" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

   

             


                   "स्वास्थ्य र पर्यावरणका लागि साईकल" भन्ने नाराका साथ स्थापना भएको साईकल सिटी भैरहवाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न स्थानमा साईकल यात्रा गर्दै आई रहेको छ। यस पटक  "Tour de Ranimahal" नाम राखी पाल्पा,तानसेन-१३ मा रहेको रानीमहलको प्रचारप्रसारका लागी मिति २०७८/पौष /१६ र १७ गते  दुई दिने साईकल यात्रा सम्पन्न गरेको छ। यस भन्दा अघि पहाडी जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र  ढोरपाटन सडक मार्ग हुदै तिन दिनको साईकल यात्रा सफलताका साथ सम्पन्न गरि सकेको यहाँहरुलाई जानकारी नै छ। 

               लुम्बिनी प्रदेशको पाल्पा जिल्ला,तानसेन नगरपालिका - ३ मा रहेको रानीमहल कालिगण्डकी तिरमा भिरालो चट्टान माथि  ५-१५-०-२ क्षेत्रफ़लमा दुइ वटा पुल,अवाल,बैकुन्ठे,झरना,हात्तिदुङ्गा र वि.स. १९९० मा छेलुंग सम्म पुर्याएको दुइवटा कुलो देखि दरबार जाने बाटोको बिचमा पर्दछ। दरबारमा २४ वटा कोठाहरु,२ वटा पोखरी,मन्दिर बगैचा,पाटी,घोडा,तबेला साथै भक्तिनो बस्ने स्थान समेत रहेको छ। रानीमहल खड्का शम्सेरले वि. स. १९४५ सालमा आफ्नो प्रिय रानी तेज कुमारी देवीको मृत्युको समयमा भाव विह्वल भई रानीको स्मृतिमा ५ वर्ष लगाएर वि. स. १९५४ मा निर्माण सम्पन्न गरेका थिए। अहिले १३३ वर्ष पुरानो दरबारलाई नेपाल सरकार पुरातत्व विभागबाट तानसेन नगरपालिकालाई वि.स. २०७२ साल श्रावन १० गते हस्तान्तरण गरि सकेको छ।  

     तर रानीमहलको प्रचार प्रसारको कमिको साथै सडक पनि धेरै अप्ठारो रहेको घुम्ने जाने आन्तरिक पर्यटकहरुले भन्ने गरेका हामीले सुने पछि "रानीमहल" को प्रचार प्रसार र प्रवर्द्धनका लागि साईकल यात्राका माध्यमबाट सकारत्मक सन्देश सबैमा पुगोस भन्ने उदेश्यका साथ रानीमहल जाने निर्णय गर्यौ। हाम्रो सामूहिक निर्णय पश्च्यात यात्राको संयोजन गर्न साईकिले थिरेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिए पछि शुरु भयो हाम्रो साईकल यात्राको तैयारी। 



             तैयारीको क्रममा संयोजक थिरेंद्र श्रेष्ठज्युले "रानीमहल" बारे विभिन्न निकाय र स्थानियहरुलाई मोबाईल मार्फत सोधपूछ गरि सम्पूर्ण जानकारी सङ्कलन गरि तैयारी बैठक बोलाउनु भयो। बैठक बसेर हामीले सबैको सल्लाह र सुझाव अनुसार मिति,दिन र समयको साथै व्यवस्थापन गरौ। सबै सदस्यहरु आ आफ्नो व्यवसायमा व्यस्त रहेको कारण हामीले शुक्रबार र शनिबारका दिन पारि मिति तय गरियो। मिति पौष महिनाको १६ र १७ गते लाई सबैले सहमति गरे। रुट बारे साईकिले विपिन शर्मालाई जिम्मवारी दिईयो। 

