चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९) को यात्रा अहिले संसारको लगभग २१५ देशमा पुगी संक्रमित व्यक्तिहरु फेला परि सकेको छ । सबै देशले कोभिड - १९ बाट आफ्ना नागरिकहरुलाई कसरी संक्रमण हुनबाट सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सरकारले रातदिन काम गरिरहेको छ । तर ठुला देखि साना राष्ट्र सम्म यसको चपेटामा परेको हुनाले सबै अन्योलमा छन् । हालसम्म कोरोना भाइरस (कोभिड-१९) को लागि बैज्ञानिकहरुले कुनै खोप या उपचार बिधि तयार गर्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार २० मे सम्म कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ५० लाख १६ हजार ८ सय ५९ जना पुगेको छ । यस्तै भारईरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजार ५ सय ६३ जना पुगेको छ ।
अहिले सम्म सबैभन्दा बढी अमेरिकामा १५ लाख ७२ हजार २ सय ३१ संक्रमित र ९३ हजार ६ सय १ मृत्यु हुनेको संख्या देखिएको छ भने सबै भन्दा कम साउथ अफ्रिकाको लेसोथो देशमा एक जना मात्र कोरोना भाइरस संक्रमित भेटिएको छन् । नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । हालसम्म नेपालमा संक्रमित ४२७ र मृत्यु २ जना देखिएको छ । विश्व स्वास्थ्य संगठनले यो कोरोना भाइरस (कोभिड-१९) को महामारी संसारमा लामो समय सम्म रहने बताएको छ ।
चीनको वुहान शहरमा कोरना भाइरसको संक्रमित भेटिएपछि शुरु गरेको लकडाउन अहिले संसारका सबै कोरोना संक्रमित भेटिएका देशहरुले विभिन्न तरिका र मोडल अनुसारको लकडाउनको अभ्यास गरिरहेका छन्। चीनमा पहिलो कोरना भाइरस (कोभिड-१९) एक महिलामा २०१९ नोवेम्बर महिनामा देखिएको थियो । त्यसपछि उक्त भाइरसबाट बच्न लकडाउनको पालना सहित सामाजिक दुरी कायम राखेर, पटक पटक साबुन पानीले हात धुने र मास्क प्रयोग गर्ने एउटा नियम नै बनेको छ । सरकारले पनि घरमै बसौं र सुरक्षित रहौं भन्ने नारा सहित आफ्ना नागरिकलाई अनुरोध गरिरहेको छ । तर यो विधिले मात्र पनि कोरोना भाइरसबाट नजोगिने रहेछ भन्ने यथार्थ अहिले संसारभरको संक्रमित संख्या र मृत्यु हुनेको आंकडाबाट थाहा हुंदै गएको छ ।
बिशेष गरेर सरकारले लागु गरेको लकडाउनलाई सबै नागरिकले पालना गर्नु नै अहिलेलाई सजिलो र उत्तम उपाय हो । तर यति भनिरहंदा लकडाउन र लकडाउनको पालना गर्नुले मात्र सरकार र आम नागरिकको दायित्व पुरा हुदैन । नेपाल सरकारले गत चैत्र ११ गते देखि लागु गरेको लकडाउनलाई पटक पटकको उच्च स्तरीय समितिको सिफारिसमा अवधि बढाउंदै लागिरहेको छ । पछिल्लो पटकको निर्णय अनुसार जेष्ठको २० गते सम्मलाई लकडाउनको समयसिमा तय गरिएको छ। जुन हिसाबले