कोभिड -१९ को असर अहिले सम्म पनि संसारको धेरै जसो देशहरुमा व्याप्त रहेको छ। हुन् त विकसित राष्ट्रहरुले आफ्ना नागरिकहरुलाई खोप लगाउन शुरु गरिसकेका छन्,कतिपय विकासशिल देशहरुमा खोप खरिद गरेर आफ्ना जनतालाई लगाउने अवस्था देखिदैन। तर नेपालले भने आफ्ना नागरिकहरुलाई खोप लगाउन शुरु गरिसकेको छ। यो नेपाल र नेपाली जनतासंगै बहिर्य पर्यटकहरुको लागि खुशीको कुरा हो।
यहि बहुमतको सरकार हो जसले सन् २०३० सम्म नेपाली जनताको वार्षिक आय रु.१२ हजार ५ सय डलर पुर्याउने लक्ष्य लिएको थियो। ति लक्ष्यहरुका लागि कतै कुनै स्पष्ट मार्ग कोरेको देखिदैन। सबै भाषणमा सिमित भएको देखिन्छ। सरकारले घोषणा गरेका २४ राष्ट्रिय गौरवको आयोजनाहरु,जो मुलुकको आर्थिक समृद्धिको कोशेदुङ्गा ठानिएका थिए। ति सबै निर्माणधीन अवस्थामा रहेका आयोजनाहरु समयमा निर्माण नहुदाँ राज्यलाई हरेक वर्ष करिव ३ अर्ब रुपैयाँ भन्दा बढी लागत पर्ने गरेको विज्ञहरु बताउछन।
विभिन्न मुलुकबाट २० लाख पर्यटकहरु नेपाल भित्राउने गरेको योजना पनि असफल भएको देखिन्छ र सरकार आफै कोभिड -१९ को कारण देखाउदै नेपाल आउने पर्यटकहरुलाई रोक्ने प्रयाश गरि रहेको छ । पर्यटनले देशमा आर्थिक विकास र रोजगारीको समस्या हल गर्छ भन्ने सरकार पर्यटन उधोगलाई अझ धरासायी गराउन उन्मुख भैरहेको छ। पर्यटन उधोगलाई सहयोग र टेवा दिने विषयमा गम्भीर भएको देखिदैन। साथै कोभिड -१९ को कारण सुस्ताएको पर्यटन उधोगलाई पुन : ट्रेकमा ल्याउन सकिन्छ भन्ने कुरामा छलफल गरेको देखिदैन। सरकारले आफ्नो तिन वर्ष आफ्ना मान्छेको नियुत्ति र आन्दोलनमा समय खेर फालेको छ।
संसारभरका पर्यटकहरु विभिन्न देशमा मार्च महिना पछि घुम्न जाने तैयारी शुरु गरिरहदा,नेपाल सरकार भने कोभिड -१९ कै कारण देखाउदै नेपाल भित्रिने पर्यटकहरुलाइ रोकी रहेको छ। विशेष गरेर पर्वतारोहण गर्ने पर्यटक आउने मौसम शुरु भैसकेको छ। पाकिस्तानले खोप मात्र लगाए पर्वतारोहण गर्ने पर्यटकहरुलाई प्रवेश दिएको छ। तर नेपालले भने पिसिआर र खोप लगाएको प्रमाण देखाएर मात्र नहुने,अझ पर्यटकले ५ हजार डलरको कोरोना विमा गरेको हुनुको साथै ७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियमहरु लगाएर नाका खुले पनि यस्ता प्रावधानले पर्यटकहरु नेपाल नआउने निश्चित छ। त्यति मात्र कहाँ हो र भारतबाट सडक मार्गबाट हुदै नेपाल घुम्न आउने भारतीय पर्यटकहरु प्राय आफ्ना सवारी साधन सहित आउने गर्दछन। नाका खुले पनि नेपाल आउने पर्यटकहरुको सवारी साधनलाई सीमामा रोक लगाएर फर्काउने काम भएको छ।