           दुई दिने साईकल यात्रामा हामीले पाल्पा र रानीमहलको साथै आन्तारिक पर्यटनलाई कसरी धेरै भन्दा धेरै प्रचार र प्रसार गर्न सकिन्छ। त्यसमा ध्यान दिदै संयोजकज्युलाई तैयारी गर्न सल्लाह दियौ। साईकल यात्राका लागि रानीमहल जान निम्नलिखित साईकिलेहरुले आफ्नो नाम दर्ता गरे :- १. अध्यक्ष सुर्य कुमार सारुमगर २. सचिव तथा यात्रा संयोजक थिरेंद्र श्रेष्ठ ३. सह सचिव राजेश खरेल ४. कोषाध्यक्ष धर्मराज आचार्य। सदस्यहरु-  ५. नुरमदन थापा,६.  विजय खरेल,७. राजेश गुप्ता,८. शान्ता रानाभाट,९. सन्तोष उपाध्याय,१०.धिरज गौतम ,११. प्रिया न्यौपाने,१२. बिपिन रेग्मी,१३. सुमन शर्मा,१४. माधव शर्मा,१५. रवि श्रेष्ठ,१६. महेश भट्ट,१७. सुजित सिंह,१८. धर्मवीर शर्मा,१९. डा. कृष्ण खनाल,२० दिनेश अमात्य,२१. कृष्ण अधिकारि,२२. कृष्ण पाण्डेय,२३. रमेश घिमिरे २४.बिमल सेन्चुरी। 



           १६ गते शुक्रबार बिहान हामिहरु बुद्धचोकमा जमा भई करिब ६.२० बजे हाम्रो रानीमहल साईकल यात्रा शुरु गरौ। बिहान ६ बजे जाडो र हुस्सुले हामीहरुलाई बुटवल पुग्न निक्कै कठिनाई महशुस भएको थियो। त्यसैले हामीहरुले पहिलो विश्राम बुटवलको कालिकानगरमा गरौ। सबैजना जमा भई पुन अघि कुदने शुरु भो। हामीहरु निरन्तर अघि पछि हुदै साईकल पेलिरहौ। जाडो अनि पहाडी बाटो त्यसै माथि सवारीसाधनको लगातार आवतजावत ! तर पनि हामीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र पाल्पालाई र जिल्ला ट्राफिक कार्यालय रुपन्देही र पाल्पाको साथै प्रदेश ट्राफिक कार्यालयलाई मेल मार्फत हाम्रो साईकल यात्राको जानकारी दिदै ट्राफिक र सुरक्षाको व्यवस्थापन गरि दिन हुन् अनुरॊध गरि सकेका  थियौ। 



             हाम्रो कार्यक्रम संयोजक र रुट संयोजक अनुसार दोश्रो विश्राम जोरधारामा हुने पहिलै तय भए अनुसार खाजाको लागि रोकियो। भैरहवाका निर्माण व्यवसायी गोविन्द गौतमज्युको निमंत्रणा अनुसार नै "रानीमहल साईकल यात्रा" तय भएको थियो। उहाँले पर्वासमा रहेको ओशो आश्रममा एक दिनको बसाई संगै पाल्पा सहित रानीमहल यात्रा गर्नु पर्छ भन्ने अनुरॊध गर्नु भएको थियो। तर समय,रुट सहित अन्य कारणले हामीले उहाँको अनुरॊध अनुसार ओशो आश्रममा एकदिन बसाई गर्न असमर्थ भयौ। तर पनि व्यवसायी गोविन्द गौतमज्युले साईकल यात्रामा सहभागी भएका सबैलाई जोरधारामा खाजा र होटेल श्रीनगरमा खानाको सौजन्य गर्नु भएर हाम्रो साईकल यात्रालाई अझ हौसला थप्ने कार्य गर्नु भएको थियो । उहाँलाई साईकल सिटी भैरहवाका सम्पूर्ण सदस्यहरुको तर्फबाट धेरै धेरै धन्यवाद सहित आभार व्यक्त गर्दछौ। 



