" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 

     

     


         समयको खेलमा संसारका हरेक मानिस आफै खेलाडी,आफै निर्णायक भएर जीवनभर खेल खेली रहनु पर्दछ। हो कसैले आफुसंग खेलेको समयको खेलमा जित हासिल गर्छन भने कोही आफैसंग आफै हरपल हारी रहेका हुन्छन। तर खेल त्यति सजिलो गरी जितेका हुदैनन् जित्नेहरुले पनि। त्यसैले त भन्दछन जीवन एउटा सघर्षमय यात्रा हो। जीवनको यात्रा हरेक मानिसले सकेसम्म सहजै पुरा गर्न चाहन्छन तर भने जस्तो यात्रा कहाँ सजिलो हुन्छ र ? धर्तीमा जन्मनु अघि देखि मानिसको जीवनको यात्रा शुरु हुन्छ,त्यो यात्रा कठिन भए पनि हर सम्भव आफ्नो बलबुताले भ्याए सम्म अघि बढ्ने चेष्टा गरि रहन्छन। संघर्ष सहितको ति चेष्टाहरुमा जीवनलाई खुशी बनाउन निरन्तर बढी रहेका हुन्छन।  

          धन बहादुर गाउँमा निक्कै धनि कहलिएका व्यक्ति थिए। उनको सम्पन्न परिवार थियो। धन बहादुर लाई गाउँमा सबैले सम्मानको नजरले हेर्थे। उनले पनि गाउँका मानिसहरुलाई समस्या परेको बेला सहयोग गर्ने राम्रो बानी थियो। त्यो जमानामा उ घोडा चढेर गाउँ डुल्थे। उनको परिवारमा एक छोरा र एक छोरी थियो। छोराछोरी हुर्किदै गर्दा उनको श्रीमती दमको रोगले कलिलै उमेरमा मृत्यु हुन्छ। अब उनलाई आफ्ना साना साना छोरा छोरीलाई हुर्काउन,उनलाई त्यती सजिलो हुदैन। आफ्नो श्रीमतीको मृत्यु पछी उनलाई मनमा एउटा मान्छेको सधै कमि महसुस हुने रोगले झस्काई रहन्छ। 

        धन बहादुरको छोरा रमेश १० वर्षको थियो भने छोरी अमृता ७ वर्षकि थिइन्। गाउँमा घोडा चढेर हिडी रहने धन बहादुर,अब आफ्नो छोराछोरीको लालन पालनमा धेरै समय व्यतित गर्न थाले। अनि एकातिर मनमा आफ्नो प्यारी श्रीमतीको कमि सधै खट्किरहेको थियो। तर पनि धन बहादुरले सकेसम्म आफ्नो आत्मबल बलियो बनाएर बाच्न चाहन्थियो। उनको श्रीमतीको मृत्युको शोकले उनलाई भित्र भित्रै कम्जोर बनाई रहेको थियो। तर पनि उनि आफ्नो मनभित्रको पीडा आफना छोराछोरीलाई कहिलै देखाउन चाहेनन्। किनकी उनि भित्र एउटा पुरुष बाचेको थियो। जो पुरुष हिजोसम्म समाजमा एउटा रवाबका साथ घोडा चढेर गाउँ डुल्थियो भने आज श्रीमती गुमाउदाको पिरले भित्र भित्र कम्जोर भई सकेको थियो। 

         आफ्नो श्रीमतीको मृत्यु पश्च्यात गाउँले र आफन्तहरुले आर्को बिहे गर्न जोर नगरेका होइनन। तर धन बहादुरले आफ्नो छोराछोरीलाई भोलिका दिनहरुमा हेला हुन् सक्छ भन्ने डरले अर्को बिबाह गर्न चाहेनन्। उनलाई आफ्ना छोराछोरीको भविष्यको पिरले थप मन भित्र पिडा दिई रहेको थियो। उनको छोरा रमेश र छोरी अमृता सानो कक्षामा भए पनि पढाईमा निक्कै अव्वल थिए। हिजो घोडा चढेर गाउँलाई सहयोग गर्ने धन बहादुर भित्रबाट निकै कमजोर हुदै,मुटु रोगले ग्रस्त भैसकेका थिए। गाउँघरमा त्यतिखेर अस्पताल भन्ने  केही थिएन। कसैलाई रोग व्याधि लागी हाले पनि उही झारफुक गर्ने चलन थियो या कुनै छुट्टी आएका लाहुरेले दिने औषधी खाने चलन थियो। ति सबै गर्दा पनि धनबहादुर कम्जोर हुदै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुगे। 