सरकारले लकडाउन लागु गऱ्यो त्यो हिसाबले कडाईका साथ पालना हुन् सकेन । सरकारले लकडाउन लागु गर्दा जुन तयारी गर्नु पर्ने त्यो गर्न नसक्दा नै नागरिक र सरकार केही अन्योलमा देखिन्छ र अहिले त्यसको परिणाम हामीले देखिरहेका छौ । सरकार हरेक कोणबाट चुकेको देखिन्छ । सत्तामा रहेका नेता र नागरिकले सर्बप्रथम त लकडाउन के हो र किन गरिएको छ, साथै आम नागरिकले कसरी पालना गर्नु पर्दछ भन्नेमा नै अलमल देखियो । हिजोको राजनैतिक पार्टीहरुले गरेको राजनैतिक हड्ताल या बन्द जस्तो मानेर नागरिकहरुले लकडाउनको पालना पूर्णरुपले गरेनन् । साथै सरकारले पनि कोरोना भाइरस र लकडाउन बारे जनतालाई सुसुचित गराउन सकेन।
सरकारले आजको दिन सम्म पनि लकडाउन नै उत्तम उपाय मानिरहेको छ । यदि सरकार यसरी नै अघि बढी रहने हो भने देश र जनताले ठुलो समस्याको सामना गर्नु पर्ने देखिन्छ । लकडाउनलाई अब सरकारले खुकुलो गर्दै लानु पर्छ । आजसम्म नेपालको सातै प्रदेशको ३८ जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेहरु पत्ता लागेका छन् । अब ति जिल्लाहरुमा समुदायमा फैलिन सक्ने खतरा रहन्छ । सरकारले ति जिल्लाहरुमा विशेष ध्यान दिदै अन्य जिल्लामा लकडाउनलाई सुस्त सुस्त खुला गर्दै लैजानु पर्छ । होइन् भने सरकारको लकडाउनको अवज्ञा हुनसक्ने सम्भावना बढ्दै छ ।
आम नागरिकले भोकोपेट लकडाउन कति दिन सम्म पालना गर्न सक्ला र ? साथै विश्व स्वास्थ्य संगठनले भने जस्तो मास्क र साबुन पानीले हात धुन पनि त जनतासंग किन्न पैसा हुनु जरुरी छ । लकडाउन बढ्दै गईरहेकोले नागरिकहरुको दैनिक जीवन धौं धौं अवस्थामा पुग्न थालेको छ । अनि सरकारको आदेश जनताले मानिरहन्छन भन्ने पनि छैन । त्यसैले सरकारले अब कोरोना भाइरसबाट बच्न र आफ्ना नागरिकको दैनिकी व्यवस्था गर्न योजनाबद्ध तरिकाबाट अघि बढ्नुको साथै साना व्यवसायी र उद्योगीहरुलाई राहत प्याकेजको घोषणा गर्नु पर्दछ । जसले गर्दा लकडाउन अवधिभरको ति व्यवसायी र उद्योगहरुले आफ्ना कर्मचारीलाई तलब दिन सकोस् । श्रमिकहरुले तलब पायो भने स्वयं सरकारलाई पनि राहत हुनेछ ।
सरकार र जनताले लकडाउन पश्चात गर्नु पर्ने कार्यमा धेरै लापरवाही देखिएको छ । सरकारले पूर्व तयाारी गरेर जनतालाई जानकारी दिनु पर्ने तर सरकारले त्यो अति आवश्यक कार्य नै अहिले सम्म गरेको देखिदैन । सरकार र जनताबीच कुनै सहकार्य देखिदैन । साथ साथै सरकारले बनाएको समिति र विभिन्न मन्त्रालयको पनि कुनै सहकार्य नदेखिदा जनता र स्वयम सरकार धेरै अलमलमा देखिएको छ ।
