वर्ष २०७८ साललाई विदाई गर्दै आज देखि नयाँ वर्ष २०७९ साललाई हामीहरुले विभिन्न ईच्छा,अपेक्षा,उदेश्य र लक्ष्यका साथ आ-आफ्नो तरिकाले स्वागत गरिरहेका छौ। हामी नेपालीहरुले यसरी नै हरेक नयाँ वर्षलाई हर्ष उल्लासका साथ स्वागत गर्दछौ। संसारमा नयाँ वर्षलाई स्वागत गर्ने सबैको आ-आफनै तरिका र परम्परा रहेको हुन्छ । तर आज म मेरो नयाँ वर्षको शुरुवातसंगै हरेक वर्ष मैले लिने उदेश्य,लक्ष्य र ईच्छा सहितको सङ्कल्प बारे सार्वजनिक गर्ने जमर्को गर्दैछु।
मैले हरेक नयाँ वर्षमा उदेश्य सहितको लक्ष्य लिने गर्दछु। हरेक वर्ष मैले अरुलाई होइन,आफैले आफैलाई चुनौती दिने गर्दछु। म मेरा लागि आफैले दिने चुनौती वर्षभरिमा कति पुरा गरे गरेन, सालको अन्तिम दिन लेखाजोखा गर्ने गर्दछु। मानिसले संसारमा जन्म लिए पछि,जब उसले संसारलाई बुझ्न शुरु गर्दछ। त्यसपछि उसले देखेका हरेक कुराहरु प्राप्त गर्न खोज्छ। दिन प्रति दिन उसले चाहेका कुराहरु कति प्राप्त गर्छ गर्दैन उसैलाई मात्र थाहा हुन्छ। तर पनि मानिस न हो,उसंग विवेक छ। उसले सोच्न र बुझ्न सक्छ। त्यसैले त उ हरेक कुराहरु प्राप्त गर्न खोज्छ। चाहेका कुराहरु प्राप्त गरेर उ कति सन्तुष्ट र सफल भयो भन्ने पनि उसलाई समयले सिखाउदै जान्छ। त्यसैले मानिसहरु नयाँ वर्षमा धेरै खुसि हुन् खोज्छन एकदिन भएपनि।
मैले हरेक नयाँ वर्षमा केहि लक्ष्य राख्ने गर्दछु। जसले मलाई हर पल केहि गर्ने उर्जा दिन्छ। जुन उर्जाले धेरै कुरा सिक्ने र आफ्नो स्वास्थ्य प्रति जागरूप गराई रहन्छ। वर्षभरीका लागि मैले तय गरेका लक्ष्य पुरा गर्ने भरमग्दुर प्रयास गर्दछु। जसले धेरै अनुभवहरु म भित्र सङ्कलन हुदै गई रहेको छ। जिन्दगीमा नयाँ नयाँ कुराहरुको अभ्यास गर्ने अवसर प्राप्त हुने रहेछ।
२०७८ सालका लागि मैले तय गरेका लक्ष्यहरु यसप्रकार रहेका थिए :- १. पुस्तक पढ्ने २. नेपालको धेरै जिल्ला घुम्ने ३. आफ्नो स्वास्थ्यलाई बढी हेरचाह गर्ने ४. आफ्नो कम्पनीलाई प्रगति तिर उन्मुख गराउने ५. केही सम्पति जोड्ने।
१. पुस्तक पढ्ने :- मेरो पढ्ने बानी निक्कै पुरानो रहेता पनि खास गरेर मैले अखबार,साप्ताहिक र मासिक पत्रिकाहरु बढी पढ्ने गर्थे। कहिलेकाही पुस्तकहरु पनि पढ्ने गर्थे। तर २०७६ साल देखि एउटा लक्ष्यका साथ आफुलाई मन पर्ने लेखक र जीवन उपयोगी पुस्तकहरु पढ्न थालेको छु। २०७६ साल देखि वर्षमा कम्तिमा १२ पुस्तक या त्यो भन्दा धेरै पुस्तक पढ्ने आफैले आफैलाई बाँचा गरेको छु। मेरो लक्ष्य अनुसार पुस्तक पढी रहेको छु। यो वितेको वर्ष २०७८ सालमा प्रति महिना दुइ भन्दा बढी पुस्तक पढ्ने मेरो बाँचा अनुसार २४ पुस्तकहरु पढे। कम नै हुन्। मैले पढेका पुस्तक हरु :-
१. धनी बुवा गरिब बुवा (Rich Dad Poor Dad) - Robert t. kiyosaki
२. सोच्नु होस् र धनि बन्नु होस् ( Think and Grow Rich ) -नेपोलियन हिल
3. बौद्धजगतका स्मरणीय व्यक्तिहरु,( दोश्रो भाग ) - रत्न सुन्दर शाक्य