संसारका अन्य मुलुकका पर्यटक भन्दा नेपाल आउने पर्यटकहरुको तत्थ्याङ्क हेर्दा भारतीय पर्यटकहरु नै बढी देखिन्छ। तर नाकामा यस्ता अनावश्यक प्रावधान लगाउदा नेपाली पर्यटन व्यवसायीहरु अधिक मारमा परेका छन्। भैरहवाका पर्यटन व्यवसायीहरु सिद्धार्थ होटेल एशोसियन,सिद्धार्थनगरको नेतृत्वमा विभिन्न संघसंस्थाको सहकार्यमा नेपाल आउने पर्यटकहरुको सहज आवागमनका लागि नाकामा धर्ना सहितको आन्दोलन गरि रहेका छन्। नेपाल भारत सीमामा सहज आवतजावत नहुदा नाकाको दुवै तर्फ व्यापार व्यवसाय राम्रो संग नचल्दा भारत तर्फका व्यापारीहरुले पनि धर्नामा साथ दिएका छन्।
पर्यटनबाट नेपालमा १० लाख भन्दा बढीले रोजगार पाएका छन् भने अप्रत्यक्ष रुपले २० लाख भन्दा बढीले जीवन निर्वाह गरेका छन्। लगानी १५ अर्ब भन्दा बढीको रहेको तत्थ्याङ्कले देखाउछ। अहिले कोरोना र यस्ता अघोषित नाकाबन्दीले पर्यटन क्षेत्रमा १० अर्ब रुपिया गुमेको छ भने कोभिड -१९ का कारण ११ महिनामा १ खर्ब १० अर्ब रुपिया नेपालले कमाउन बाट बन्चित भएको छ। तर पनि सरकारका नुमाइन्दाहरु बेखबर झैँ गरि कार्यालयमा चियागफ गर्दै बसीरहेका छन् भने अर्को तर्फ सोझा नेपाली जनतालाई राजनैतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्ने भन्दै टोल टोलमा राजनैतिक पार्टीका नुमाइन्दाहरु कुर्लिरहेका छन्।
हाम्रो मुलुक आज सम्म रेमिटान्स र पर्यटनको आम्दानिबाट नै चलेको छ भन्दा अन्यथा नहोला। त्यसैले आर्थिक क्रान्ति नै गर्ने हो भने अहिले कोभिड -१९ को खोप नेपाली जनतालाई छिटो भन्दा छिटो सर्वासुलब तरिकाबाट उपलब्ध गराउनु पर्छ र अन्य देशबाट आएको पर्यटकहरुलाइ खोप लगाएको प्रमाण देखाए नेपाल प्रवेशमा सहज गरि दिनु पर्दछ। कोभिडको कारण मारमा परेको पर्यटन क्षेत्रलाइ माथि उठाउन सरकारले विशेष ध्यान दिनु पर्दछ। साथै हिजो घोषणा गरेको राहतका पकेज व्यवसायीहरुलाई तुरुन्त उपलब्ध गराउन पर्दछ।
नेपालमा आर्थिक वर्ष २०३१/३२ देखि मात्र रेमिट्यान्स को विवरण राख्न थालेको पाइन्छ। आर्थिक वर्ष २०३१/३२ मा २० करोड रेमिट्यान्स नेपाल भित्रिएको थोयो। त्यस यता उल्लेख्य वृद्धि हुदैं आएको छ। आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो। भने आर्थिक वर्ष २०७६/७७ को जेष्ठ मसान्त सम्ममा ७ खर्ब ४४ अर्ब ८७ करोड देखिन्छ। नेपालले भरात बाट १ अर्ब २८ करोड रेमिट्यान्स भित्राउदो रहेछ भने ३ अर्ब ६० करोड नेपाल बाट भारत जाँदो रहेछ।
रेमिटान्स पठाउने युवाहरु कोभिड -१९ का कारण अन्य देशबाट रोजगार बन्द भएर नेपाल फर्की सकेका छ. जसले देशका लागि रेमिटान्स पठाउने गरिरहेका थिए। अब नेपाली युवाहरु पुन: रोजगारीका लागि ति देशमा फर्किने अवस्था तत्काललाई देखिदैन। त्यसैले नेपाल सरकारसंग पर्यटन उधोगलाई प्रोत्साहन गर्ने बाहेक अरु कुनै विकल्प छैन। सरकारले पर्यटन उधोग र पर्यटन व्यवसायीहरुलाई अहिले परेका समस्या मात्र समाधान गरि दिए आउने दिनका सम्भावानाका बाटाहरु खुल्ने थिए। जसले सरकारलाई हुने आय,विरोजगारी समस्या,थलो परेको पर्यटन व्यवसाय आफ्नो ट्रेकमा सुचारु हुनेछ।




Post a Comment