अहिले आएर कहिले कहीं एक्लै एकान्तमा बसेर सोच्ने गर्दछु,आखिर यतिका वर्ष मेरा जिन्दगीका सुनौला पलहरु के गरेर बित्यो होला। ति मेरा युवास्था को समय के खेर फ़ालेकै हो त मैले ? यो उमेरमा परिणाम खोज्दा,शुन्य बाहेक केहि देख्दिन। वास्तवमा जिन्दगी शुन्यमा नै व्यतित हुन् जन्मेको हो त ? फेरी आफै सोच्छु होइन होला। यतिका समय यो जिन्दगीले बिताएका पलहरुको उपलब्धि के हात पर्यो त ?
साच्चै मानिसको जिन्दगीमा एक हद सम्मको उमेर व्यतित गरेपछि कसैले नभने पनि आफैले आफैलाई मुल्यांकन गर्दो रहेछ। तर मानिसले ति सुनौला समय त बिताई सकेको हुन्छ। मानिसले जिन्दगीको अन्तिम श्वास नजादा सम्म अनेकौ ईच्छा आङ्कक्षाहरु पालिराखेका हुन्छन। जिन्दगीमा केहि गर्न नसकेको पछुतोलाई मात दिन पनि केहि गर्छु भन्ने जाँगर मानिस भित्र उर्लिरहेको हुन्छ।
फेरी एक मनले भन्छ अहिले सम्म केहि उखाल्पातो लगाउन नसकेको यो जिन्दगीले अब के नै गर्छ भन्ने पनि लाग्छ। त्यसो भनि रहदा मनको कुनै कुनामा धेरै गर्न नसके पनि केहि राम्रो काम त अवश्य गर्न सकिन्छ भन्ने लाग्छ। यस्तै यस्तै दोधारमा मनमा खेलिरहेको कुराहरुलाई पन्छाउदै नयाँ उमंग र जोशका साथ केहि गर्ने संकल्प आफु भित्र जागेर आउछ। फेरी के गर्ने त ? भन्ने प्रश्न आफै सामू ठुलो भएर उभिन्छ। ति प्रश्नको उत्तर खोज्न थाल्छ फेरी यो मन ! मानिसको मन न हो। स्थिर हुन खोज्छ तर कदापी हुन् सक्दैन। हुन् पनि हो मानिसको मस्तिष्कमा एक दिनमा ६० हजार विचारहरु जन्मिन्छ अरे। त्यहि ६० हजार मध्येको यी विचारहरु मभित्र खेलि रहेको छ। विषय दरिलो छ,मेरो आजभन्दा अघिको समय विना उपलब्धि कसरि बित्यो र अब रहेको समयमा के उपलब्धि हासिल गर्न सक्छ र ?
विचारहरुको विचबाट ठोस विचार निक्यौल गर्न म अनि म भित्रको म यानी मनले नै निर्णय गर्नु पर्छ। यदि म र मेरो मनले समयमा निर्णय गर्न सकेन भने फेरी बितेका समय जसरि अरुको सल्लाहको भाङ्ग्तोमा बित्यो। त्यसरी नै विना परिणाम समय बितेर जाने छ। समय भनेको पल पल गरेर वितेर जाने हो। समयलाई संचित गर्ने कुनै यंत्र नै छैन। समयलाई संचित गर्ने यंत्र हुने भए म जस्ता मानिसले यो उमेरमा आएर चिन्तित हुनु पर्ने कुनै आवस्यकता नै थिएन। अझ ढुक्क भएर विना पछुतो बाच्ने जमोर्को गर्ने थियो। किनकी समय त आफुले संचित गरेर जो राखेको छ।
समय हुदा नै मानिसले आफ्नो लक्ष्य,गन्तव्य तय गर्नु पर्दो रहेछ। मानिसहरुको मस्तिष्कमा आउने दैनिक ६० हजार विचारले गर्दा अन्योलको जालमा फस्दा सहि निर्णय गर्न असमर्थ हुदो रहेछ। त्यसैले हरेक मानिसले धेरै थोक एकैचोटी गर्न नसक्दो रहेछ। मानिसले आफ्नो उमेरसंगै जे प्राप्त गर्छ ,त्यसैमा सन्तुष्ट हुनु नै सफलता रहेछ। तर एकथरी मानिसहरु जिन्दगीमा सन्तुष्ट हुनु नै असफलता मान्दा रहेछन। आखिर सफल र असफलताको असली व्यख्या के हो त ? जिन्दगी भनेको कुनै खेल होइन,जहाँ निश्चित समयमा एउटा निर्णायकको निर्णयबाट हारजितको फैसला हुने। जिन्दगी भनेको त समय अनुकुल सललल बग्ने हो ?
आखिर जिन्दगीलाई के संग दाजेर हेर्ने त ? खुसिसंग कि दुखसंग ? सफलतासंग कि असफलतासंग ? धनीसंग कि गरिबसंग ? परिवारसंग कि एक्लोपनसंग ? फेरिपनि के हो त जिन्दगी ? यस्ता धेरै प्रश्नसंग रोम्ली रहेको जिन्दगीलाई आज युवास्थामा केहि गर्न सकिन,त्यसै समय खेर गयो भने मानिसहरुले रोईलो गरि रहनु पर्दैन।
जिन्दगी जति बित्यो बित्यो,जसरि बित्यो बित्यो। अब बाकिको जिन्दगी स्वास्थ्य साथ सधै हासेर व्यतित गर्नु नै यस सुनौलो धर्तीमा जन्मिनुको सार्थकता रहन्छ। वास्तवमा जिन्दगी सोच्ने हो भने धेरै अर्थ लाग्छ,नसोच्ने हो भने शुन्य लाग्छ। जसरी पृथ्वी गोलो छ,अनि आफ्नो सौर्य मण्डलमा घुमिरहन्छ। त्यस्तै हाम्रो जिन्दगी पनि घुमिरहन्छ।समयसंग पृथ्वी घुमिरहे झैँ, जिन्दगीलाई पनि समयसंग मजाले घुम्नु दिनु पर्दछ।
समय संग घुम्नु नै असली जिन्दगी !!!


إرسال تعليق