४. नेपाल - हिन्दु अधिराज्यको इतिहास ( दोश्रो खण्ड ) - सिल्भा लेभी
५. शेयर बजारका बादशाह वारेन बफेट -अच्युत कोइराला
६. शेयरको आधारभूत विश्लेषण - रविन्द्र भट्टराई
७. विनोद चौधरीको आत्मकथा -विनोद चौधरी
८. सत्यतत्व एक चिन्तन - डा. गणेश माली
९. जीवन व्यवस्थापन - विनय महर्जन
१०. अन्तर्यात्रा - स्वामी आनन्द अरुण
११. ध्यान क्या है - ओशो
१२. सोच्नु होस् र धनि बन्नु होस् (पुन अध्ययन ) - नेपोलियन हिल
१३. जनताको छोरा महारथी छत्रमान सिंह गुरुङ - छत्रमान सिंह गुरुङ्ग
१४. धनलाई कसरी आकर्षित गर्ने - ( How to attract Money ) डा. जोसेफ मर्फी
१५. संसारको सबैभन्दा महान सेल्समेन ( The Greatest Salesmen in the World) - आग मेंडीनो
१६. बेबिलोनको सबै भन्दा धनि मान्छे ( The Richest Man in Babylon) - जर्ज एस. क्लासन
17. सन्यासी जिसने आपनी सम्पति बेच दि ( The Monk Who Sold his Ferrari ) - राविन शर्मा
18. जादुई सफलता पाने के सुत्र -( stunning success ) राविन शर्मा
१९. यौन,पैसा र शक्ति ( Sex, Money and Power ) -ओशो
20. अमिर बन्ने के १३ पक्के तरिके ( 13 ways to become Rich ) -आश्वानी सांघी/सुनिल दलाल
२१. साथीहरुको मन जित्ने तथा मानिसहरु लाई प्रभाव पार्ने कला - डेल कार्नेगी
२२. एक पत्रकारको बकबक - खिलध्वज थापा
२३. आपके अवचेतन मनकी शक्ति ( The Power of your Subconscious Mind ) - डा.जोसेफ मर्फी
24. धन सम्पति का मनोविज्ञान ( The psychology of money ) - मार्गन हाउजल
२०७८ सालमा यी माथिका पुस्तकहरु पढे,तर मैले महिनामा तिन पुस्तक पढ्ने निकै प्रयाश गरे। विभिन्न कारणले पढ्न सकिन। धेरै पुस्तकहरु धनको बारे र अध्यात्मिक रहेका छन्। कोभिड -१९ को असरले यी पुस्तकहरु मेरो रोजाईमा परेका हुन्। अझै धेरै पुस्तकहरु जिन्दगीमा पढ्नु छ। मैले पुस्तक पढ्ने आफुलाई दिएको चुनौती केहीहद सम्म यो वर्ष पुरा गरेको छु।
२. नेपालको सबै जिल्ला सकेसम्म घुम्ने :- मलाई आफ्नो देशको हरेक जिल्ला घुम्ने ईच्छा थियो। धेरै वर्ष देखि योजना बनाउदै गए तर कहिल्यै समय जुरेन। या भन्नु एक्लै घर बाहिर जाने सहि योजना बनेन र बनाउन सकिन। त्यसैले यसपटक २०७८ सालमा धेरै जिल्ला घुम्ने मेरो वर्षभरिको योजनामा राखे। जिल्ला घुम्ने योजना दुई नम्बरमा राखेको थिए। संयोग भनु "सम्बन्ध जोडदै र देश घुमौ " भन्ने नाराका साथ नेपाल साईकल उत्सव - २ ( NEPAL CYCLE FESTIVAL - 2 ) विश्व साईकल यात्री तथा सागरमाथा आरोही पुस्कर शाहको नेतृत्वमा हुने जानकारी प्राप्त भयो। जसले २२ वटा जिल्ला हुदै १८०० किलोमिटर तय गर्ने कार्यक्रम थियो। यात्रा पुर्वी ईलामको श्रीअन्तुबाट शुरु गरेर मुगुको रारा सम्म मध्यपहाडी लोकमार्ग हुदै साईकल कुदाउने रहेको थियो। ठुलो चुनौतीसंगै मेरो लागि एउटा राम्रो मौका पनि।
