानीय व्यापारलाई थोरै भए पनि सहयोग गरिरहेको थियो।
कोभिड -१९ को महामारीबाट भर्खर उठ्न लागेको नेपालगंजवासीले देशभरबाट आफ्नो साईकल लिएर, त्यहाँ पुगेका साईकिलेहरुलाई बडो उत्साह र रमाइलो मान्दै निहाली रहेका थिए। नेपालगन्जको मुख्य सडकमा देशका विभिन्न स्थानबाट आउनु भएका साईकिलेहरु कतै गफ गरेका,त कतै चिया खाजा खादै,त कोहि नेपालगंज साईकल पसलमा झुम्मिएका थिए। नेपालगंज साईकल पसल देशभरका साईकिलेहरुका लागी परिचित पसल थियो। किनकी पसलधनि पनि साईकिले तथा नेपालगंज साईकल क्लबका निवर्तमान अध्यक्ष हुनुको साथै वर्तमान बाँके जिल्ला साईकिलिङ्ग संघका अध्यक्ष गगन थापा थिए।
कार्यक्रमको पहिलो दिन हामि सबै साईकिलेहरुलाई नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरको प्रागणमा बिहान ६ बजे भेला हुन् सुचना जारी गरे अनुसार हामी सबै साईकल लिएर त्यहाँ पुग्यौ। भेला हुने क्रम संगसगै नेपालगन्जको मटका चिया र नास्ताको व्यवस्था आयोजकले गरेका थिए। करिब ७. ३० बजे नेपालगंज उपमहानगर पालिकाका उपमेयर उमा थापामगर र विश्व साईकल यात्री पुष्कर शाहको उपस्थितिमा "टुर डे ठाकुरद्वार चौथो संस्करण" को शुभारम्भ गरिएको थियो। नेपालगंज साईकलिङ्ग क्लबले हरेक वर्ष आयोजना गर्ने यो साईकल कार्यक्रम, यसपटक भने साईकल उत्सवको रुप धारण गरेको बताउदै थिए सहभागी साथीहरुले । भारतबाट आएका साईकिलेहरुले त यो साईकलको कुम्भ मेला हो भन्दै थिए।
कोभिड -१९ ले सारा देश ठप्प अवस्थामा रहदा आर्थिक रुपले सास्ती भोगेका नेपालगंजवासी पनि यो कार्यक्रमले निक्कै उत्साहित देखिन्थे, सडक छेउमा उभिएर हामीलाई हौसला दि रहेका थिए। झन् आयोजकहरुले "टुर डे ठाकुरद्वार" आजको दिन सम्म तैयारी गर्न जति मेहनत र कष्ट व्योहोर्नु भएका ति सारा दुख कष्ट बिर्सेर हामिसंगै साईकलमा रमाउदै नेपालगन्जका बारेमा हामीलाई जानकारी दिदै थिए।
पहिलो दिन सम्म नेपालगंज साईकिलिङ्ग क्लबले तैयारीमा कुनैप्रकारको कमि महसुस सहभागीहरुलाई हुन् दिएनन्। पुरा तैयारी थियो,हुनपनि हामी भैरहवाका साईकिलेहरु उहाँहरुले बितेका वर्षहरुमा गरेका कार्यको प्रंशसा सुनेर नै सहभागी भएका थियौ। जस्तो प्रंशसा हामीले पहिलो,दोस्रो र तेस्रो टुर कार्यक्रममा सहभागी भएकाहरुले हामीलाई सुनाएका थिए,त्यो भन्दा राम्रो व्यवस्थापन हामीले पायौ।
बिहान शुरु भएको साईकल यात्रा नेपालगंज बजार हुदै खजुरा पुगेर वर्तमान अध्यक्ष सतिश निरौलाको घरमा पुगेर हामी सबैलाई स्वागत सहित पानीको व्यवस्था गरिएको थियो। अध्यक्षज्युको सम्पूर्ण परिवारको अपार सहयोग र सत्कार पाएर सबै साईकिलेहरु अति नै खुसि थिए। त्यसपछि हाम्रो यात्रा निरन्तर अनुसाशित ढंगले नेपालगंज साईकलिङ्ग क्लबका सदस्यहरुको निर्देशनमा खजुराको रहनसहन हेर्दै र स्थानीयहरुको माया र खुशी लिदै दिदै अघि बढ्यो।