           हामी करिब १ बजे पर्वास पुग्दा हामीलाई स्वागत र सम्मान रोटरी र रोट्राकका पदाधिकारीज्युहरुले गर्नु भयो। सबै साईकिलेहरुलाई जुस,पानीको व्यवस्था गर्नुको साथै स्वागत र सम्मानले साईकिलेहरुमा थप उर्जा मिलेको थियो। जसको कारण पर्वास देखि तानसेनको श्रीनगर डाँडा सम्मको उकालो सहजै पार गरे। उहाँहरुको न्यानो आतिथ्यलाइ हामी सबैले हृदय देखिने धन्यवाद दिन चाहन्छौ। हामी ३ बजे श्रीनगर होटेल पुगेर खाना खायौ र त्यहाँ गोविन्द गौतमज्युसंग फोटो सेसन गरेर उहाँसंग धन्यवाद सहित विदा लिएर हामी एक साथ १३ किलोमिटर उरालो रानीमहल तिर लागौ। 



          १३ किलोमिटर बाटो लगभग पिच भएको रहेछ,केहि ठाउमा वर्षाले खाल्टा खुल्टो भए पनि बाटोको गुनासो गर्ने हरुले भने जस्तो असहज भने रहेनछ। अहिले त्यो बाटोमा कुनै पनि साधन सहजै रानीमहल सम्म जान सक्दछ। हामीहरु बाटोमा फोटो खिच्दै संगसंगै ओरालो लागि रहेका थियौ। आज ३१ डिसेम्बर अग्रेजी वर्षको अन्तिम दिन रहेकोले पनि धेरै युवाहरु मोटरसाईकलमा रानीमहल र कालिगण्डकी तिरमा नयाँ वर्ष मनाउन जादै थिए। आज धेरै भारतीय पर्यटकहरु पनि आएका रहेछन। बाटोमा भारतीय नम्बरका गाडीहरु देखियो। तर मोटर र मोटर साइकलमा गएकाहरुलाई भन्दा स्थानिय  हरुले हामीलाई बडो चासोको रुपले हेर्दै थिए। कतिपय स्थानमा त हाम्रो यात्राको उदेश्य बारेमा सोधेका थिए। हाम्रो उदेश्य थाहा पाए पछि हामीलाई धन्यवाद दिनु भयो। 



           तानसेनबाट रानीमहल १३ किलोमिटर दुरीमा रहे पनि सडक छेऊमा राम्रो राम्रो होटेल,रिसोर्टहरु बनेका रहेछन। अझै बन्ने क्रम जारी छ। भविष्यमा रानीमहल एउटा राम्रो पर्यटकीय गन्तब्य बन्ने छ। तर नगरपालिकाले रानीमहलको वरपर सफाई,शौचालय,पर्किङ्ग र साना होटेल व्यवसायीलाई अहिले देखि योजना अनुसार व्यवस्थित गर्नु पर्दछ। साथै आन्तरिक तथा बहिर्य पर्यटकहरु नठगिने गरि मूल्य निर्धारण गर्नु उपयुक्त हुनेछ। विशेष गरेर सुरक्षा व्यवस्थाको कुनै कमि हुनु हुदैन। रानीमहलको ईतिहासिक पक्ष बारे आउने पर्यटकहरुलाई धेरै जानकारी नभएको हुदा त्यसको पूर्ण ईतिहासिक जानकारी दिन सक्ने गाईड तैयार अहिले देखि नै गर्नु पर्दछ। नगरपालिकाले एउटा सामान्य जानकारी सहित बोर्ड गाडेर हुदैन।



            श्रीनगर डाँडाबाट हामीले १३ किलोमिटर डाउन हिल राईड सहजै गरे पनि,बाटोमा फोटो खिच्न रोक्दा करिब हामीलाई रानीमहल आइपुग्न २ घण्टा लाग्यो। रानीमहल पुग्दा झमम्क साँझ परि सकेको थियो। रानीमहल प्रवेश बन्द भईसकेको जानकारी प्रहरी जवानले दिनु भयो। हामीले मेल मार्फत प्रहरीलाई दिएको जानकारीको सुचना रानिमहलमा खटिएका प्रहरी सम्म आई सकेको रहेछ। कहाँ बस्ने,कति जना र भोलिको कार्यक्रम सम्मको हाम्रो सम्पूर्ण जानकारीको जिल्ला प्रहरी पठाउनु पर्ने रहेछ। हामीले प्रहरी जवानलाई सम्पूर्ण जानकारी दियौ र उनीसंग त्यहाको बारेमा पनि केहि जानकारी लियौ। 