मेरो ईच्छा पुरा गर्ने राम्रो अवसर रहेको हुदा मैले ढिला नगरी जाने निर्णय गरे। नेपाल साईकल उत्सव-२, भदौ २५ देखि २१ गते असोज सम्म रहेको थियो। साईकल यात्रा कठिन साथै रोमाञ्चले भरिएको हुन्छ । भदौको २५ गते ईलामको श्रीअन्तुबाट शुरु भएको हाम्रो साईकल यात्रा काकरभिट्टा/धरान/गाईघाट/सिन्धुलीमाडी/मन्थली/चरिकोट/सुकुटे/काठमाडौँ/धाधिङ्गवेशी/गोर्खा/पोखरा/बाग्लुङ्ग/बुर्तिबाङ्ग/पुतालिखानी/रकाम/बिरेन्द्रनगर/डल्लु/मनमा/जुम्ला/बिराट/रारा सम्मको साईकल यात्रा करिब २८ दिनमा पुरा गरेका थियौ। नेपाल अति नै सुन्दर देश। विभिन्न भाषा,धर्म,संस्कृती र रहनसहनले भरिएको र अति नै सुन्दर प्राकृतिक दृश्यले भरिएको मनमोहक डाँडा ,पाखा,हरियाली बन,पहाड,नदीनाला र तालहरु छन् । जति घुमे पनि मन नअघाउने हाम्रो देश नेपाल। धेरै विविधताले भरिएको यस्तो देश संसारमा कमै छन्। मैले अझै धित नमरुन्जेल देश घुम्ने रहर पालेर राखेको छु।
मैले घुम्न छुटेको जिल्ला आर्घाखांची पनि थियो। अर्घाखाँची जिल्ला २०७८ सालको कार्तिक २१ देखि २३ गते सम्म साईकल सिटी भैरहवाको साईकिले साथीहरुसंग घुम्ने अवसर प्राप्त गरे। आफुले एउटा योजना बनाए, मनले आटेका आफ्ना सपनाहरु अवस्य पुरा हुने रहेछ भन्ने मलाई २०७८ सालमा आफुले लक्ष्य सहित बनाएका योजना पालैसंग नियमित ढंगले पुरा हुदै गए पछि,बल्ल विश्वास भयो कि मानिसले राम्रो योजना बनाए पुरा र सफल हुने रहेछ।
मैले २०७८ सालमा नेपालका धेरै जिल्लाहरु घुम्ने रहर पालेको थिए,त्यो क्रमश पुरा हुदै गएको थियो। फेरी घुमेकै जिल्ला पाल्पा भए पनि,पाल्पाको रानीमहल ( रानीघाट ) गएको थिएन। आफु पाल्पाको भएता पनि कालिगण्डकीको तिरमा अवस्थित रानीमहल घुम्न समय कहिल्यै जुरेन। तानसेनबाट १३ किलोमिटर टाढा रहेको रानीमहल साईकलमा पौष १६ र १७ गते फेरी साईकल सिटी भैरहवाका साईकिले साथीहरुसंग घुम्ने अवसर मिल्यो। मनले चिताए ढिलै भए पनि पुग्छ भन्ने उखान बुडापाकाले भन्ने गर्थे। त्यही उखान जस्तै मेरा ईच्छाहरु पुरा हुदै गएको थियो।
जिल्ला घुम्ने अवसर यो वर्ष लगातार साईकलको कारणले प्राप्त भएको थियो। साईकलले जिल्लाहरु मात्र घुम्ने कहाँ हो र नयाँ नयाँ साथीहरुसंग पनि परिचय हुने मौका मिलेको थियो। धेरै जिल्लाका धेरै साथीहरु बने र बनाए। फेरी २०७८ सालको फागुन २०,२१ र २२ गते बाँके र बर्दिया जिल्ला पुग्ने मौका नेपालगंज साईकिलिङ्ग क्लबले जुराई दियो। टुर डे ठाकुरद्वारले नेपालगंज,खजुरा,बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने मौका मिल्यो। हुलाकी सडकमा बनेको नेपालको सबैभन्दा लामो कर्णाली पुल ( गेरुवा,कोठियाघाट ) हेर्न पुगे।
मैले बनाएको २०७८ सालमा देशको धेरै जिल्ला घुम्ने योजना सफल भएको छ। हुन् त देशमा ७७ जिल्ला छन। त्यसमा पनि यो वर्ष मैले साईकल कुदाएर २७ जिल्ला पुगेर घुमे। जिल्ला घुम्ने योजना मेरो हरेक वर्ष योजनामा समावेश हुनेछ। किनकी जति घुमे त्यति रमाइलो लाग्ने मेरो देश म जीवनभर पटक पटक घुमी रहने छु।