             धन बहादुर दिन प्रतिदिन निक्कै कम्जोर हुदै गएको देखेर गाउँलेहरुले शहर गएर उपचार गर्न पनि सुझाय तर उनि मानेन। उनलाई आफ्नो शरीरको भन्दा आफना छोराछोरीको निकै पिर लाग्थियो। जसको कारण उनि झन् झन् कम्जोर र सिकिस्त हुदै गए। गाउँलेहरुले भने जस्तो शहर पुग्न पनि दुई दिन लाग्थियो।गाडी गुड्ने बाटो नहुदा हिडेरै शहर जानु पर्थियो। उनको नजिकको नाता पर्ने कोही थिएन गाउँमा। उनलाई पनी यो संसारमा धेरै दिन सम्म बाच्न दिएन दैवले। उनको मृत्यु पछि दुई दाजु बहिनि टुहुरा भए। त्यति खेर रमेश ७ र अमृता ५ कक्षामा पढ्दै थिए। गाउँमा उनीहरुको कोही पनि आफन्त नभए पछि धन बहादुरको भाई भारतीय लाहुरे मनबहादुर पेन्सन आए पछि पोखरामा बस्दै आई रहेका थिए। भने धन बहादुरको बहिनि ब्रिटिश सेनाका लाहुरेसंग बिहे भएर भैरहवामा थिइन्।  

           धन बहादुरको मृत्युको खबर सुनेर उनको अन्तिम दुखकार्य सम्पन्न गर्न पुगेका बहिनि र भाईले छोरा रमेश र छोरी अमृतालाई एक एक जनालाई संगै लाने निधो गरे। रमेशलाई मन बहादुरले पोखरा र अमृता आफ्नो फुफुसंग भैरहवा जाने कुरा पक्का भयो। धन बहादुरको कर्मकाण्ड सकेर दुई दाजु बहिनि मनभरि आफ्नो बाबाको सम्झना र आफ्नो जन्म थलो सदाका लागी छोड्ने गरी आखाँ भरी आँशु लिएर रुदै रुदै छुट्टिए। धन बहादुरको सम्पति उनको भाईले भन्दा पनि उनको बहिनीले आँखा लगाए। 

          भैरहवा आएपछि  उनको फुफुको घरमा अमृताको केही महिना सबैको माया ममतामा बित्छ। किनकी उनको बुबाको सम्पति उनको फुफुले सबै कुम्ल्याएको जो थियो। तर केही दिन पछि उनको फुफुले उनलाई गर्ने व्यवहारमा परिवर्तन देखिन थाल्छ।तर अमृता सानी नै थिईन,त्यसैले पनि उनलाई उनको फुफुले हेला गरेकी हुन् कि आफुलाई घरको काम सिकाएकी हुन्। अमृताले छुट्टाउन सकेकी थिएनन। उनलाई आफ्नो बाबाआमालाई के भएको हो किन म फुफुको घरमा बसेकी छु भन्ने त्यति ज्ञान पनि हुनसकेको थिएन। 

          दोश्रो विश्व युद्ध पछि मलायाबाट पेन्सन आएको लाहुरेहरुको पेन्सन धेरै हुदैन थियो। पैसा भए पनि त्यो जमानामा जग्गा किन्ने बाहेक अरु कुनै उपाय नै थिएन। अनि अमृताको फुफु निक्कै बाठी थिइन् ,उनले आफ्नो श्रीमानले पाएको पेन्सनको पैसाले जग्गा खरिद गरेकी थिइन्,भने अमृताको बुवाको सम्पतीले एउटा पक्कि घर खरिद गरेकी थिइन्। साथै आफुले चिया पसल राखेर अतिरिक्त आमदानी शुरु गरेकी थिइन्। उनले यी सब गर्ने कारण पनि उनको सन्तान धेरै थियो र लालनपालन कुनै समस्या नहोस भनेर आर्थिक जोहो गर्न हर सम्भव प्रयास गरि रहन्थिन। उनका सबै छोराछोरीहरु स्कुल जाने भई सकेका थिए। सबैको हेरविचार गर्न निक्कै खर्च हुने हुदा,यी सब काम पैसाको जोहो कै लागी गरेकी थीइन। 