         त्यसैक्रममा लुम्बिनी प्रदेश,प्रदेश सरकार एक जना माननीय मंत्री अजय शाहीज्यु पनि रानीमहल घुम्न आउनु भएको रहेछ र उहाँले हामीलाई हौसला दिन सामुहिक फोटो खिच्न चाहानु भयो र हामी सबैले माननीय मंत्री अजय शाहीज्युसंग सामुहिक फोटो खिचौ। उहाँले आफ्नो परिचय र आफ्नो मंत्रालयबाट गर्नु पर्ने सहयोग गर्ने वचन साथ आफ्नो भिजितिङ्ग कार्ड दिदै हाम्रो यात्रा सफलताका लागि शुभकामना दिई विदा हुनु भयो। हामी सबै संयोजकले व्यवस्था भएको गर्नु रीभर साईड रिसोर्टमा पुगेर,केहीबेरको रमाइलो पश्चयात आफ्नो आफ्नो टेन्टमा आरामको लागी पस्यौ।


 

          भोलि बिहान नास्ता र चिया खाइवरी रानीमहल हेर्न हामी सबैजना रानीघाट तिर लागौ। वास्तवमा रानीमहल करिब १३३ वर्ष अघि कति मेहनत र खर्च गरेर बनाएका रहेछन भन्ने कुरा महलको भित्रीभाग हेरे पछि मात्र थाहा भयो। कालिगण्डकीको किनारमा बनेको रानीमहल हरेक दृष्टिकोणबाट उत्कृष्ट देखिन्छ। अहिले पनि महलका  केहीभागमा मर्मतको आवश्यकता परेता पनि जस्ताको तेस्तै देखिन्छ। नगरपालिकाले रानीमहलको अस्तित्त्व जोगाई राख्न समय समयमा राम्रा कारिगरहरुबाट मर्मत सम्भार गरि रहनु पर्दछ। पाल्पा जिल्लाका लागि मात्र होइन आन्तरिक र बहिर्य पर्यटकका लागि आकर्षणको स्थान सधै भरि रहने छ ,जसको लाभ राष्ट्र,प्रदेश,नगरपालिकाको साथै स्थानीय जनताहरुले लिनेछन। 

        केहि युवाहरुले काली गण्डकीमा राफ़्तिङ्गको मजा लिई मनोरंजन लिन दुइवटा राफ्तिंग डुंगा राखेका  रहेछन। एकजनाको रु. ४०० लिने गरेका रहेछन।  हाम्रा साईकिलेहरुपनि चढेर केहीबेर आनन्द लिए। चिसोको मौसम भएर होला त्यहाँ गएका धेरै पाहुनाहरु राफ़्तिङ्ग  खेलमा आकर्षित भएका देखिएन। 



           रानीमहलको अवलोकन पछि हामीहरु साईकलबाट तानसेनको उकालो लागियो। उकालो लाग्दै गर्दा सडक छेउमा एउटा युवा ढाकर भरि सुन्तला लिएर बेच्न बसेका रहेछन। हामीले उनको सुन्तला करिब १२ किलो सुन्तला खरीद गरिदियौ। लगभग आधा ढाकर ! किनकी हाम्रो उदेश्य नै आन्तरिक पर्यटन र प्रबर्द्धन गर्नुको साथै स्थानीय उब्जनीलाई महत्व दिदै खरिद गरि खाने,जसले युवाहरु स्वदेशमै श्रम गरि बस्ने र उब्जाउ भुमि बाझो नरहने। त्यसैले तपाईहरु पनि कतै घरबाट बाहिर घुम्न या अन्य कामले जानु भयो भने स्थानीय उब्जनीलाई खरिद गरेर या होटेलमा स्थानीय परिकार नै खानु भयो भने ठुलो सहयोग हुनेछ। 