३. आफ्नो स्वास्थ्यलाई बढी हेरचाह गर्ने :- स्वास्थ्य नै धन हो भन्ने उखान मात्र होइन सय प्रतिशत सत्य पनि हो। यदि हामीले आफ्नो स्वास्थ्यलाई दिनहुँ हेरचाह गरेनौ भने स्वास्थ्य उपचारमै आफुले कमाएको धन नाश हुने गर्दछ। धन नाश मात्र होइन आफुले कष्ट पनि भोग्नु पर्दछ। आफ्नो शरीरमा कुनै रोग लागे रोगि संगै घरपरिवारलाई पनि धेरै दुख कष्ट भोग्नु पर्ने हुन्छ। त्यसैले मैले २०७८ साल भरि सधै बिहान ४ बजे उठेर शारीरिक व्यायाम गर्ने र दैनिक आफ्नो स्वास्थ्यका लागि साईकल कुदाउने योजना बनाए।योजना अनुसार मैले आफुलाई दिएको चुनौती शतप्रतिशत दैनिक पुरा गरेको छु। जसले यो वर्ष मेरो स्वास्थ्यमा कुनै प्रकारको रोग प्रवॆश गर्न पाएन। यो चुनौती पनि मैले हरेक वर्षको योजनामा समावेश गर्ने छु।
५. केहि सम्पति जोड्ने :- जिन्दगीमा मैले गर्न नसकेको र पटक पटक असफल भएको विषय नै सम्पति जोड्ने रहेको छ मेरा लागी। सम्पति मैले जोड्न नसक्ने कारणहरुको खोजि कै लागि मैले यो वर्ष धन-सम्पति बारे पुस्तकहरुको अध्धयन गर्नमा जोर दिएको थिए। अध्धयन गर्दै जादाँ अझै पनि मैले सम्पतिको बारेमा बुझ्न धेरै बाकि रहेछ भन्ने थाहा पाए। वास्तवमा सम्पति कमाएर मात्र नहुदो रहेछ,आफुले बचत गरेको पैसालाई चक्रवृद्धि ( Compounding ) को फर्मुला प्रयोग गरे मात्र मानिसले सम्पति कम समयमा धेरै गराउन सक्ने रहेछ। तर त्यसका लागि समय,उमेर र सम्पति मिलाएर हिसाब गरे मात्र मानिसको सम्पतिमा थप हुदै जाने रहेछ। संगसगै आफुले गर्ने खर्च महत्वपूर्ण रहेछ। यो वर्ष मैले आफ्नो सम्पतिमा थप गर्न सकिन। जे होस् सम्पति बारे अझै धेरै बुझ्न र अनुशासनको खाँचो रहेछ अब ति कुराहरु पुरा गर्न लाग्ने छु।
मानिसले चाहेका सबै कुरा पुरा हुन्छ भन्नु छैन,तर चाहेका कुराहरु पुरा गर्ने प्रयासहरु भने जिन्दगीमा मानिसले कहिल्यै छोड्नु हुदैन। त्यसैले त मानिसहरु भन्ने गर्छन कि जिन्दगी एउटा संघर्ष हो भनेर। तर संघर्ष हो भन्दैमा विना योजना संघर्ष गर्नु पनि मुर्खता रहेछ। मैले २०७८ साललाई फर्केर हेर्दा आफुमा धेरै कमिको महसुस गरे र अझै धेरै अध्धयन गर्नु पर्ने कुराहरु थाहा पाए। २०७८ सालमा मैले तय गरेका योजना र लक्ष्यहरु आंशिक रुपमा पुरा गरे। तर धेरै कुराहरु जिन्दगीमा गर्नु पर्ने देखिन्छ। जे गरे पनि मानिस आफु भित्र सन्तुष्ट र खुशी हुनु पर्ने रहेछ। त्यही सन्तुष्टि र मनभित्रका खुशीहरुका लागि मानिसहरुले हरेक नयाँ वर्षको शुरुवात संगै अनेकौ बाँचा,योजना,संकल्प गर्ने गर्दा रहेछन।
२०७८ सालमा हामीले गरेका कामहरुको लेखाजोखा गर्दै २०७९ साललाई स्वागत गरौ। स्वागत संगै २०७९ सालमा आफुले वर्षभरी गर्ने योजना भने पहिल्यै नै तय गरेर राख्नु पर्दछ। जसमा मुख्यतया सर्वप्रथम स्वास्थ्य,अध्धयन,सम्बन्ध र सम्पति प्राथमिकतामा राख्नु अति जरुरि छ।
सबैलाई २०७९ सालको शुभागमन संगै सु-स्वास्थ्य,प्रगति,सफलता,शान्ति र संघर्षका लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछु। तपाईहरुको जिन्दगी सुखमय बितोस। धन्यवाद।





.jpg)
Very nice, Happy New Year.
ReplyDeletePost a Comment