           हिजो सम्म उनको पसलमा उनका छोराछोरीहरुले सहयोग गर्थे भने उनलाई काममा लगाउन अब अमृतालाई कजाउन सजिलो भयो। किनकी उनको छोराछोरीहरु सबैलाई स्कुल पढ्न जान्थे। तर उनले भदैनीलाई स्कुली शिक्षा दिनु पर्छ भन्ने सोच कहिले रखिनिन। उनको आफ्नो स्वार्थ गासिएको थियो,पसलमा एउटा कामदारको रुपमा अमृतालाई काम लगाउन सक्ने भयो। अमृताको दिनचर्या अब पसलमा बिहान देखि ग्राहकको सेवा र भाडा धुनमा बित्न थाल्यो। दिनभरी पसलमा ग्राहकले खाएको जुठो भाडा सफा गर्न पानी बढी प्रयोग गरिरहदा उनको हात पानीले खाएको थियो। तर पनि उनको फुफुले बेचरी कहिल्यै भनिनन। 

        त्यो समयको माटोको घर,अनि भैरहवाको गर्मी,निक्कै कठिन दिनहरु बिताउदै भुईको ओछ्यानमा अमृताले आफ्ना रातहरु लामखुट्टेसंग काटथिन। तर पनि अमृताले कहिल्यै कसैसंग आफ्नो गुनासो पोखिनन,उनले पोख्ने पनि कोसंग ? आफ्नो भन्ने एउटा दाजु त्यो पनि टाढा पोखरामा,सम्पर्क गर्न कुनै माध्यम थिएन,त्यतिखेर सम्पर्क गर्ने माध्यम भनेकै चिट्ठी हो त्यो पनि दिनहुँ भाडा माझ्नाले हात भरि खटिरा घाउले दुखेर ति हातहरुले केही गर्न सक्ने अवस्थामा थिएनन। अब अमृतासंग आफ्नो गुनासो सुनाउने एकमात्र साथी उनको आशुँले भरिएको आखाँले देख्ने काल्पनिक सपनाहरु मात्र थियो। अनि उनि आफ्ना बाबा आमा सम्झेर बेसरी रुनथिन। आवाज निकालेर रुन पनि सक्दैनन् थिई ,किनकी फुफुको ओछ्यान नजिकै थियो। उनको फुफुले कहिले अमृता माथि हात नहाले पनि बेसरी सबैको सामु गाली गर्ने गर्थि। 

         यो संसारमा महिलालाई दुख दिने पहिलो महिला नै हुन्छन। खै किन हो आजसम्म कसैले बुझ्न नसकेको यथार्थ हो। तर पनि जति कष्ट,अपहेलना सहेर पनि महिलाहरुले जिउने हिम्मत भने गरेकै हुन्छन। त्यसैले त महिलाहरुमा हिंसा आफ्ना आफन्तले गरे पनि उनको विरुद्ध चु आवाज निकाल्दैनन। आवाज निकाल्ने शक्ति नभएर होइन र विरोध गर्ने आँट नभएर पनि होइन। सबै महिलाहरुमा भित्र अद्भुत सहने शक्ति र ममता भरिएको हुन्छ। त्यहि ममता र आँटका कारण उनीहरुले हजार कष्ट,हेला,हिंसा सहन सक्छिन। तर उनीहरुसंग पनि सहने एउटा सिमा हुन्छ,यदि त्यो सिमा पार गर्ने गरी जो कसैले उनीहरुलाई प्रताडित गर्छन भने फेरी ति सहज र सरल देखिने महिला चण्डीको रुप धारण गर्न पछि पर्दैनन्। त्यसैले महिला जति संवेदनशील हुन्छन त्यो भन्दा बढी आक्रोश व्यक्त गर्न पनि सक्छिन। 

           अमृताले जति सास्ती भैरहवा आएपछि भोग्नु परे पनि,उनको यहाँ भन्दा अन्त कतै जाने ठाउँ थिएन। त्यसैले निरन्तर एउटा नोकर्नी जस्तै गरी १० वर्ष व्यतित गरि रहिन। अब उनि १७ वर्षको भई सकेकी थिइन्। पसलमा आउने ग्राहकहरुले अमृताको शरीरलाई गिद्दे नजरले हेर्न शुरु भईसकेको थियो। तर उनको त्यतातिर ध्यान कहिल्यै गएन। उनि पसलको सबै रेखदेख गर्नेमा व्यस्त हुन्थिन। अब उनको फुफु पनि हिजो जस्तो सबै ग्राहकहरुलाई रेखदेख गर्न सक्ने अवस्थामा रहिनन्। अब मात्र हिसाब हेरी पैसा लिने काम मात्रमा सिमित हुन् पुगिन। आजकल सबै काम अमृताको जिम्मेवारीमा हुन्थियो। अमृतालाई देखेर पसलमा आउने ग्राहकहरु धेरै युवाहरु हुन थाले। उनि जवानीले भरिएको युवती भई सकेकी थिइन्। 

