" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

    


         नेपालमा साइकल सबै उमेर समुहको लागि उपयुक्त सवारी साधन हो। बेला बेलामा विभिन्न कारणले नेपाल बन्द हुने हुदा पनि आवतजावतको लागि बाध्यतावश साइकल चढ्नु पर्ने भएको छ। जे होस् अहिलेको लकडाउनले शहरी क्षेत्रमा स्वास्थयको लागि साइकल चलाउनेहरुको संख्या दिन प्रति दिन बढी रहेको छ। साइकल चलाउनु तराइको ग्रामिण क्षेत्रमा बाध्यता हो भने शहरी क्षेत्रमा शौक र रहर भएको छ। 

        साइकल बजारमा विभिन्न प्रकारको पाइने गर्दछ। मानिसहरु आफ्नो आवस्यकता अनुसार साइकल किन्ने गर्दछन। किसानहरुले साइकल कृषि र ढुवानी कार्यको लागि प्रयोग गरेको पाइन्छ। नेपालको ग्रामिण क्षेत्रमा सार्वजनिक यातायातको असुविधाको कारण गाउँका जनताहरु शहरी क्षेत्रमा आउजाउ प्राय साइकलमा नै गर्ने गर्दछन। उच्च शिक्षाको लागि शहर आउनु पर्ने बाध्यताले पनि गाउँका विधार्थीहरु शहर क्याम्पस पढ्न साइकलमा आउने गर्दछन। कतिपय तराइको दुर्गम गाउँमा साइकल एम्बुलेन्स रुपमा प्रयोग गरिन्छ। 

       शहरी क्षेत्र विभिन्न कारणले बन्द हुने हुदा बन्दको समयमा साइकल अति उपयोगी सवारी साधन हुने गर्दछ। किन कि साइकल र साइकल चालकलाई कुनै पनि बन्दले अनि बन्दकर्ताले रोकतोक गरेको पाइदैन। साथै बन्दको समयमा प्रशासनले पनि छुट या अनदेखा गरिदिने गर्दछन। जसको कारण शहरी क्षेत्रमा बन्दको समय साइकल धेरै गुड्ने गर्दछ। 



      शहरमा प्राय बच्चाहरु हुर्किदै जादा उसको उमेर अनुसारको पहिलो खेलौना नै विभिन्न प्रकारको साइकल हुने गर्दछ। हिजो आज शहरी बच्चाहरुले आफ्नो जन्मदिनमा आफ्ना अभिभावकहरुसंग उपहारको रुपमा साइकल नै माग्ने गरेका छन् । अहिले शहरी क्षेत्रमा विशेष गरेर युवाहरु साइकल प्रति आकर्षित भैरहेका छन्। छ महिनाको लामो लकडाउनले शहरी युवाहरु मात्र नभई पाका उमेरका मानिसहरु पनि आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न साइकल प्रयोगमा रुचि लिन थालेका छन्। लकडाउनको समयमा साइकल स्वास्थ्यको लागि मात्र नभई अन्य कामको लागि पनि उपयोगी हुनाले महंगा साइकल मन फुकाएर किन्ने गरेका छन्। 

       साइकल प्रयोगले धेरै फाइदा मानव जीवनमा हुने गर्दछ। अष्ट्रलियामा गरेको एक रिपोर्ट अनुसार घरबाट कार्यालय साइकलमा जाँदा एक लाख ३३ हजार बचत भएको देखाएको छ। साथ साथै साइकल चलाउनेहरु ८९% खुशी र आशावादी छन् भने अन्य साधन चलाउनेहरु ३५% मात्र खुशी र कार चलाएर कार्यालय जानेहरु सडकमा हुने ट्राफिक जामको कारण मानसिक रुपले तनाव र रिसाह हुने गरेका छन्। 

       भारतका डा.सुभाष चन्द्रा अनुसार यदि मानिसले ५०/५५ वर्ष को उमेरबाट निरन्तर साइकल चलाउन शुरु गर्नाले आउने ७० वर्षको उमेर सम्म ह्रदयघात ३०% ले कम हुने बताउछन। साथै मधुमेह रोग हुनेहरुलाई पनि साइकल फाईदाजनक रहेको उनको भनाई रहेको छ। 



