" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।


         

कार्टून नेपाली टाईम्स 

              नयाँ संबिधान लागु भएपछी दोश्रो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ मङ्सिर ४ गते हुदैछ। निर्वाचनका लागी निर्वाचन आयोगले आफ्नो काम तीव्र गतिमा अगाडी बढाई रहेको छ। देश चुनावमय हुन् अग्रसर भई रहेको छ। दलहरुले पनि आफ्नो राजनीति अभिष्ट पुरा गर्न दौड धुप शुरु गरि सकेका छन्। निर्वाचन आयोगको अनुसार यसपटक प्रत्यक्षतर्फ़ ८७ राजनीतिक दलहरुले भाग लिने भएका छन्। तर चुनाव चिन्ह भने ७९ वटा मात्र रहने जानकारी दिईएको छ। ७५ दल एकल चिन्ह र चार वटा दल संयुक्त समुहबाट प्रतिस्पर्धा गर्ने छन्। एउटा समुहको चार वटासम्म दलको गठबन्धन भएको छ। साथै प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा ७६ दलबाट ६८ दलको मात्र निवेदन परेको छ। नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब १९ अर्ब रुपैया छुट्याएको छ। गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनको भन्दा दोब्बरले बढी हो। 

           निर्वाचन पछि कुनै एउटा दलले बहुमत प्राप्त गरे पछि सरकार बनाउछ। तर बढीमत निर्वाचन प्रणाली भएको कारण एक मत पनि बढी प्राप्त गर्ने उम्मेदवार विजय घोषित हुन्छ। त्यही "मत"( भोट ) को लागी दल र दलका नेताहरुले आफ्नो र आफुमा भएको खुरापाती दिमाग परिचालन गरि रहेका छन्। गत निर्वाचनहरुले पनि देखाई सकेको छ,आफ्नो स्वार्थ मिल्दा दल र ति दलका नेताहरुले जे जस्तो र जो संग पनि सम्झौता गर्ने गरेका छन्। उसलाई आफ्नो स्वार्थ अनुसार आफु र आफ्नो दलले निर्वाचनमा जित हासिल गर्नु पर्यो। 

             राजनीतिक दलहरुको आ- आफनै सिद्धान्त र विचार हुन्छ,आफ्नो दलको सिद्धान्त अनुसार देश र जनताको विकास र भलो गर्ने हेतुले राजनीति गरिरहेका हुन्छन। तर अहिले नेपालमा आफुलाई ठुलो भन्ने दलहरु र तिनका नेताहरुलाई आफ्नो दलको सिद्धान्त भन्दा आफ्नो स्वार्थको बढी चिन्ता रहेको देखिन्छ। जनतालाई देखाउन रातदिन हुने नहुने कुरा काट्दै भाषण गर्छन,जब आफ्नो कुर्सी हल्लिन लाग्छ,अनि जनता र आफ्ना कार्यकर्तालाई पनि थाहा नदिई राता रात हात मिलाउछ्न। तर नेपाली जनता र यिनका अन्धभक्त कार्यकर्ता वेखबर भए झैँ टुलु टुलु यिनलाई हेर्न बाध्य छन्। किनकी जति निर्वाचन भए पनि,यिनी हरु हारे पनि सांसद बनि हाल्छन। सत्ताको कुर्सीमा पुगी हाल्छन। 

                मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिले फेरी दलहरुको गठबन्धन गरेर निर्वाचनमा भाग लिने प्राथमिकताका साथ छलफल र बहस शुरु भएको छ। मुद्दा अनुसार गठबन्धन गर्नु देश र जनताको हितको लागि राम्रो हो। तर नेपालमा गठबन्धन आफ्नो स्वार्थ फुर्तीका लागि मात्र हुदा देश र जनतालाई अहित मात्र भएको छ। गत निर्वाचनमा बाम गठबन्धन गरेर सत्ता प्राप्त गर्ने दलले आफ्नो कार्यकाल पनि पुरा गर्ने हुर्मत राख्न सकेन। हो दलहरुको आ-आफ्नो सिद्धान्त र विचार हुन्छ,तर देश र जनताका लागि निर्वाचनमा मिलेर लड्नु ठिक हो। देश र जनताका लागि निर्वाचनमा जित हासिल गरेर हामीले कुनकुन कुरामा एकमत हुन् सक्छौ भन्ने प्रस्तावहरुको फेरिश्तमा छलफल र बहस सहित सम्झौता हुनु पर्दछ। तर यहाँ त निर्वाचन पछि देश र जनता होइन आफ्नो कुर्सि र पद कसरी बचाउन सकिन्छ त्यही कुरामा बढी चर्चा र बहस भई रहेको छ। भागबन्डाको मात्र छिनोफानो गर्ने गरेका छन्। 