          भैरहवाको गर्मी,प्राय बाहिर आगनमा चारपाईमा ओछ्यान लगाएर सुत्ने चलन थियो। एकदिन राती बदमास युवाहरुले अमृतालाई बलात्कार गर्ने मनसायले उनको चारपाई नै उठाएर लैजाने तरखर गर्दै थिए। उनले थाहा पाएर जोरले हल्ला गरिन,उनको फुफुले गुहार गुहार गर्न थाले पछि वरपरका छिमेकिहरु सबैले हो-हल्ला गर्न थाले पछि ती युवाहरु भागे। बल्ल उनको फुफुको होश आयो,जवान भएकी भदैनीलाई बाहिर आगनमा सुताउदा कति जोखिम हुन्छ भन्ने कुरा। अर्को दिन देखि पहिलो पटक कोठामा सुत्ने अवसर मिल्यो अमृतालाई। फुफुको उमेर पनि ढल्किदै गएको हुनाले होला,त्यो घटना पछि अमृतालाई धेरै हेरचाह र माया गर्न थाली,हुन् पनि अमृताले फुफुले जति हेला गरे पनि,उनले कहिल्यै पाप मन गरिनन्,बरु फुफुलाई आफ्नो आमा जस्तै हेरचाह गर्थिन। अमृताले काम बिराए पनि,न बिराए पनि आफ्नो छोरीहरुलाई माया गर्ने तर अमृतालाई भने कराई रहने बानि थियो फुफुको। सबैथोक सहेर पनि अमृता सधै हँसिली भएर पसलमा आएका ग्राहकहरुको सेवा गर्थिन। अमृताको मधुर बोलीबचनले नै ग्राहकहरु दिउसो एक कप चिया पिउन र साँझ एक गिलास रक्सी खान त्यहाँ आउने गर्थे। विशेष गरेर युवाहरु झुम्मिने गर्थे। 

            समयको खेल हो,यतिका वर्षसम्म आफनै फुफुको घरमा अमृताले कति दुख,कष्ट झेल्न सम्म झेलिन,शायद अरु कोहि भएको भए सहन नसकेर के गर्थिन कसैलाई थाहा हुन्थेन। उनको असहज भोगाईका कारण अब अमृता एउटा परिपक्क जवान युवती भएकी थिइन्। उनको हसिलो मुहार,मधुर बोली,जति कष्ट मनभित्र भए पनि कहिल्यै नरिसाउने बानी। पसलमा आउने युवाहरु उनलाई धेरैले मन पराए पनि कसैको हिम्मत हुन्थिएन,उनको फुफुको अघि अमृतालाई जिस्काउने। फुफुको छोरीहरु पनि ठुल ठुला भईसकेका थिए। छोराहरु पनि त्यस्तै। अब विबाह गर्ने उमेर भई सकेको थियो। तर कडक सहभावका कारण कसैले उनको छोरीहरुको हात माग्न आँट गर्न सकेनन। फुफुको चुरोट खाने बानीको कारण दम रोगले सुस्त सुस्त ग्रस्त हुदै थिइन्। 

          खै एकदिन के भयो अमृतालाई,बैंसको उन्मातले होकी,उनको कष्टमय जिन्दगीले हो,या भनु फुफुको शक्ति कम्जोर देखेर हो,घरबाट गायब भईन। भोलिपल्ट हल्ला खल्ली भयो। तर कसैलाई थाहा भएन अमृता कहाँ गईन भनेर। बिहान अमृता पसलमा नदेखेपछि फुफुको होश नै रहेन। किनकी उनको असली कमाएर खिलाउने कामदार नै हराए पछि बढी पिर त हुने नै भयो। उनलाई अमृताको भन्दा चिन्ता आफ्नो पसल कसले हेर्ने भन्ने नै थियो। खोजी कार्य भयो। तर कहाँ गई भनेर कसैले भन्न सकेन। तिन दिन पछि उनको फुफुको मा दुई जना सोधनी को लागी आउदा पो थाहा भयो कि अमृता त कोही केटासंग भागेकी रहिछिन। 

