मुलुकमा धेरै पटक राजनैतिक उथुल पुथुल भै सकेको छ। तर सत्ता परिवर्तन गरि नया नेपाल बनाउने भने पनि न नया नेपाल बन्यो, न कुनै परिवर्तन नै भएको छ। कुर्सीमा बस्नेहरुको अनुहार मात्र परिवर्तन भएको छ। ति कुर्सीमा बस्नेहरुले ईमान्दार ढंगले देश र जनताको लागि धेरै परिवर्तन गर्न सक्ने थिए। केहि गर्ला भन्दै जनताले पटक पटक तिनका आन्दोलनमा होमिए,साथ दिए। निर्वाचनमा धेरै विश्वास गरेर आफ्नो मत दिए। तर आज नेपाली जनतालाइ पटक पटक देखाएका ति सपनाहरु माथि कुठाराघात गरिरहेका छन्।
देशलाई अरु राष्ट्रको दाजोमा पुर्याउने संकल्प जनता सामु लिएका कुराहरु बिर्सेर जनतालाई नै लुट्न दिनहुँ तम्सिरहेका छन्। वास्तवमा नेपाली जनता पनि अति सोझा र ईमान्दार हुनुको फाइदा उठाई रहेका छन्। नेपाली मन न हो अहिले पनि एकपटकका लागि भन्दै माफी दिई हाल्छन। बरु आफुले हजार कष्ट सहनु किन नपरोस। आफु नाङ्गै र भोकै बस्न नै किन नपरोस। उदारमन र खुला हृदय भएका नेपालीहरुले सहन सम्म सहेका छन्।
धेरै आश लाग्दा होनहार युवाहरुले देश छोडेर जानु नै नेपालका लागि दुर्भाग्य हो। युवा देशका लागि भविष्यका कर्णधार मानिन्छ,तर आज सम्म सत्तामा बस्नेहरुले कहिल्यै पनि होनहार युवाहरुलाई पलायन हुनुबाट रोक्ने काम गरेनन। अनि कसरि हुन्छ देश र जनताको विकास ? जनताको विकास जब सम्म हुदैन तबसम्म देश विकासको कुनै अर्थ रहदैन भन्ने हेक्का आज सम्म सत्तामा बसेर देश हाक्नेहरुलाई थाहा हुनु पर्दछ। थाहै नभएको पनि होइन ,यिनले आफ्ना छोराछोरीलाई जसरि संरक्षन गरेका छन् त्यसरी नै अन्य होनहार युवाहरुको लागि पनि अलिकति पनि सोची दिएको भए देश आज प्रगति बाटोमा लम्की रहेको हुने थियो।
जसरी प्रथम सागरमाथा आरोही तेन्जिंग नोर्गे शेर्पालाइ त्यो बेलाको नेपाल सरकारले उनको महत्वलाइ चिन्न नसक्दा हामीले एउटा होनहार युवालाई भारत पलायन हुनबाट रोक्न सकेनौ। तेन्जिंग नोर्गेको पलाएन हुनु भन्दा अघि पनि धेरै होनहार युवाहरु विभिन्न कारणले देश छोडेको इतिहासमा पढ्न पाइन्छ। यो क्रम आज सम्म पनि रोकिएको छैन र रोक्ने चेष्ट पनि सत्ताधारीहरुले गरिएको पाइदैन।
देशबाट धेरै शिक्षित,खेलाडी,कलाकार,इन्जिनियर,डाक्टर,शिक्षक,प्राध्यापक,लेखक,विद्वान युवाहरु दिनहुँ देश बाहिर पलायन भएर गइ रहेका छन्। यी मध्ये धेरै स्वदेश नफर्किने गरि गएका छन्। भविष्यमा कति देशलाई माया गरेर फर्केलान,त्यो अहिले नै भन्न सकिदैन। तर अहिले सम्मको राज्यसत्ता चलाउनेहरुको व्यवहार हेर्दा ति होनहार युवाहरु फर्केलान जस्तो लाग्दैन। त्यति मात्र कहाँ हो र अन्य युवाहरु पनि देशमा चारैतिर हुने भ्रष्टाचारले गर्दा, कुनै पनि रोजगारि पाउने अवस्था नभए पछि अस्थायी रुपमा हजारौ युवाहरु विदेश पलायन भैरहेका छन्।
हिजो अल्पमत या मिलिजुलीको सरकारले केहि विकास गर्न सकेन भनेर नेपाली जनताले नै दिनहुँ हुने दुखबाट मुक्त हुन् बहुमतको सरकार बनाउन आफ्नो अमुल्य मत दिएर जिताए। तर फेरी पनि उही पुरानो उखान जुन जोगी आए पनि कानै चिरेको भने जस्तै भएको छ।
अहिले देशलाइ भ्रष्टाचारी,दलाली,कमिसनखोरीहरुले घेरेर राखेका छन्। उनिहरुबाट निकाश पाउन केहि जोशिला देशप्रेमी युवाहरु पनि छन्। तर तिनीहरु अल्पमतमा रहेका हुनाले केहि गर्न सकेका छैनन्। सत्तामा बसेकाले जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ मनपरी गरिरहेका छन्। तिनका विरोध्दमा आवाज उठाउने भनेकै होनहार युवाहरुले नै हो तर सबै होनहार युवाहरु लगभग पलायन भै सकेका छन्।
युवाहरु निराश हुदा देश निराश हुने हो। युवाहरु जोशिदा देश जोशिने र विकास हुने हो। तर वर्गीय चिन्तनले ग्रस्त देखिएता पनि पुँजीवादी चिन्तनले गाजिएको संस्कार भएकाहरुले देश चलाउदाको नियति आम सोझा नेपाली जनताले भोग्नु परिरहेको छ। नेपाली जनताले प्रजातंत्र,लोकतंत्र र गणतंत्र जे भने पनि साथ र सहयोग गरि रहेका छन्। तर मेरुदण्ड मानिएको होनहार युवाहरु नै देशबाट पलायन भएपछी कसरि हुन् सक्छ देश र जनताको विकाश र प्रगति ?
पक्कै पनि ति सबै पलायन भएका होनहार युवाहरु आफ्नो देश नेपाललाइ माया गरेर प्रगति,उन्नति र विकासको लागि एक दिन अवश्य फर्किने छन् र फर्किनु पनि पर्दछ। अब नेपाललाई होनहार युवाहरुको बेसरी खाँचो छ। फर्क,फर्क अब त फर्क नेपालका होनहार युवाहरु।

Post a Comment