                  बाम गठबन्धन असफल हुनुको पनि मुख्य कारण नै "पद,कुर्सी र भागवन्डा " थियो। अहिले सत्ता संचालन दल सहित पाँच दलीय गठबन्धनको रातदिनको बहस पनि सिट बाँडफाँड र अन्य निकायको लागि भागवण्डा मात्र भएको छ। यस्ता दल र नेताहरुको आफ्नो स्वार्थ र अहमपनाले देश र जनताले जहिले पनि सास्ती भोग्ने बाहेक अरु केहि पनि प्राप्त गर्न सक्दैन। धेरै जसो नेताहरु भावी प्रधानमंत्री हुने रे ! तर आफ्नो स्वास्थयको पूर्णरुपले हेरचाह गर्न सकेका छैनन्। अनि त्यस्ता अस्वस्थ्य नेताले आफ्नो दललाई पनि गुटबन्दीको रोगमा धकेली रहेका छन्। बेथितिको पनि हद हुन्छ,यिनीहरुलाई देश र जनताको केहि मतलब नै छैन। देश र जनता भाडमा जावोस,बस आफ्नो कुर्सी र पद बच्नु पर्यो।  

                अब हुने निर्वाचनका लागि ठुलो दल बन्ने होडबाजी शुरु भई सकेको छ। यिनले जे भनेता पनि जति ठुलो दल बनेता पनि,राष्ट्रघातका लागि सबै एकठाउँमा हुन्छन। एमसीसी,एस्पिपी र नागरिता विधेयक सम्म आईपुग्दा सत्तामा हिजोदेखि हालीमुहाली गरिरहेका नेता र ति दलहरुको मुखुण्डो जनता सामू स्पष्ट भई सकेको छ। त्यसैले नेपाली जनताले स्थानीय निर्वाचनमा यिनलाई हराएर तर्साई सकेका छन्। तर पनि स्थानीय निर्वाचन पश्चयात यिनीहरुमा कहीं कतै सुधार देखिएन। प्रदेश सरकार पटक पटक परिवर्तन गरेर जनताले तिरेको करको दुरुप्रयोग गरि रहेका छन्। अब हुने निर्वाचनमा जनताले तिरेको करको १९ अर्ब रुपैया खर्च हुदैछ। यो भन्दा कम पैसामा डिजिटल मत दिने प्रक्रिया शुरु गर्न सकिन्छ तर यिनले गर्दैनन्। किन कि विभिन्न समान खरिद गर्दा अनियमितता र मत ( भोट ) तलमाथि गर्न सहज हुन्छ।   

                    आफ्नै नेताले भनेका महान वाणी बिर्सिने नेता,कार्यकर्ताले कसरी देश हाकी रहेका छन् छर्लंग देखिन्छ। बिपी कोइरालाले भनेका थिए -"शैक्षिकस्थल बाहुबल प्रयोग गर्ने थलो होइन।" तर देशको सबैभन्दा पुरानो विश्व विद्यालय विभिन्न पक्षबाट करिब तिन सय दिन तालाबन्द गरेको समाचार देशभरका जनताले सुनिरहेका छन्। जब कि वर्तमान प्रधानमंत्री विश्व विद्यालयको कुलपति हुन्छन। बेथिति कहाँ छैन,बेथिति पनि जसले सत्ता हाक्छ उसैका कार्यकर्ताले गरीरहेका छन्। विश्व विद्यालय जस्तो तीनसय दिन बन्द भए पछि देशले के आशा गर्ने ? 

                   विश्व विद्यालय बन्द हुदा देशको प्रधानमंत्री,जो कुलपति हुन्छन,केही पहल गर्दैनन् भने उधोगहरु बन्द हुदा झन् किन चासो लिन्छन र ? त्यसैले यिनले चाहेका नेपाली युवाहरु देशमा नबसुन अनि सधै पहुँच नभएका र अशिक्षित जनतालाई शासन गर्न सजिलो हुने सपना सधै देखि रहने मनसायले राज्य संचालन लामो समय देखि गरिरहेका छन्। अब यिनलाई बेलैमा ठेगान नलगाउने हो भने देशलाई कंगाल बनाएर यिनीहरु नै अन्तमा विदेश पलायन हुने पक्का पक्की छ। आज देशका युवाहरु वैदेशिक रोजगारीका लागि धेरै देश भन्दा बाहिर छन्। ति युवाहरुले पठाएको रेमिटान्स ले नै देशको अर्थ व्यवस्था जेनतेन चलेको छ। तर तिनै विदेशमा गएका युवाहरुले आफ्नो देश हुने निर्वाचनमा मत दिन पाउदैनन। जानी जानी ति युवाहरुलाई मत दिने व्यवस्था मिलाउन चाहदैनन् यी भ्रष्ट नेताहरुले।  

                            आज झन् भन्दा झन् देशमा बिरोजगार युवाहरुको संख्या बढी रहेको छ। यिनका गलत नीतिका कारण उधोगधन्दा बन्द हुदै गएको छ। अहिले चुनावी रणनीतिका लागि बन्द भएको उधोग फेरी संचालन गर्छु भन्दै उद्घोष गरिरहेका छन्। बन्द भएका होइन संचालन भएको उधोगहरुलाई सरकारले सहयोग गर्नु पर्दछ।  