          हामी श्रीनगर डाँडाको बाटो छोडेर गोर्खेकोट,मिसन अस्पताल हुदै होटेल पौवामा खानाको व्यवस्था भएकोले त्यहाँ गएर साईकलको पैडल रोकियो। होटेल पौवाले हामीले गर्दै आईरहेको आन्तरिक पर्यटन प्रवर्द्धन कार्यमा साथ दिदै आई रहेको छ। "होटेल पौवा" अहिले नेपालमा राम्रो आतिथ्य सत्कार (Hospitality) गर्ने होटेलहरु मध्येमा पर्दछ। "जहाँबाट आतिथ्यको शुरुवात हुन्छ" भन्ने मूल मंत्रका साथ होटेल पौवाले विशिष्ट नेपाली परम्परागत साँस्कृतिक सहित घरेलु वातावरणमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ। होटेल पौवा अहिले भैरहवा,बुटवल,पाल्पा,गोरुसिङ्गे,धनगढी,घोराही,रेसुङ्गा,भालुवाङ्ग,जुम्ला र लहमीमा संचालनमा रहेका छन्। 



           जब हामीले पैडल होटेल पौवाको मूल द्वारमा रोकेपछि होटलका मेनेजर राजेन्द्रज्युले सबै साईकिले हरुलाई पाल्पाली ढाकाले बनेको खादाले आतिथ्य स्वागत गर्नु भयो। जुन होटेल पौवाको संस्कार नै हो।केहीबेरको परिचय पछि हामीलाई तातो तातो स्वादिष्ट र ताजा खाना तैयार भैसकेको थियो। पौवाको खानामा नेपाली स्वाद अवस्य पाउनु हुन्छ। त्यसको संगसंगै कर्मचारीहरुको व्यवहार र प्रस्तुतीमा कुनै स्टार होटेलका कर्मचारीहरु भन्दा कम छैन। खाना पछि हाम्रो होटलका मेनेजर राजेन्द्रज्युसंग सामुहिक फोटो सेसन गरी र विदा लियौ।  

           तानसेनबाट बुटवल सम्म नै ओरालो बाटो रहेको हुदा हामि सबै साईकिलेहरुलाइ निकै नै सहज भयो। तल आउदै गर्दा भालेबास निर सडक छेउमा एक जना बुडी बजै सानो छाप्रोमा केहि च्याउ बेच्न बसेकी रहेछिन। हामि सबैले साईकल उनको छाप्रोमा गएर रोकौ। उहाँसंग हामीले सबैले मिलाएर १० किलो च्याउ खरिद गरि दियौ र बजैसंग सम्झनाका लागि सामुहिक फोटो खियौ। उहाँले खादै गर्नु भएको मेवा हामि सबैलाई एक एक टुक्रा दिनु भयो। साच्चै नै हामीले यस्ता धेरै आफ़्नापन र ममताका कुराहरु जीवनमा पाउनबाट वन्चित भैरहेका छौ। त्यसैले सानो सानो एकले अर्कालाई गर्ने सहयोगले कसैको जीवन कति रमाइलो र सुखसाथ बित्छ। त्यसैले आफ्नो देश नेपाल घुम्नु होस् र जीवनमा लिनु पर्ने अनुभव र धरै छुटेका रमाईला पलहरुको आनन्द लिन नचुक्नुहोस।



              हामी सबैले मन भित्र एउटा आनन्दको अनुभूति गर्दै फेरी साईकल कुदाउदै अघि बढ्यौ। बुढी बजैको अनुहारको मुस्कानले हामीलाई अझ सहयोग गर्ने भावना जागृत गरायो। र हामीले फेरी सडक छेऊ छाप्रो बनाएर बसेकाहरुसंग अब तरकारी किन्ने निर्णय गर्दै ओरालो अघि पछि हुदै पैडल मार्दै बढी रहयौ। केहि किलोमिटरको साईकल दौड पछि हामी गौड़े,पाल्पामा सडक छेउमा सानो सानो झुपडी बनाएर चिया नास्ता र तरकारी बेच्न बसेकाहरुलाइ सहयोग र केहीबेर आराम गर्न रोकियौ। एउटा चिया पसलमा चिया बनाउन लगायौ र हामीहरु बाटोको पारि पट्टि तरकारी पसलमा तरकारी किन्न र प्रचार प्रसारका लागि फोटो र विडियो बनाउन शुरु भयो। त्यहाँ पनि हामी सबैले स्थानीय केरा खादै र धेरै तरकारी खरिद गर्यौ। पसले भाई पनि खुशी भएर हामीलाई केरा खान उपहार दिनु भो। तरकारी रेस्क्यू गाडीमा राखेर चिया खाए पछि पुन हामी आफ्नो साईकल कुदाउदै बुटवल तर्फ लाग्यौ। 



