" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।


      


      देशको अवस्था अब सुध्रिन्छ,अब सुध्रिन्छ भन्दा भन्दै युवाहरु भगाभग विदेश जान थालेका छन् । शायद धेरै देशका युवाहरु पनि यसरी नै विदेश लागेका होलान। तर नेपालका युवाहरु देश नफर्किने गरि विदेश जाने गरेका छन् । कारण देशमा पटक पटक आमुल परिवर्तनका लागी भन्दै गरेका आन्दोलनबाट कुनै उपलब्धि प्राप्त नहुने देखे पछि नेपाली युवाहरु निराश भएर आफ्नो मातृभूमी सदाका लागी माया मारेर जान तैयार भएका छन्। यो देशका लागी अति गम्भीर विषय हो। तर यहाँ देश हाक्नेहरुले अझ पनि आन्दोलन सकिएको छैन भन्न पछि पर्दैनन्। कुर्सीको दौडमा मात्र आफुलाई व्यस्त राख्ने नेतृत्वले देश र जनताका लागी कहिल्यै सोचेनन।  

       हिजो आन्दोलनले गर्दा पुरा पढ्न नपाएका युवाहरु मात्र खाडी मुलुक जाने गर्दथे। तर अहिले १२ कक्षा पास गर्ने बित्तिकै नेपाली युवाहरु आफ्नो भविष्यको बेसरी चिन्ता गर्दै खाडी छाडेर अन्य मुलुकमा जान नेता जस्तै रोम्ल्ली रहेका छन्। उच्च शिक्षाका लागी भन्दै दिनहुँ हजारौ शिक्षित युवाहरु देशबाट पलायन भएका छन्। आफ्नो भविष्यको चिन्ता गर्नु राम्रो हो। तर देश र परिवारलाई नै माया मार्नु चाहि कतिको जायज हो एउटा गम्भीर बहसको  विषय बनेको छ नेपाली समाजमा। के शिक्षित,के अशिक्षित,के खेलाडी,के कर्मचारी लगभग सबै क्षेत्रका युवाहरु देश भित्र उज्जवल भविश्यको आश मारेर हरियो पासपोर्ट हातमा लिएर विदेश जाने गरेका छन्। 

        कुनै पनि यस्तो क्षेत्र छैन जहाँ युवाहरुको भविश्य सुरक्षित होस्। सुरक्षित हुदा नहुदै पनि हरेक क्षेत्रमा नेपाली युवाहरुले धेरै चेष्टा गरेका हुन। तर सरकारको कुनै पनि नीतिले युवाहरुले गरेका कामलाई न कुनै सुरक्षा दिएको छ,कुनै मुल्यांकन नै गरेको छ। सरकारले गरेको छ त सरकारी कागजमा मात्र। सरकारी कागजमा युवाका लागी निर्णयहरु धेरै गरेका छन्। ति निर्णयहरुको कार्यानयन कहिल्यै कसैले गर्दैनन्। सके सम्म युवाहरु केही नगरी तिनका पछि पछि लागेर उनको झन्डा बोकेर हिडून भन्ने चाहना ति नेतृत्व तहको रहन्छ। 

      घर घरबाट युवाहरु विदेश गए पछि ति युवाहरुलाई हुर्काउने उनका बुबा-आमा अहिले देशभर टुहुरा झैँ घरमा एक्लो जीवन बिताउन बाध्य भएका छन्। सरकारले ति बुबा आमाका लागी पनि कुनै ठोस योजना र सुविधा उपलब्ध गराउन सकेको छैन। उनीहरु पनि बाहिर आफ्ना छोराछोरी विदेशमा गएर कमाएको खुशी देखिएता पनि मनभित्र कहिल्यै खुशी भएको देखिदैन। आज जीवनको अन्तिम चरणमा छोरा-छोरी विहिन भएर टुहुरा झैँ बसेका छन्। सरकारले जनताबाट लिनु पर्ने सबै दायित्व उठाई रहेको छ। तर सरकारले गर्नु पर्ने आफ्नो कर्तब्य जनताप्रति  कहिल्यै गरेको देखिदैन। 

      आज युवाहरु देशबाट रित्तिदै गर्दा पनि कुनै पनि सरकारले युवाहरुलाई देशबाट पलायन हुन् बाट रोक्न बजेटमा ठोस व्यवस्था गर्नु पर्छ भन्ने सोच नगर्दा झन् युवाहरु आक्रोशित बन्दै विदेश गएर नेपालमा पैसा नपठाउने धम्कि सम्म नेपाल सरकारलाई दिन थालेका छन्। देश आजसम्म चलेकै रेमिटान्स र विदेशिदाताको सहयोगले नै हो। नेपालमा पैसा नपठाउने निर्णयले देशको मात्र होइन नेपालमा भएका उनका बुबाआमाको स्थिति के हुन्छ भन्ने सरकारले के सोचेको छ त ? चार हजारको वृद्ध भत्ताले अहिलेको महंगाईमा उनीहरुको दैनिकी गुजारा हुन्छ त ? अनि हुदा हुदा युवा मात्र होइन नेपाली बुबाआमा पनि संगसगै विदेश पलायन हुने सम्भावना बढेर जानेछ। 

      हो त्यसैले तिनै तहको सरकारले व्यवसायमा लागेका युवाहरुलाई कसरी हुन्छ,उनीहरुलाई नेपालमै व्यवसाय गर्न प्रोत्साहन गर्नु पर्दछ। त्यसको लागी व्यवसाय गर्ने वातावरण बनाई दिनु पर्दछ। जुन युवाले व्यवसाय गर्न चाहन्छ ,उनलाई प्रशासन देखि आर्थिक सहजता मिलाई दिन छुट्टै निकाय बनाउनु पर्दछ। युवामा भएको उर्जा देशले सहि सदुप्रयोग गर्न सक्नु पर्छ। उनीहरुको उर्जा देशले उपयोग नगर्दा विदेशीले सस्तोमा प्रयोग गरी रहेको छ। देश बनाउने नै युवाहरुले हुन्। जबसम्म युवाहरुले देशका लागी आफ्नो जोश जागर देखाउदैनन तब सम्म कुनै पनि देशको विकास हुन् सक्दैन। 

    अहिले पनि केही बिग्रेको छैन। अझ पनि युवाहरुलाई देश भित्र कृषि,उधोग,व्यापार,टेक्नोलोजी,शिक्षा,चिकित्सा र खेल क्षेत्रमा लगाउन सकिन्छ। तर तिनै तहको सरकारले युवा नीति तुरुन्तै स्पष्ट रुपले लागु गर्नु पर्दछ। होइन भने जुन देशमा युवा हुदैन त्यो देशले कहिल्यै कुनै पनि कुरामा पड्को मार्न सक्दैन। सबैलाई हरेक कुरामा युवा चाहिने तर युवाका लागी कसैले केही दिन नखोज्ने हो भने युवाहरु आफ्नो देश भनेर किन बसी रहन्छन ? पलायन हुदैछन नेपाली युवाहरु,रोकौ उनीहरुलाई देशमै रोकौ। उनीहरुलाई रोक्न घर देखि नै देशमा बस्ने वातावरण तैयार पारि दिऊ। अनि त्यसपछि स्थानीय,प्रदेश र संघीय सरकारले युवा देशका कर्णधार हुन् भनेर युवा नीति तत्काल लागु गरौ।  

         युवा हाँसे परिवार हाँस्छ,अनि समाज  हाँस्छ ,त्यसपछि पुरा देश हाँसेको देखिन्छ। 

Post a Comment

أحدث أقدم