                 जुन देशसंग बेच्ने वस्तु हुन्छ त्यही देश धनि हुन्छ। तर नेपालसंग बेच्ने धेरै थोक हुदा पनि बेच्न सकेका छैनौ। सुन्दर देश छ,हामीले पर्यटकहरुलाई धेरै थोक बेच्न सक्छौ। देशमा खानीहरु प्रचुर मात्रामा रहेको छ। त्यसलाई उत्खनन गरेर बेच्न सक्छौ। विश्वले विश्वाश गरेको लडाकु योद्धा वीर गोर्खाली छ,गोर्खा ब्राण्डमा सुरुक्षाका लागी युवाहरुलाई तालिम दिएर पठाउन सक्छौ। हामीसंग हिमाल छ,हिमालमा सजिलै चढ्न सक्ने युवा शेर्पाहरु छन्,उनीहरुलाई प्रशिक्षकको रुपमा विदेश पठाउन सक्छौ। हामीसंग हिमालय नदीहरु छन्,त्यसको पानी हामीले हिमाल नभएको देशमा बेच्न सक्छौ। संसारको सबै भन्दा राम्रो यार्सागुम्बा पाईन्छ,नेपाली ब्रान्डमा महंगोमा बेच्न सकिन्छ। हिमालमा साहसिक खेल प्रतियोगिता गरेर विदेशी पर्यटक तान्न सकिन्छ। अल्लोको समान विदेश पठाउन सकिन्छ। वनजंगलमा औषधिजन्य रुखबिरुवा लगाएर जडीबुटी निर्यात गर्न सकिन्छ। कृषिमा मध्य र उच्च पहाडी भेगमा उब्जाउ गरेर अर्गानिक फलफुल,तरकारी,र खाद्य सामग्री उद्पादन गरेर विश्व बजारमा बेच्न सकिन्छ। पशु पालन गरेर पशुबाट उद्पादन सामग्री सजिलै विश्व बजारमा बेच्न सकिन्छ। तराईमा धान,तोरी,गहुँ र उखुं धेरै मात्रामा उद्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ। आज हामीले प्रयोग गर्ने हरेक समान आयात हुन्छ ,यदि कुनै समान आयात भएन भने हामीले प्रयोग गर्न सक्दैनौ। हाम्रो उदपादन हामी नेपालीले कहिले निर्यात गर्ने ? यी नेताहरुसंग यस्ता सोच नभएकै हो त ? अवश्य होइन! यिनीहरु राष्ट्रघात गर्नमा तल्लिन छन्। 

                     त्यसका लागि अब युवा नेतृत्वको देशलाई खाँचो छ। युवाहरुलाई साथ र सहयोग गरौ। पटक पटक झुठा आश्वाशन दिने तर केहि नगर्ने यस्ता दल र ति दलका नेतालाई एक पटक बहिष्कार गरौ। र देशमा हुने सबै खाले भ्रष्टाचार निर्मुल पारौ। हामी अब जागौ ! यिनीहरुले आर्थिक भन्दा बढी नीतिगत भ्रष्टाचार गरिरहेका छन्। यी भ्रष्टहरुलाई आजसम्म कसैले सजाय दिन सकेका छैनन र सक्दैन पनि। किनकी कानुन यिनीहरुको बहुमतले सधै च्यापेर राखेको छ। यिनीहरुको देश विकास भनेको भौतिक निर्माण मात्र हो,तैपनि आफ्नो र आफ्नो आसेपासेहरुको मात्र। यिनले कहिलै पनि सामाजिक विकास,भाषा विकास,संस्कृति विकास र धार्मिक विकास गर्न चाहेनन्। यी सम्पूर्णको विकास भए मात्र देशको विकास हुन्छ। 

                      अब मत दिनु अघि एक पटक यिनका विगतका कर्तुतहरु सिंहवालोकन गरेर मात्र दिने कि ? कति पटक यिनले झुक्काउने र कती पटक हामी झुक्किने ? अब त २१ औ शताब्दीमा स्मार्ट मोबाईल हातमा राख्नु भएको छ,यिनका पल पलको समाचार तपाईले हेरी रहनु भएको छ। अनि फेरी किन यिनलाई तपाइको अमुल्य मत दिनु हुन्छ त ? यिनले विकास गरेनन ठिकै छ,तर जनतालाई दिनु पर्ने न्याय त दिन सक्छन।कसरी दिन्छन न्याय दिने ठाउँमा पनि बेथिति ! तसर्थ एक पटक  परिवर्तन,अधिकार,सम्मान र देशको विकाशको लागि मङ्सिर ४ गते आफ्नो अमुल्य मत दिदा सोच विचार गरेर मात्र मतदान होइन,मतादेश दिऊ।  

       

           

              

        

 

 


Post a Comment

Previous Post Next Post