" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 

Photo-CNN

               हिजो बिहान पोखरामा यति एयरको हवाई जहाजको दुर्घटनाको समाचारले सबै नेपालीलाई स्तब्ध बनाएको छ। माघ १ गते नेपालीहरुको महान पर्व माघे संक्रान्तिको दिन भएको उक्त हवाई दुर्घटनाले सबै नेपालीको मन पर्वको खुशियाली छोडेर दुर्घटनाको समाचार र हालखबर बुझ्न आफ्नो टेलिभिजन र मोबाईलमा एकोहोरो हेरिरहेका थिए। यस घटनाले सबैलाई दुखित बनाएको छ। राष्ट्रको ध्यान दुर्घटना तिर मोडिएको छ,स्थानीय बासिन्दा,प्रशासन र सरकार लगातार उद्धार कार्यमा जुटेको समाचार आई रहेको छ। मन्त्रिपरिषदको आकस्मिक बसेको बैठकले ४५ दिन भित्र प्रतिवेदन पेश गर्न एउटा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ। साथै सरकारले पुष २ गते सोमबार शोक विदा पनि घोषणा गरेको छ। 

          यो आर्टिकल लेखिरहदा हिजो करिब ५.१० बजे साँझ हवाई जहाजमा सवार ६८ जनाको मृत्यु भएको समाचार प्रसारण भई सकेको थियो। सम्पूर्ण मृतक यात्रुहरुलाई भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवार प्रति समवेदना। 

  दुर्घटना कसरी भयो भन्ने पुष्टि पछि छानविन आयोगले पक्कै पनि गर्ने छ। तर दुर्घटनाको क्षति अझ ठुलो हुन् सक्ने सम्भावनालाइ चालक दलले न्यूनीकरण गरेको भने पक्कै देखिन्छ। यदि जहाज मानव वस्तीमा खसेको भए,अझ ठुलो क्षति र भयाभव अवस्था हुन सकिन्थियो भनेर हामी सबैले अनुमान गर्न सक्छौ। 

       नेपाल नागरिक उड्ययन प्राधिकरणको तथ्यांक अनुसार मानवीय क्षति हुने गरी नेपालमा अहिले सम्म ६० हवाई दुर्घटना भएका छन्। ३५ आन्तरिक र आठ अन्तराष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटना हुदा ८९७ जनाले ज्यान गुमाएका छन्। सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३५ आन्तरिक,८ अन्तराष्ट्रिय र १७ हेलिकोप्टरको हवाई दुर्घटना भएको छ।
            हवाई जहाजमा  ४ चालक दल सहित ६८ यात्रुले यात्रा गरेको जानकारी समाचारमा दिइएको छ। नेपाल र नेपालीले कति होनहार नागरिक र नेपाललाई माया गर्ने विदेशी पर्यटक गुमाउनु परेको शोक परेको छ। 
  दुर्घटना दुर्घटना नै हुन्छ,चाहे हवाई होस् या सडक ! नेपालमा हवाई भन्दा बढी सडक दुर्घटनाबाट मृत्यु र घाईते हुनेको संख्या धेरै छ। प्रहरी मुख्यालयमा प्राप्त विवरण अनुसार २०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन्। दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ। यस्ता दुर्घटनामा परि १ लाख ३५ हजार १७५ जना मानिस घाईते भएका छन्। साथै पशु चौपायाको हिसाब अलग नै छ।


      हवाई या सडक दुर्घटनाबाट धन र जनको यति धेरै क्षति भैरहदा पनि सरकार अहिले सम्म गम्भीर देखिदैन। सरकार दुर्घटनाको समयमा विज्ञप्ति र प्रेस मिट तुरुन्त गर्ने गरेको देखिन्छ। तर दुर्घटनाको चुरो कुरामा खोज अनुशन्धान गरेको पाइदैन। यदि सरकार गम्भीर हुने हो भने दुर्घटनामा न्यूनीकरण सजिलै गर्न सक्दछ। हवाई भन्दा सडक दुर्घटनाबाट धेरै नागरिकको ज्यान गएको वार्षिक रिपोर्टले देखाउदा पनि कुनै प्रकारको ठोस योजना  ल्याउन नसक्नु सरकार कति गम्भीर छ भन्ने प्रष्ट देखिन्छ। सडक दुर्घटना हुदा कुनै आयोग गठन गरेको देखिदैन,अति विशिष्ट व्यक्ति दुर्घटना परि मृत्यु हुदा गठन गरेको आयोगको रिपोर्ट पनि सार्वजनिक हुदैन। 
         नेपालमा हुने यस्ता दुर्घटनाले विदेशबाट आउने पर्यटकहरुको कमि हुने सम्भावना बढेर जान सक्छ। त्यसैले सरकारले गठन गरेको उच्च स्तरीय छानविन आयोगले छिटो भन्दा छिटो रिपोर्ट सार्वजनिक गर्नु पर्दछ। हवाईक्षेत्र सुरक्षित नहुदा सम्म बहिर्य पर्यटक नेपाल पाहुनाको रुपमा आउन धेरै सोच्ने छन्। तसर्थ सरकारले यस्ता देशलाई असर हुने कुराहरुमा समयमा ध्यान दिनु जरुरी छ। 
           यदि सरकारले गठन गरेको आयोगहरुले बुझाएको प्रतिवेदन सार्वजनिक हुने हो भने सबैले यथार्थ बुझ्ने थिए र दुर्घटना न्यूनीकरणमा सबैको हातेमालो हुने थियो। यदि सरकारले सडक दुर्घटना न्यूनीकरणमा ध्यान दिने हो भने धेरै सर्वसाधारण नागरिकको अनाहकमा ज्यान जान बाट बच्ने थियो। साथै घाईते भएर शारीरिक अपांग हुने थिएन। साथ साथै धेरै आर्थिक व्यव भार व्योहोर्नु पर्ने थिएन। 
          सडक होस् या हवाई दुर्घटना,जसमा मानिवीय र यान्त्रिक गडबडी देखिने गर्दछ। तर सडक दुर्घटनामा मुख्य सडकको अवस्था र हवाईमा मौसमको अवस्थाले पनि दुर्घटना हुने गर्दछ। तर सरकारले यसको न्यूनीकरणमा सावधानी अपनाउन जोरबलले लाग्नु जरुरी देखिन्छ। अहिले पनि देशभर धेरै सडकहरु अलपत्र हुदा पनि सरकारको कुनै निकायले कडाई गरी सडक समयमा सम्पन्न गराउन सकेको छैन। 
           आखिर जसरी भए पनि नेपालमा हुने दुर्घटनामा नेपाली नागरिकहरुको ज्यान र धनको नोक्सानी हुने हो। हिजोको हवाई दुर्घटनाबाट सरकारले उच्च स्तरीय छानविन आयोग गठन र विदा दिएर मात्र आफ्नो कर्तब्य पुरा भएको मान्नु हुदैन। आगामी दिनमा कुनै पनि दुर्घटना हुन् नदिन र दुर्घटना भए पछि उद्दार कार्य कसरी समय रहदै गर्न सकिन्छ त्यसबारे ठोस योजना आज देखि नै लागु गर्ने तर्फ अगि बढ्नु पर्दछ। 
                 दुर्घटना हुनु अघि हामी सबै सधै सावधान रहौ। 

Post a Comment

Previous Post Next Post