       अहिले धेरै शहरमा देखिएको सवारी साधनहरुको पार्किंग समस्या र सडक दुर्घटना न्युनिकरणमा साइकल प्रयोगकर्ताको अहम भूमिका रहन्छ। तर २०१६ मा सयुंक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको निर्देशन अनुसार सडक निर्माणको वार्षिक बजेटको २०% साइकल लेनको लागि छुट्टाउनु भने पनि दक्षिण एसियाका राष्ट्रहरुले कर्वानयन गरेको पाइदैन। 

         कतिपय युवाहरु साइकल खेल प्रतियोगिताका लागि व्यक्तिगत रुपमा आफुलाई तैयार गर्दै दिनहु अभ्यास गरिरहेका छन्। तर नेपालमा साइकल खेल प्रतियोगिता एकदमै कम हुने गर्दछ। सरकारले पनि साइकल खेल प्रति त्यति चासो लिएको देखिदैन। यदि सरकारले साइकल खेल र लेनमा ध्यान दिने हो भने धेरै विदेशी साइकल पर्यटक अनि खेलाडी नेपाल आउने सम्भावना रहेको छ। साचै नै भन्ने हो हाम्रो देश नेपाल साइकल मै आनन्दका साथ घुम्न सकिन्छ। 

       नेपालमा साइकल चलाउने सडक र सामाजिक वातावरण बनिसकेको छैन। तर अहिले कोरोना भाइरस का कारण भैरहेको लकडाउनले सामाजिक दुरी (भैतिक दुरी ) कायम गर्न र संक्रमित हुनबाट बच्न साइकल प्रयोग गर्नेहरुको संख्या दिनप्रति दिन बढिरहेको छ। अझ साइकलको महत्व र आवस्यकता हामि सबै नेपालीहरुले बुझौ भने हामि सबै नेपालीहरुको भलो अवस्य हुने थियो। अहिले जसरी देशको ढुकुटी पेर्टोलियम पदार्थ खरिदमा अरबौ रुपिया अन्य देशमा जाने गर्दछ। धेरै हदसम्म हामीले साइकल प्रयोग गर्नाले कमि गर्न सक्छौ। साथै वातावरण प्रदुषण हुन् बाट रोक्न सकिन्छ। 



         अब नेपालभरका साइकल प्रेमीहरु एक जुट भै हरेक शहर र गाउँमा साइकल लेनको बारेमा बहस,छलफल र स्थानीय सरकारसंग पहल गर्नु अति जरुरि छ। विशेष गरेर भौतिक मंत्रालय र स्थानीय सरकारले अहिले बनिरहेको नया सडक र बनि सकेका पुराना सडकहरुमा साइकल लेन अनिवार्य गराउनु पर्दछ। देशभरका नगर र गाउँपालिकाले हफ्तामा एक दिन साइकल प्रयोगमा जनतालाई प्रोत्साहन गर्नु पर्दछ। जसको कारण स्वास्थ्य र वातावरणमा धेरै सहयोग पुग्ने छ। यो कुरा अहिलेको देशभर भएको लकडाउनले पनि हामि नेपालीलाई पाठ सिकाएको छ।   

          अब सरकारमा बस्नेहरुले साइकल मिडियाको लागि मात्र प्रयोग नगरेर आफ्नो स्वास्थ्य र देशको ढुकुटी बचाउन सधै प्रयोग गर्नु पर्दछ। वातावरण र सडक दुर्घटना कम गर्न हामि सबैले पनि साइकललाइ यातायातको पहिलो साधन  सम्झिदै सधै चलाउनु पर्दछ।  

1 تعليقات

  1. आफ्नो स्वास्थ्य र वातावरण का लागि साईकल आजदेखि नै चलाउन शुरू गरौ ।

    ردحذف

إرسال تعليق

أحدث أقدم