         सधै चिया पिउने बहानामा आउने दुई जना युवाहरुले आफ्ना साथीका लागी सुन्दर,सुशील युवतीको खोजि गर्दै गर्दा अमृतालाई देखेर,आफ्ना साथीलाई अमृता जस्तो सुन्दर,कम बोल्ने,घरधन्दा गर्न सक्ने सबै काममा निपुण भएकी यही युवती ठिक हुन्छ भन्ने लागे पछि,अमृतालाई अझ बुझ्न लगातार चिया पिउन आउने रहेछन। अस्ति देखि ति दुई युवासंग अर्को नयाँ युवा पनि चिया पिउन दिउसो आएको बल्ल सम्झना भयो उनको फुफुलाई। दिउसो खाना खाएर एकछिन आराम गर्ने समय हुन्थियो फुफुको। त्यहि मौका छोपने रहेछन युवाहरुले। अस्ति आफ्ना पाहुना आएका कारणले दिउसो आराम गर्न नभ्याउदा पसलमा ति केटाहरुलाई देखेको बल्ल याद आयो फुफुलाई। सोधनी आउने युवाहरुलाई खाला झैँ एकछिन बेसरी कराईन फुफु। तर अब जति कराए पनि भाग्ने भागी सकी। सोधनी आउनेलाई जति गाली गरेपनि अमृतालाई भगाउने केटो बारे सोधपुछ गर्न लागिन फुफु । वरपर छिमेकीहरुले पनि फुफुलाई जवान भएकी अमृता लाहुरेसंग बिबाह भएको खुशी नै मान्नु पर्छ भने पछि सोधनी आउनेहरुले लिएर आएका पाहुर समाईन। अमृताको कोही नभएको हुदा उनले सबै चाजोपाजो मिलाउने गरी ढोगभेटको मिति टुङ्गाईन।  

        छिमेकीहरुले पनि वर्षौ देखि अमृताले गरेको दुख सम्झेर ठिकै भयो भन्न थाले। उता लाहुरेको घरमा आमाछोरा मात्र रहेछन । छोरा भर्खर दोश्रो छुट्टी आएर आफ्नो आमा एक्लै भईन भनेर अमृता जस्ती परिपक्क अनि मधुर बोली भएकी बुहारी भए,घरमा आमालाई रेखदेख गर्न सजिलो हुन्छ भन्ने पुरा विश्वाश लागेर नै लाहुरेले अमृतालाई रुचाएको रहेछ। अमृताले पनि आफ्नो दुख सम्झेर नै होला या लाहुरेसँग बिहे गरे आउने दिनहरु सुन्दर हुन्छ भन्ने कल्पना गरेकी कारण केही नसोची विबाह गर्न राजी भएकी र ठुलो हिम्मतका साथ राती सुत्ने बेलामा अँध्यारोमा लाहुरेसंग भागेकी रहेछिन। फुफुले ढोगभेट पनि जसोतसो गरेर थोरै पाहुना बोलाएर दिईन। 

      अमृताको दाई रमेश पनि आफ्नो बहिनीको ढोगभेटमा उपस्थित भएका थिए। रमेशले आफ्नो कान्छा बुबाको घरमा सबै सुविधा र मायाममता प्राप्त भएको कारण उ सानोमा त्यसै पनि पढाईमा निक्कै राम्रो थियो। झन् शहरमा उसले सबै सुविधा पाए पछि त अझ राम्रो पढ्ने भएछ। किनकी उनको कान्छा बुबाको छोरा नभएकाले पनि रमेशलाई आफ्नो छोरा जस्तै गरी पालेका हुनाले पनि कुनै प्रकारको कमी हुन्  नदिएका रहेछन। रमेश अहिले पोखरा क्याम्पसमा पढ्दै रहेछ। नेपालमै केही गर्न गर्नु पर्छ भन्ने उनको बाबुको उदेश्य रहेको सपना पुरा गर्न रमेश निक्कै मेहनतका साथ विज्ञान विषय लिएर पढी रहेको रहेछ। कान्छा बुबा मन बहादुरले रमेशको पढाईमा कुनै प्रकारको कमी महसुस हुन् दिएनन। त्यसरी नै रमेशले पनि कान्छा बुबालाई औधि माया गरी उनको मन कहिल्यै दुखाएनन।  

