" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।


          
    देश र जनताको आवश्यकता भन्दा पनि अमुक नेता र दलको सनकको भरमा पटक पटक आन्दोलन र सत्ता परिवर्तन हुने चलनले आजसम्म देशले विकास र जनताले सम्मान अनि साँचो अधिकार पाउन बाट सधैँ बन्चित हुदै आएको छ। सोझा नेपाली जनतालाई देखाएर देश भित्र अनि बाहिर भजाएर खाने रित नै बसाली सकेका छन्। त्यही रितलाई तोड्न भनेर नयाँ नयाँ फंडाका साथ नयाँ रुपमा खरानी धसेर निस्केकाहरुको पनि चाल निको देखिदैन। 
   
       राजनीतिले देशलाई जहिले पनि प्रगति,विकास र शान्तितिर उन्मुख गराउनु पर्ने हो तर नेपालमा अशान्ति,दुर्गति र द्वन्दमा लैजाने कुटनीति मात्र लागु गर्ने देखिएको छ। हिजो देखि आज सम्म भएका आन्दोलन र द्वन्दले नेपाली समाज एक प्रकारले छिया छिया भई सकेको छ। अझ पनि देश र जनताका लागि भनेर लाज पचाएर अघि सर्नेहरुको ताती नै देखिन्छ। 
        ल मान्नु होस् आजसम्म भएका आन्दोलन र द्वन्दको उपलब्धिमा नेपाली जनताले के प्राप्त गरेका छन् त ? उत्कृष्ट संविधान ! त्यहीं संबिधानमा लेखिएका मौलिक हकमा भएका बुंदाहरु लागु गर्न पनि जनताले उनीहरु विरुद्ध आन्दोलन गरेर सम्झाउनु परेको छ। तर पनि सत्तामा नहुदा सम्म जनताका लागी भन्ने अनि सत्तामा पुगे पछि आफ्नो स्वार्थ पुरा गर्न तल्लिन रहने व्योहोरले नेपाली जनता आजित भएका छन्। 
     नेपाल र नेपाली जनता ईतिहास देखि नै एउटा प्रयोगशाला जस्तो भएको छ। यहाँ हरेक थोकको बारम्बार अभ्यास र प्रयोग भई रहेको छ। जसले गर्दा हामी नेपालीले आफ्नो देशलाई मौलिकरुपले विकास र प्रगति गर्न पाएका छैनौ। भर्खर भएको ताजा आन्दोलनले पनि ठोस निकास दिन्छ भन्ने विश्वास गर्ने आधारहरु खडा भएको देखिदैन। दुइ दिनमा त्यति धेरै जनधनको क्षति भए पनि पछुतो लागेको कसैलाई देखिदैन।
       विशेष गरेर नेपाली युवाहरुलाई पहिलो विश्व युद्द देखि आज सम्म देशीविदेशी शक्तिले प्रयोग मात्र गरेको देखिन्छ। यदि प्रयोग नगरेको भए आज नेपाली युवाहरु थुप्रै प्रकारका बाध्यताहरू देखाएर दिनहुँ विदेशीनु पर्ने थिएन। २१ औ शदाब्तीमा पनि आफ्नो देशमा आफुले निर्वाचित गरेको सरकारसंग अधिकार माग्न विध्वंश मच्चाउनु पर्ने अवश्था सिर्जना भएको छ। 
         हिजो आन्दोलन गर्नु अघि एक हुने दलहरु आन्दोलन पछि एकापसमा लड्ने गर्थे ,त्यस्तै ताजा आन्दोलन सकेका युवाहरुले दलहरुको सिको गर्दै आन्दोलन पछि एकअर्काको अस्तित्व स्वीकार गर्न सकेका छैनन। यसले के देखाउछ भने आन्दोलन र आन्दोलन पछिको घटनामा हिजो र आजमा केहीं पनि  फरक देखिदैन। जसले गर्दा न हिजो ,न आज ;देश र जनताले फेरी पनि कुनै ठुलो उपलब्धि हासिल गर्छ भन्ने विश्वास देखिदैन। 


        यदि समयमा निर्वाचन भयो भने देशमा अराजकताले ठाउँ नपाउला,होइन भने नेपाली नेपाली बीचको  द्वन्दले कुनै शक्तिको अभिष्ट हामी नेपालीले नै सहजै पुरा गरि दिने छौ। जसको परिणाम नेपाल र नेपालीका लागी सधै घातक साबित हुने पक्का देखिन्छ। ईतिहासमा कसैको अधिनमा नरहेको देश नेपाल र नेपाली आज अदृश्य  तरिकाले पूर्णरुपले अधिन रहेको देखिन्छ। यहीं नै हो आजको युगको आधुनिक लडाई।यस्ता अदृश्य मोहरा बन्न तैयार हुने देशद्रोहीहरुलाई अब नेपाली जनताले समयमा चिन्न सक्नु पर्दछ। 
      हुन त कुनै सिद्धान्त बोकेको दल र आज समाजमा देखिएको रोलमोडल नेता दुवै उस्तै उस्तै देखिन थालेको छ। उनीहरु दुवैबाट देश र जनताले निकास पाउछ भन्नेमा नेपाली जनता अझ पनि विश्वस्त हुन्  छैनन्। तर के गर्नु नेपाली जनताले पनि धेरै बदमास मध्येबाट कम बदमासी गर्नेलाई रोज्ने बाहेकको विकल्प छैन। तर जे होस् अब हामी सबैले सोचौ,एकपटक आफ्नो छातीमा हात राखेर देश हामीले नै बनाउने हो,अरु कसैले बनाई दिदैन। अरुले त भत्काउने मात्र हो। बरु देश भत्काउनेलाई सबै नेपाली मिलेर तह लगाउने कि ? 
        
      

Post a Comment

Previous Post Next Post