सरकारले कुनै योजना बिना नै विपन्न जनतालाई राहत बाढ्न शुरु गर्यो, जुन त्यो अवस्थामा आवश्यक नै थिएन । विपन्न वर्गलाई राहत दिने समय बल्ल भएको छ । संसारमा फैलिएको कोरोना भाइरसलाई र आफ्ना नागरिक भारत लगायत अन्य देशमा कति छन् र तिनलाई कसरी क्वारेन्टाइनमा राखेर व्यवस्था गर्न सकिन्छ भन्नेमा लागेको भए आज सरकारले यो अप्ठारोको साथै कठिनाई भोग्नु पर्ने थिएन । आज क्वारेन्टाइनको सहि व्यवस्थापन हुन् नसक्दा मानिसहरु क्वारेन्टाइनमा पहिला त जान मानिरहेका छैनन् र गए पनि एक दुई दिन बसेर भागिरहेका छ्न । त्यहांबाट भाग्नु भनेको समुदायलाई संक्रमित गराउनु हो । साथै सीमालाई पनि हतारमा स्थानीय पालिकासंग गृह कार्य नगरी बन्द गर्दाको नतीजा पनि आज सबैले भोग्नु परेको छ । तेस्रो मुलुकबाट आउनेलाई त हवाईअड्डा बन्द भएपछि ध्यान दिनु परेन । तर भारततिरको सीमालाई सरकारले मुख्य नाका बाहेक बन्द गरेर ति नाकामा स्वास्थकर्मी सहितको व्यवस्था गरेको भए सबैलाई सहज र सरल हुनेथियो । अहिलेको सीमामा देखिएको भद्रगोललाई सरकारले यसरी लाचारीपनका साथ भोग्नु पर्ने थिएन ।
विश्व स्वास्थ्य संगठनका अनुसार पनि कोरोना भाइरसको महामारी लामो समय जाने निश्चित छ । अब नेपाल सरकारले सबैसंगको सहकार्य गर्दै योजनावद्ध ढंगबाट कोरोना भाइरससंग लड्न तयार हुनु पर्दछ ।होइन् भने सरकारको अधुरो तयारी र जनताको लापरवाहीले देश र जनतालाई ठुलो क्षति बेहोर्नु पर्ने देखिन्छ । गत चैत्र ११ गतेदेखि अहिले सम्म लकडाउन घोषणा गरेको सरकारको उपलब्धि शुन्य प्राय छ । यो महामारीसंग सरकार एक्लै लड्न सक्ने अवस्था छैन।सरकारलाई सबैको सहकार्य र सहयोग अति जरुरी रहेको छ ।
अहिलेको समय भनेको सरकारले भविश्यको लागि पूर्ण तयारी गर्ने अवसर पनि हो । सरकारले कोरोना भाइरस बिरुद्ध लड्न जुन तयारी गरिरहेको छ त्यो तयारी यस्तो होस् कि आउने दिनहरुमा पनि प्रयोग योग्य होस् । जस्तै क्वारेन्टाइन तयारीमा करोडौं खर्च भैरहेको छ, ति क्वारेन्टाइन भबिश्यमा पनि प्रयोग हुन् सकोस् । साथै हामीले जुन अस्पताललाई कोरोना अस्पताल बनाएका छौं त्यसलाई अझ सुविधा सम्पन्न गर्ने गरी खर्च गर्नु पर्छ । ताकी आउने दिनमा यस्ता अन्य महामारीमा हामीले सहज नै लड्न र नेपाली जनताको स्वास्थ्यको उपचार गर्न सकौं ।
अझै पनि धेरै नेपालीहरु विदेशबाट आउन बांकी नै छ, बिदेशमा रहेका धेरै नेपालीहरु संक्रमित पनि भएका छन । तिनलाई अब कसरी स्वदेश ल्याउने र क्वारेन्टाइनमा कहां कसरी राख्ने सरकारले योजना सहितको तयारी समयमा विचार पुर्याउनु जरुरी छ । अब ठाउंठाउंमा क्वारेन्टाइन बनाउनु भन्दा सुरक्षित हुने होटलहरुमा होटल व्यवसायीहरुसंग छलफल गरी क्वारेन्टाइन बनाउंदा राम्रो हुनेछ किन कि अब सरकारले हरेक स्थानीय तहमा