नेपालगंज देखि बर्दियाको ठाकुरद्वार सम्मको हाम्रो साईकल यात्रा अति नै रमाइलो,सुखद,नौलो अनुभवको साथ करिब ९८ किलोमिटर सुरक्षित साथ सबैले पुरा गरेका थिए। यात्राको दौरान आयोजकले गरेको व्यवस्थापन अति उत्कृष्ट थियो। कसैको कुनै गुनासो बिना यात्रा करिब ४. ३० बजे हामीहरु सबै ठाकुरद्वार पुगी सकेका थियौ। त्यहाँ पनि हामी सबै साईकलेहरुलाई स्थानिय सरकार प्रमुखले स्वागत तथा सम्मान गरेका थिए। त्यसपछि हामी सबै आयोजकले व्यवस्था गरे अनुसार विभिन्न रिसोर्टमा दुई दिन बसाईको लागि प्रस्थान गरौ। तर त्यो रात भने सबै सहभागीहरुलाई पुरा तैयारीका साथ रात्रिभोजको व्यवस्था गरिएको रहेछ। जसमा बर्दियाका स्थानियहरुले आफ्नो परम्परा अनुसारको गीत र नृत्य प्रस्तुत गरेर हामी सबै थकित साईकिलेहरुलाई मनोरंजन गराउनु भएको थियो।
टुर डे ठाकुरद्वारको पहिलो दिनको कार्यक्रम नेपालगंज देखि बर्दिया राष्ट्रिय निकुञ्ज सम्मको साईकल यात्रा थियो भने आर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनको साथै वरपरको क्षेत्र भ्रमणका लागि समय मिलाए रहेछन।जसमा हामीहरुले बर्दिया राष्ट्रिय निकुञ्ज देखि करिब १४ किलोमिटर टाढा हुलाकी राजमार्गमा बनेको नेपालको सबै भन्दा लामो पुल गेरुवा कोठियाघाट हेर्न लैजानु भयो आयोजकका सद्स्यज्युहरुले। भर्खर बनेको पुलको लम्बाई १०१५ मिटर लामो रहेको छ। यसलाई कर्णाली पुल पनि भन्दा रहेछन ।
हुलाकी सडक पूर्णरुपले निर्माण कार्य सम्पन्न भए,नेपालको पूर्वी सिमा देखि पश्क्षिम सिमा सम्म आवात जावत गर्न तीनवटा राजमार्ग हुनेछ - महेन्द्र राजमार्ग,हुलाकी राजमार्ग र मध्ये पहाडी लोकमार्ग। महेन्द्र राजमार्ग र मध्य पहाडी लोकमार्गमा विश्व साईकल यात्री तथा सागरमाथा आरोही पुस्कर शाहको नेतृत्वमा नेपाल साईकल उत्सव - १ /२ को टिमले आफ्नो साईकल यात्रा तय गरि सकेको छ। अब साईकिलेहरुले हुलाकी सडक मार्गबाट मेची देखि महाकाली सम्म साईकल यात्रा गर्न बाकि रहेको छ।
हामीले कोठियाघाटको पुल अवलोकन पछि बर्दिया राष्ट्रिय निकुन्जमा जीप सफारीको लागि निकुञ्ज भित्र प्रवेश गरौ। एउटा जीपमा १० जना पर्यटक र एकजना प्रकृति पथ प्रदर्शक सहित यात्रा गर्न मिल्ने रहेछ। बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। नेपालको पश्चिमी तराईमा अवस्थित यो निकुञ्ज प्रतिनिधि इकोसिस्टमको संरक्षण र बाघ र यसका सिकार प्रजातिको बासस्थानको संरक्षणका लागि स्थापना गरिएको हो । प्रारम्भमा सन् १९७६ मा सानो क्षेत्रलाई कर्णाली वन्यजन्तु आरक्षको रूपमा राजपत्रित गरिएको थियो।













Post a Comment