        यता अमृताको दिन अहिले सासुको सेवामा आरामले कटी रहेको थियो। अमृताको सासु निक्कै खुशी थिइन्,यति सहभाव र अनुशासित बुहारी पाएर। बुहारी अमृताले अहिले उनको सेवामा कुनै प्रकारको कमी महसुस हुन् दिएकी थिएनन। उनीहरुको आफ्नो घर थिएन,दुई कोठा भाडामा बस्दै आएका थिए। अमृताले सासूलाई आफ्नो आमा जस्तै गरि सासुआमाको सेवा गरेकी थिइन्। एकदिन बिहानपख अचानक सासुआमा हृदयघातको कारण छटपटीईन र मुटु दुख्यो मुटु दुख्यो भनेकी थिइन्। त्यतिखेर अमृता बाहिर लिपपोत गर्दै थिइन्,सासुको आवाज सुनेर भित्र पुग्दा सासु चिसो भई सकेको थियो। अमृताको जीवनमा भगवानले कष्ट बाहेक अरु कुनैथोक छैठीमा नलेखिदिएको रहेछ क्यारे। सानो उमेर देखि नै दुख र कष्ट बाहेक उनको भागमा केही परेन। तर पनि अमृताले हरेक कुरा सहेर आफ्नो मन जति रोए पनि बाहिर प्रकट भने कहिल्यै गरिनन्। 

          उनको सासुको मृत्यु पछि फेरी एकपटक एक्लै भईन अमृता। उनको श्रीमान वर्षमा एकपटक छुट्टी आउने जाने गर्ने गर्थियो। उनको जीवनको यात्रा कहिले काही रमाइलोसंग बित्न खोजे पनि धेरै समय उनको भागमा दुख सहेर बित्ने भावीले लेखिदिएको रहेको छ । जीवनको हरपल उनि उकाली ओराली भएको गोरेटोमा एकतमास निरन्तर हिडी रहेकी थिइन्। उनले जीवन अब यस्तै त होला भन्दै,चुपचाप सहेर आफ्नो जीवनलाई सकेसम्म सारा दुख,कष्टहरु आफूभित्र राखेर श्रीमानको खुशीमा रमाउन चाहन्थिन। त्यो पनि उनको भाग्यमा रहेन छ। उनको जीवनको एक मात्र सहारा उनको श्रीमान पनि पल्टनमा हृदयघातको कारण मृत्यु भएको अबेर रात उनलाई पल्टनबाट आएको खबर थाहा पाउछिन। 

         साँझ खाना पकाईवरी एक गाँस मुखमा हाल्न मात्र के लागेकी थिएन,श्रीमानको मृत्युको खबर सुन्दा त्यही बसेको ठाउँ चुलोनिर नै बेहोस भएर ढालिन। छिमेकी सबैले थाहा पाए पछि अमृतालाई उनको टाउकोमा चिसो पानी छम्केर उठाउन थाले महिलाहरुले। अमृता एउटा साहसिक नारी हरेक दुख,कष्ट,अपहेलना सहन जन्मेकी रहेछिन। तर ति सबै उनले जाफ्नो जीवनमा लगातार झेल्दै सहदै आएकी हुनाले उनि भित्र साहस हुर्किदै गएको थियो।  हजार दुखका हण्डरहरु खादा खादा उ भित्र खुशीको ठाउँमा साहस भरिएको थियो। त्यहि साहसले आज उनको श्रीमानको मृत्युको खबरले एकैछिन होश हराएको झैँ भए पनि उनले आफैले आफैलाई आफ्नो दुखसुखको खेलाडी र निर्णायक बनेर उभीइन । 

          अमृताले सोचिन मेरो भाग्यमा सबै दुख मात्र लेखिदिएको रहेछ भावीले ,अनि किन गुनासो गर्नु आफ्नो जीवनसंग। म हिम्मत हार्दिन,बरु अझ संघर्ष गरि रहन्छु जबसम्म यो धर्तीमा रहुन्जेल। मैले प्राप्त गरेका दुख र कष्टहरु,बरु मन भित्र संगालेर राख्छु,मेरा दुखहरु अरुलाई पोखेर निवारण पक्कै हुदैन। बरु यी मैले पाएका,भोगेका तितामिठा अनुभवहरुलाइ नै अब मेरो बाच्ने आधार बनाउछु। हेरौ अब जति मैले पाउनु पर्ने दुख सकिए त होला। 

