" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

       

             नेपाल सरकारले भर्खर अन्तराष्ट्रिय लगानी सम्मेलन सकेको छ। कति उपलब्धि भयो भएन भन्ने कुरा त विभिन्न रिपोर्ट र मिडियाले गरेको विश्लेषण नै काफी छ। सम्मेलन हुनु अघि नै भएको केही प्रोजेक्टको सम्झौताहरुलाई  लगानी सम्मेलन मार्फत आएको हो भनेर देखाउन घोषणा गरिएको धेरै अर्थविदहरुको भनाई छ। जे होस् कार्यक्रम हुनु पनि सकारात्मक संदेश जानु हो। एकै पटकमा सफल कोही पनि हुदैन। तर यस्ता कार्यक्रमहरुको निरन्तरता भने सरकारले दिई रहनु पर्दछ। 

          कामले काम सिकाउछ भन्ने नेपाली उखान नै छ। त्यस उखानलाई ध्यानमा राखेर यसरी कार्यक्रम गरि रहनाले पनि देशले प्रगति कुनै बिन्दुमा अवश्य गर्ने छ,आशा गरौ। हो अहिले देशमा बढी बेथति बढेको छ,त्यसको कारण नेता मात्र हो त अवश्य होइन,जनताको पनि केही सहभागिता रहेको हुन्छ। जनताले राम्रा कुरा र ईमान्दार नेतालाई सहयोग र साथ दिएको भए यस्तो बेथिति मौलाएर जाने नै थिएन। राजनीतिले गर्दा नै देश  खत्तम भयो भनेर सबैले भन्ने गर्दा सबैलाई लाग्न सक्छ ,हो त देश खत्तम नै भयो। तर त्यसो होइन। हो केही विकृतिहरु बढेर गएको भने पक्कै हो। 

          युवाहरु विदेश जादैमा देश खत्तम हुन्छ भन्नु जहाँ सम्म लाग्छ गलत हो। हो अहिले देशमा भएका युवाहरूको जनसख्या अनुसार रोजगारी उपलब्ध नहुनु  समस्याको ठुलो कारण मध्ये एक हो। हो यही समस्याको समाधान बारे हामीहरुले सधै विचार,बहस,तर्क वितर्क गर्ने हो भने समाधान हामी नेपालीहरुले नै निकाल्न सक्छौ। हामीले यस्ता कुराहरुमा बहस,छलफल नगर्ने अनि अरुलाई दोष दिने। दोषको बहस गरि रहने राष्ट्रिय अजेण्डा नै बनेको छ। 



        अहिले काठमाडौँ नगरपालिकाले ५००० युवाहरुलाई स्वदेशमा रोजगारी दिने घोषणासंगै तामिल दिन शुरु गरेको छ। त्यसैले काठमाडौँ नगरपालिका लाई हामीले धन्यवाद दिनै पर्छ  किनकी नगरपालिकाले साना काम  हरुको तालिम दिएर  विरोजगार युवाहरुलाई सक्षम र योग्य बनाउदै छ। अहिले पनि हामीले हेर्ने हो भने हाम्रै वरपर धेरै साना साना रोजगारहरु  धेरै उपलब्ध छन्। तर युवाहरुले विदेश जाने मात्र सोच राख्दा देश नै खत्तम छ भन्ने भाष्य तैयार भएको छ। 

         सामान्य कुरा गर्ने हो भने हामीले लगाएको लुगालाई कुनै प्रकारको सामान्य मर्मत गर्नु परे मर्मत गर्ने ठाउँ भेट्दैनौ ,चाहे गाउँमा होस्अ या शहरमा। यदि हामीले त्यही फाटीएको च्यातिएको लुगा सिउने सानो पसल खोले ,घरमा बसेर थोरै भए पनि आम्दानी गर्न सक्छौ। अर्को अहिले हरेक मानिससंग मोबाईल छ,त्यसैको मर्मत गर्ने पसल अति आवश्यक भई सकेको छ। यस्ता धेरै साना साना कामहरु छन् जो हामी हाम्रा युवाहरुलाई केही महिनाको तालिम दिएर स्वदेश मै आत्मनिर्भर बनाउन सक्छौ। जुन काठमाडौँ महानगरपालिकाले शुरु गरेको छ। तर स्वदेशमा त्यस्ता साना कामले केही हुदैन भन्दै युवाहरुलाई विदेश पठाउने जुन चलन शुरु गरेका छौ त्यही नै गलत हो। 

             सामान्य सार्वजनिक यातायातमा कती यातायात मजदूरहरुको आवश्यकता रहेको छ तर सरकारले समयमा चालक अनुमति पत्र दिन नसक्दा धेरै युवाहरु शिप हुदा हुदै पनि अन्यत्र भौतारिन बाध्य भएका छन्। खास गरेर हरेक निकायमा भ्रष्टाचार व्याप्त हुनु पनि एउटा मुख्य कारण रहेको छ ,जसले गर्दा सबै सेवाग्राहीको पहुँच समयमा पुग्न सकेको छैन। जसले गर्दा नेपाल मै केही गरेर जिवोकोपार्जन गर्छु भन्ने हरु पनि विदेश जाने लाईनमा उभिन पुगेका छन्। 