            जुम्सामा नास्ताको व्यवस्था गरिएको संयोजक थिरेंद्र श्रेष्ठले सबै साईकिलेहरुलाइ जानकारी गराएका थिए। जानकारी गराए अनुसार हामी जुम्सा पुल पुगेपछि पछि आउदै गरेका साईकिलेहरुलाई पर्खियौ र त्यसपछि पुल देखि पश्चिम २ किलोमिटर भित्र जंगलमा नयाँ बन्दै गरेको "अरुमा रिसोर्ट" (Aruma Resort) मा रोके पछि बल्ल थाहा भयो कि युवा व्यवसायी अर्जुन कार्कीले आफ्नो एकल लगानीमा शुरु गर्दै रहेछ,उनले नै हाम्रो साईकले टिमलाई दिउँसो को नास्ता खिलाउने भनेका रहेछन,तर सिद्धबाबा सडकखण्ड निकै जाम भएको कारण करिब दिउँसो ५ बजे, उनि पनि हामीसंगै रिसोर्ट प्रवेश गरेका थिए। जाडोयाम छिटो रात पर्ने साथै सडक जामको खबरले हामीहरु आत्तियौ। उनको आतिथ्यलाई पुरा ग्रहण गर्न नसक्ने जानकारी र सफलताको शुभकामना दिदै चिया मात्र खाएर हामी साईकल कुदाउन शुरु गरि हाल्यौ।



          हामी दोभान आई पुग्दा निक्कै सडक जामको अवस्था थियो। तर हामी साईकिले भएकोले त्यति लामो सडक जामले खासै असर हामीलाई परेन। धेरै लामो सवारी साधन जामको बीचबाट हामि सहजै  साईकिलेहरु बुटवल आउन सफल भयौ। त्यसैले साईकल जस्तो उपयुक्त र सजिलो साधन अरु हुदैन। भनिन्छ नि  "Bycycle is a sallution not a pallution" सडक र पर्यावरणको धेरै समस्या केहि हद सम्म साईकलले समाधान गर्दछ। तसर्थ आफ्नो दैनिकी जीवनमा धेरै भन्दा धेरै समय साईकल प्रयोग गरेर स्वास्थ्य पर्यावरणका लागि सहयोगका लागि आज देखि नै साईकल प्रयोग गरौ। 



            झमक्क रात पर्दा हामी बुटवल आई पुगी सकेका थियौ। बुटवल ट्राफिक चोकमा साँझ पख सडक छेऊमा लामो समय देखि मौसम अनुसार कफी,लस्सी,चिया ठेलामा बेचेर गुजारा गर्ने साना पसलेहरु छन्। हामीले एक एक कप कफी पिउने भनेर त्यहाँ रोकी कफी पियौ। जुन ठेलामा हामीले कफी खायौ त्यहाँ उनको बुबाले गर्दै आई रहेको पेशा अहिले दोस्रो पुस्ता छोरा र छोरीले धानेका रहेछन। हामीलाई पनि खुसि लाग्यो। हिजोआजका युवाहरुले स्वदेशमै केहि गर्छु भनेर सानो व्यापारमा दुख गरेर ठुलो सपना देखेका रहेछन। यसरि नै सबै युवाहरुले सानो देखि ठुलो व्यवसाय र व्यापार गर्ने हो भने हाम्रो देशले आर्थिकरूपमा फड्को मार्न धेरै वर्ष लाग्दैन। तर राज्यले ति युवाहरुलाई हरेक प्रकारको सहयोग र साथ दिनु अति आवस्यक छ।     