         यसरी नै अमृताको दिनहरु एकल महिलाको रुपमा बिति रहेको थियो। उ सबैसंग हासेर बोल्थी,मनभित्र जति दुख भए पनि खुशीसाथ बाचेको सबै छिमेकीहरुलाई लाग्थियो। अझ पनि उमेर छ बिबाह गरेर घरजम गरे हुन्छ भन्ने छिमेकीहरु एकआपस कुरा गर्थे। तर अमृतालाई सिधै भन्न भने कसैले आँट भने गरेका थिएनन्। अमृता कहिले काही आफ्नो दाजु रमेशलाई भेट्न काठमाडौँ पुग्थिन। किनकी रमेशले आफ्नो पढाई सकेर काठमाडौँमा परिवार सहित बस्थियो। लोकसेवा पास गरेर सरकारी जागिरमा प्रवेश गरेको थियो रमेश।  

         दाईलाई भेटन जाने क्रममा अमृतासंग बिजयको भेट हुन्छ। विजय कपडा व्यापारी थियो। एकदिन उनको भाउजुसंग बिजयको पसल जाँदा त्यहि पसलमा चिनजान भयो।अमृता काठमाडौँ बस्दा सम्म विजय संग निकै घुलमिल हुदै गईन। नयाँ शहर ,नयाँ मानिस सबै रमाइलो लागेर नै होला अमृता निक्कै खुशी थिइन् काठमाडौँ बसाईको क्रममा। धेरै दिन सम्म पाहुना बनेर पनि बस्न नसक्ने आफ्नै दाईको घर भए पनि। उनि भैरहवा आउछिन। उही भाडाको कोठामा उनको उही पुरानो दिनचर्या चलिरहन्छ।  

       अमृताले आफ्ना दिनचर्या छरछिमेकीको सहयोग र उनीहरुको दुखसुखमा उपस्थित भएर काटी रहेकी थिएन। अमृतालाई एकल महिला देखेर धेरै पुरुष र युवाहरुले आँखा नलगाएका होइनन। तर उनि धेरै संयम र अनुशासित थिईन। एक्लै बसे पनि कसैले हिम्मत गरेनन,उनलाई कुदृष्टिले हेर्ने आँट। किनकी उनि सबैमा सहयोगीको रुपमा चिनिने भएकी थिइन्। समयले अमृतालाई जति सकिन्छ लछार पछार गरि रह्यो। तर पनि उनले हिम्मत भने हारिनन। उनले कहिल्यै कसैलाई आफ्ना दुखका भारी बिसाएनन। हो उनलाई पनि कहिले कहीं लाग्दो हो यो जीवन यसरि नै बिताउने हो त ? उनको मन पनि कहिलेकाही चंचल अवश्य भएको हुदो हो। तर पनि समाजको परिवेश देखेर उनि चुपचाप बस्थिन्।

             यसरी नै समय बित्दै गर्दा एकदिन अमृताको जीवनमा पनि झुल्के घाम झुल्कियो। काठमाडौँबाट फर्के पछि बिजयले उनलाई पटक पटक फोनमा सन्चो विसन्चो सोधी रहने रहेछ। अमृता पनि त महिला हुन्,महिलाको मन जति साहसी हुन्छ,त्यतिनै कोमल पनि हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो। बिजयले अमृतालाई निक्कै मन पराएको रहेछ। कता कता अमृताले पनि शायद एक्लो जीवन कति बाचिरहने सोचेर नै होला मन भित्र भित्र विजयप्रति उनको रुचि बढेको रहेछ। नबढोस् पनि किन ? उनको भाउजुले नै एक पाईला सर्न अमृतालाई संकेत गरेकी रहेछिन। नत्र अमृता यति परिपक्क भई सकेकी थिइन्। उनले गलत पाईला सार्ने जमर्को नै कहाँ गर्थी र !