            कुनै पनि देशलाई जहिले पनि प्रगति तिर लाने भनेकै व्यापार,व्यवसाय र उधोगले हो। तर सरकारको ध्यान त्यतातिर कहिल्यै जान सकेन। जसको कारण धेरै रोजगार उपलब्ध हुन् सकेको छैन। जब सम्म सरकारले उधोगी,व्यवसायी र व्यापारलाई पहिलो प्राथमिकता राख्दैन तब सम्म देशले फड्को मार्न सक्दैन। सबै भन्दा पहिला सरकारले देश भित्र कस्तो उधोग,व्यापार र व्यवसाय चलायमान गर्न  सकिन्छ। त्यो किसिमको वातावरण सरकारले बनाई दिनु पर्छ। 

           जब सम्म व्यवसायीहरुलाई सहुलियत र सुविधा सरकारले उपलब्ध गराउन सक्दैन,तब सम्म देशमा विरोजगारहरुको संख्या दिन प्रति दिन बढ्दै जानेछ। जसको कारण युवाहरु गाउँबाट शहर र शहरबाट प्रदेश पलायन हुदै जानेछन। जसको फाइदा देशलाई भन्दा युवाहरु पुग्ने विदेशलाई बढी हुनेछ। त्यसैले अब युवाहरुलाई माटो सुहाउदो शिक्षा र तालिम दिनु पर्दछ र रोजगार सिर्जना गर्न उधोगी,व्यवसायीलाई प्रोत्साहन दिनु पर्दछ। 

         साथै सरकारले जहिले पनि आफुले शुरु गरेको कुनै पनि योजनाहरु समयमा सम्पन्न  गर्नु पर्दछ। जसको कारण जनता आफैले पनी देश विकासमा हातोमालो गर्न सक्दछन। जस्तो सरकारले घोषणा गरेका योजनाहरु सडक,नहर,खानेपानी ,अस्पताल,विद्यालय,एयरपोर्ट आजसम्म समयमा निर्माण सम्पन्न भएको छैन। ढिलो गरी निर्माण सम्पन्न गरे पनि संचालन हुदैन। जसले गर्दा स्थानीय स्तरमा सिर्जना हुने रोजगारीलाई युवाहरुले पर्खदा पर्खदै निराश  हुने गर्दछन। जसको कारण देश खत्तम छ भन्दै पासपोर्ट लिन तिर दगुर्न शुरु गरेका हुन्। 

           देश खत्तम हो त होइन नि ! यहाँ त हामी अनि हाम्रा नेता र हाम्रा कर्मचारी सबै खत्तम हुन्। त्यसैले सबैले पहिला देश प्रति गर्व गरौ र म म भन्दै इमान्दारिताका साथ काम गरौ। देश विकाश हुन् कुनै बेर लाग्दैन। अहिले पनि केही बिग्रेको छैन,जति युवाहरु विदेश पढ्न गएका छन्,ति युवाहरुले विदेशमा शिप सिखेर फर्किने वातावरण देश हाक्ने नेता र देश चलाउने कर्मचारीले आज देखि शुरु गरि दिनु पर्छ। अनि नेपाल बसेका शिप भएका या नभएका युवा होस् या वृद्ध फाल्तु बहस गरेर नबसौ। जे सकिन्छ त्यो गरौ।  आफ्नो विकासका लागि जे काम गरे पनि पछि त्यहि देश विकासका लागि काम आउछ। 



         अब के गर्ने भन्नु होला,शहरमा बस्ने शहर सफा राख्ने,गाउँ बस्नेले कृषि कर्म गर्ने। साथै शिप अनुसारको उत्पादन शुरु गर्ने। जसको लागी सरकार हाक्ने र चलाउनेले नेपालमा भएका जनतालाई के कसरी सुविधा दिन सकिन्छ त्यो दिनलाई रातदिन तल्लिन भएर कार्य गर्ने। यदि गाउँमा बस्नेले दुध र तरकारी धेरै उत्पादन गर्दछन भने बजार व्यवस्थापन सरकारले गरि दिने। शहर र गाउँमा बाहिर्य र आन्तरिक पर्यटनलाई कसरी आकर्षित गर्न सकिन्छ। त्यसका लागी नीति नियम सहज बनाउने साथै भौतिक संरचना सरकारले समयमा तैयार पारि दिने। अनि कसरी हुन्छ देश खत्तम ? अनि कसरी फर्किदैनन् देश बाहिर गएका हाम्रा युवाहरु ?

        स्वदेशमा आफ्ना जनतालाई बस्ने वातावरण बनाई दिने देश हाक्ने र चलाउने नै हो। जनताको पनि ठुलो भूमिका रहन्छ। तर जनता,जनता नभएर विभिन्न पार्टीका कार्यकर्ता भएका कारण नै आफैले आफ्नो खुट्टामा बिगत लामो समय देखि बन्चरो हानि रहेका छन्। अनि देश खत्तम भयो भन्ने ? अब पनि हामी हाम्रो देश प्रति चनाखो र  इमान्दार नहुने हो भने देश त रहला तर अहिले देश हाक्ने र चलाउनेहरु बाहिर हुनेछन। देश चलाउन बाहिरका भित्र आउनेछन। त्यसैले समयमा सबै सचेत बन्ने होइन त  ? कि देश खत्तम भयो भन्दै गफ हाक्ने  !

               

1 Comments

  1. हिजो पोस्ट गरेको मेरो लेख पढने सबै महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दछु ।कुनै सुझाव सल्लाह भए राखी दिनु अनुरोध गर्दछु ।

    ReplyDelete

Post a Comment

Previous Post Next Post