मुलुकमा पटक पटक आन्दोलन भएता पनि नेपाली जनताले सुखका दिन कहिल्यै भोग्न पाएका छैनन्। शायद सत्तामा भ्रष्टहरुलाई पुराउने ठुलो हात जनता कै हुनुपर्दछ। यदि जनताले चुनावमा मत दिदा विचार पुराएको भए भ्रष्ट र भ्रस्टाचार यति विध्न बढ्ने थिएन। भ्रस्टाचार बढ्दा आर्थिक बजार तलमाथि हुने गर्दछ। भ्रस्टाचारले सबै भन्दा नोक्शानी आखिर जनतालाई हुने हो। सिधै जनतालाई असर न देखिएता पनि गरिखाने जनता सधै मारमा परि रहेका छन्।
गरिखाने जनताको श्रमको मूल्य बढ्नु भन्दा बढी बजारको मुल्यवृद्धि बढाउने सरकारलाई पटक पटक सरकार संचालनको लागि चुनावमा जिताउनु मतदाताको नै कमजोरी देखिन्छ। तर अचम्म ! नेपाली जनता चुनाव पश्च्यात जति दुख, कष्ट र महंगाई भोग्नु परेपनि चुनावको बेला सबै थोक बिर्सेर तिनै भ्रस्टचारी नेतालाई जिताउन तैछाढ़ मैछाड़ गर्ने गर्दछन। उनकै पछि पछि लागेर बढी भन्दा बढी मत खसाल्न जे गर्न पनि तैयार देखिन्छन। त्यति मात्र कहाँ हो र उनको स्वार्थफुर्तीका लागि आफ्ना सारा काम छाडेर आन्दोलन पनि गर्ने गरेका छन्। भ्रष्ट नेता जेल परेर छुट्दा पनि ३५ किलोको फूलमाला लिएर जेलको गेट अघि उभिने गर्दछन।
अनि फुर्सतमा यी चोर नेताहरुले देश लुटेर खाने भए भन्दै चियापसलमा आफ्नो बचे खुचेको पैसाले चिया खादै गफ चुट्ने गर्दछन। देशमा जब जब संकट पर्दछ,त्यहीबेला यी भ्रष्ट नेताहरुको कमाइ हुने मौसम शुरु हुने गर्दछ। जनतालाई चुनावको बेला यो गरिदिन्छु त्यो गरिदिन्छु भन्ने नेताहरु चुनाव जितेपछि कसरि हुन्छ आफ्नो भकारी भर्ने दाउमा हुने गर्दछन। आज सम्म हरेक क्षेत्रमा यदि नेताहरुले इमान्दार साथ भ्रस्टाचार नगरी आफ्नो कर्तब्य मात्र निर्भाह गरेको भए देश आज विकसित रास्ट्रको पक्तिमा उभिने थियो। तर भ्रष्ट नेताको भ्रष्ट सोचले भ्रष्ट नीति बनाउछन अनि भ्रष्ट कार्वान्यन गर्दा पनि जनता मूकदर्शक भएर हेर्ने बाहेक केहि गर्न नसक्ने अवस्थाको चौबाटोमा उभाइ दियेका छन् जनतालाई।
लाजशर्म पचाएका यी भ्रष्टहरुले आफु बच्ने उपाय या जनताको आँखामा छारो हाल्न अनेक नीति पनि बनाएका छन्। ति नीति लागु गर्न फेरी आफु जस्तै भ्रष्ट कर्मचारी ठाऊ ठाऊ मा परिचालन गरेका छन। जसको सहयोगमा निर्धक्क भ्रस्टाचार गर्न कम्मर कसेर लागेका छन्। यिनलाई भ्रस्टाचारको अभियोग बेला बेलामा लाग्ने गरेता पनि सबै मिलिजुली खाने हुनाले कम समयमा छुट्ने मात्र होइन,तिनले त वैधानिक प्रमाणपत्र पनि प्राप्त गर्ने गर्दछन।
अब नेपाली जनताले भ्रष्टहरुलाई नामेट गर्न मत दिनु अघि सवैधानिक व्यवस्था केहि कुरामा गर्नु अति जरुरि छ :- १. भ्रस्टाचारलाइ देशद्रोह सरह सजायको व्यवस्था सम्विधानमा हुनु पर्दछ।
२.भ्रस्टाचार ठहर भएमा सबै सम्पति राष्ट्रियकरण हुनु पर्दछ।
३. कुनै पनि नेता या दलले आफ्नो घोषणापत्र अनुसार कार्य नगरे "राइट टु कोर्ट " को अधिकार जनतालाई हुनु पर्दछ।
अब जनताले भ्रष्ट नेताहरुको लागि होइन,आफ्नो लागि सङ्गठित र आन्दोलित हुने बेला भैसक्यो। होइन भने सधै भ्रष्ट नेताहरुको चाकरी र गुलामीमा जीवन लिला समाप्त हुदै जानेछ। यी कुराहरु सबै नेपालीहरुले बेसरी बुझेका र जानेका हुन् तर सधै आफ्नो स्वार्थमा मस्त हुनेको फाइदा ति भ्रष्टहरुले लि रहेका छन्।

إرسال تعليق