          एकदिन विजय अमृतालाई खोज्दै भैरहवा आइपुगेको रहेछ। उनि दुबैको भेट पछि अमृताले आफ्नो दाई रमेश र भाउजुसंग अनुमति माग्दै विजयसंग बिबाहको कुरा सोधेछिन। रमेशले पनि आफ्नो बहिनी बैंसमा विधवा भएको दुख मनमा साचेर राखेको थियो। बहिनि अमृता अब खुशीसंग बसेको हेर्ने चाहना राखेर बिबाहका लागी अनुमति दिन्छ। विजय र अमृता काठमाडौँ पुगेर मन्दिरमा बिबाह गर्छन। नयाँ जीवनको शुरुवात गर्छिन अमृताले। नयाँ जीवन शुरु मात्र के गरेकी थिइन् अमृताले, बिजयको पहिलो श्रीमती प्रकट हुन्छिन भैरहवामा। बिजयको श्रीमती देखेर अमृता भिरबाट लडे झैँ भईन एकछिन। तर पनि अमृताले आफुलाई सभाल्न खोजि तर सकिनन्। फेरी एकपटक उनलाई दैबले झुक्काइ दियो। धेरै दिनसम्म बिजयको जेठी श्रीमतीले अमृतालाई तनावमा राखिन,कहिले प्रहरी बोलाउने,कहिले आफन्त। आजसम्म अमृताले भोगेको ति कष्टहरु भन्दा निक्कै ठुलो यो कष्ट मानिन। किनकी कष्ट भोग्छु भन्दा पनि भोग्ने अवस्था भन्दा धेरै पर पुगेको भान भयो अमृतालाई। यो कष्ट सार्वजनिक भोगाइ भएकोले पनि होला अमृता यतिखेर निक्कै निराश थिइन्। आफ्नो जीवन देखि हार खाने अवस्थामा पुगेको उनको अनुहारमा झाल्किन्थियो। 

          अमृताले नै बिजयको श्रीमतीसंग माफ मागेर विजयलाई सुम्पिदीइन। बिजयसंगको बिहेको खबर थाहा पाए पछि अमृताले पाउने लाहुरे श्रीमानको पेन्सनमा पनि कसैले उजुरी दि सकेको रहेछ। धन्न बिजयको श्रीमती समयमा आएको कारण अमृता र बिजयको बिबाह दर्ता हुन् पाएन। यदि बिबाह दर्ता भएको भए पेन्सनमा लागेको उजुरी लग्थियो र अमृताले पाउदै आएको पेन्सन पाउने थिएन,जसको कारण अमृता झन् आर्थिक तनावमा पुग्ने थिइन्। उनलाई कोठा भाडा र दैनिकी चलाउन धौ धौ हुने थियो। यतिखेर भने भाग्यले भनु या उनको कर्मले पेन्सन पाउनबाट बन्चित हुन् परेन। 

           त्यही पेन्सनको भरमा आजसम्म अमृताको दैनिकी सुखम दुखम गुजारा भई रहेको छ। शहरमा एउटा घरमा लिएको कोठा, धेरै वर्ष बस्न पनि नपाउने भएर,अमृता कहिले कुन टोल त कहिले टोल कोठा सर्दै आफना जीवन काटी रहेकी छिन। अहिले उनि जस्ता एकल महिलालाई सरकारले दिने एकल महिला भत्ताले पनि केहि राहत भएको छ। एउटा कोठामा उनको दैनिकी बितिरहेको छ। अब उमेर पनि ढल्किदै गएर होला उनलाई एकान्त मन पर्ने भएको छ। त्यसैले हिजोआज अमृतालाई कि आफ्नो कोठा छ कि आफु भएको छ।  

         मानिसले यो संसारमा जन्म लिएपछि प्राप्त गर्ने भन्दा धेरै गुमाई रहेको हुन्छ। तर मानिस भ्रममा बाची रहेको हुन्छ कि मैले यो प्राप्त गरे,मैले त्यो प्राप्त गरे भनेर।मानिसले प्राप्त गरेको खुशी केहीबेरका लागि हुन्छ भने उनले भोगेको दुख,कष्ट जीवनभर उनको साथमा रहिरहन्छ। अमृतालाई उनको जीवनको हरेकपलको भोगाईले उनलाई एउटा परिपक्क नारी बनाई दिएको छ। उ बाचिरहेकी छिन, तर एक्लै !उनि  ति दुखहरुका पोका फ़ुकाउदै खुशी भएर आजसम्म बाची रहेकी छिन। उनि एउटा समाजका लागि धेरै हार खाने,हिम्मत हार्ने मानिसहरुका लागि उदाहरण बनेकी छिन। उनि जस्ती महिलालाई हामि सबैले सधै सधै सम्मान गरि रहनु पर्दछ। 

        

                 

    

Post a Comment

أحدث أقدم