        हाम्रो साईकल यात्रा सकिन अब मात्र २२ किलोमिटर बाकी रहेको थियो। रात परिसकेको थियो। कफी पिए पछि हामी सबैको साईकलमा लाईट थियो। तर साईकिले बिपिन रेग्मीको नभएको हुनाले राना साईकल पसल पुरन भाईको पसल मिलनचोकमा गएर रोकी साईकल लाईट किनेर आफ्नो गन्तब्य तिर साईकल कुदाउन शुरु भयो। 



          "राना साईकल पसल, बुटवल" जहाँ प्राय हाम्रो साईकलहरु मर्मत र सर्विसिङ्ग हुने गर्दछ। हामीले गत वर्ष भैरहवाका साईकिलेहरुका लागि एक दिने साईकिल सर्विसिङ्ग केम्पको आयोजना गर्दा पनि राना साईकल पसलका धनि,मेकानिक्स पुरन राना र बुटवल साईकल सिटीले सहयोग गरेका थिए। पुरन राना साईकल मर्मत गर्ने देशभरिका दक्ष युवा मेकानिक्सहरुमा एउटा अग्र स्थानमा पर्ने मेकानिक्स हुन्। यस्ता युवाहरुलाई स्थानीय,प्रदेश र संघीय सरकारहरुले तालिम र आर्थिक सहयोग गर्नु पर्दछ। जसको कारण साईकल चलाउनेहरुलाइ सहज र वातावरण स्वच्छ राख्न धेरै सहयोग पुग्ने छ। 

           बुटवलबाट करिब डेड घन्टामा भैरहवा आइ पुगियो। यहाँ आएर हामीले अन्तिम फोटो सेसन गरेर,जहाँबाट साईकल यात्रा शुरु भएको थियो बुद्धचोक, त्यहि गएर हाम्रो रेस्क्यु सवारी साधनलाई पर्खिने काम भयो। त्यसमा हामीले खरिद गरेका सुन्तला,तरकारी,च्याउ र आफ्नो झोलाहरु थियो। केहीबेरमा ति दुवै सवारी साधन आयो र आफ्नो आफ्नो समान लिएर हामी सबै कुनै प्रकारको घटना दुर्घटना नभई राम्रो संग हाम्रो रानीमहल साईकल यात्रा टुंगियो। स्वास्थ्य र पर्यावरणका लागि साईकल भन्ने मूल मंत्र  सहित फेरी आर्को गन्तब्य छिटै नै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्य तय गर्ने बाँचाका साथ धेरै अनुभव,सम्झना र थकाई लिएर विदा भयौ। 



        अन्तमा रानीमहल साईकल यात्रामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु। विशेष धन्यवाद निर्माण व्यवसायी गोविन्द गौतम,PLO Lubricant,Ceat tyre र होटेल पौवा पाल्पालाई दिन चाहन्छु। साथै यात्रा अवधिभर रिस्कुका लागि Eco van,Scarpio pickup,tata pickup उपलब्ध गराउनु हुने साईकिलेहरु बिपिन रेग्मी,विजय खरेल र धरमवीर शर्मालाई पनि धेरै धन्यवाद सहित आभार व्यक्त गर्दछु। विशेषत यो तिन दिने साईकल यात्रालाई सम्पूर्ण व्यवस्थापन सहज र सरल ढंग बाट निर्वाह गर्नु भएका संयोजक साईकिले थिरेंद्र श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद। साथै सम्पूर्ण सहभागी साईकिलेहरुलाई। आगामी दिनहरुमा पनि यसरि नै हाम्रो साईकल यात्रालाई सबैले सहयोग,सुझाव र सल्लाह दिनु हुनेछ भन्ने अपेक्षा गर्दछु। 

    फेरी अर्को साईकल यात्राको कथा सहित हामी भेट हुने छौ।  धन्यवाद।  

 

                   


             

              

               

Post a Comment

أحدث أقدم