क्वारेन्टाइन बनाउनु सरकारको खर्च बढ्नु हो र त्यो खर्च धान्न अहिलेको अवस्थामा सरकार सक्षम पनि छैन । लकडाउनको कारण सरकारको यस आर्थिक वर्षमा उठ्नु पर्ने राजस्व उठ्न सकेको छैन । साथै लकडाउनको समयमा होटल पनि चल्ने र आउने दिनका लागि होटलका कर्मचारीहरुले पनि कोरोना भाइरस (कोभिड-१९) बाट कसरी आफु र पाहुनाहरुलाई सुरक्षित गर्न सकिन्छ भन्ने कुरा जान्ने पनि अवसर पाउने छन। यस्तो गर्दा सरकार र होटल व्यवसायीहरुलाई फाइदा हुने देखिन्छ । साथै क्वारेन्टाइनमा लाग्ने खर्च सरकारले अन्य स्वास्थ्य उपकरण खरिदमा खर्च गर्न सक्ने छ । यदि होटललाई क्वारेन्टाइन बनायौं भने सुरक्षित हुनुको साथै कुनै ब्यक्ति त्यहांबाट भाग्ने पनि छैनन् । र क्वारेन्टाइनमा बस्नेहरुले पनि सबै सुविधा प्राप्त गर्न सक्ने छन् ।
सरकारले कोभिड अस्पताल सकेसम्म जिल्ला र स्वास्थ्य चौकीलाई प्राथमिकताका साथ तयारी गर्नु पर्दछ । साथै नीजि अस्पताललाई पनि कोरोना भाइरस (कोभिड-१९)को उपचार र परीक्षण गर्न अनुमति दिनु पर्दछ । जसरी पनि नागरिकहरुलाई कोरोना भाइरस (कोभिड-१९) बाट सुरक्षित गर्नु नै सरकारको लक्ष्य रहेको हुनाले नीजि अस्पताललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अनुमति दिई नागरिकको उपचारलाई फराकिलो बनाउनु पर्दछ । तर उपचार खर्च र गुणस्तरको विषयमा सरकार र नीजि अस्पताल स्पष्ट हुनु जरुरी छ। सरकारले होटललाई क्वारेन्टाइन र अस्पताल जति आइसोलेसनका लागि तैयारी गर्दा राम्रो हुनेछ । बरु सरकारले होटल र अस्पतालहरुलाई के सहुलियत दिन सक्दछ तुरुन्त दिनु पर्दछ ।
निजि र सरकारी अस्पतालहरु स्वास्थ तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार नेपालमा ३६६ निजि अस्पताल छन। जसमध्ये ९९ अस्पताल काठमाडौँ उपत्यकामा रहेको छ। यसको तुलनामा १२३ सरकारी अस्पतालहरु स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तर्गत छन्,जसले निजि र सकारी अस्पताल बिचको ठुलो अन्तर प्रमाणित गर्दछ। तर अहिले सम्म सरकारलाई यो महामारीमा हामी पनि सहयोग गर्न चाहन्छौ भनि निजी अस्पताल अगाडी आएको देखिदैन । विश्व स्तरको अस्पताल हो भन्दै बिज्ञापन गर्ने नीजि अस्पताल आज यस्तो महामारीमा किन मौन छन् ? साथै सरकारले पनि किन ति निजी अस्पताल हरुबाट सहयोग लिन सकिरहेको छैन ? त्यसैले कोरना भाइरस (कोभिड-१९) को महामारीमा सरकारलाई सबैले सहयोग गर्नु जरुरी छ र सहयोग फेरी आफैलाई पनि हो । को कति वेला कोरोना संक्रमित हुन्छ भन्ने अहिलेको अवस्था कसैलाई थाहा छैन ।
यो भन्दा पहिला पनि नेपालमा १९९६ र १९९७ सालमा तराईको जिल्लाहरु बांके, बर्दिया, झापा, चितवन, रुपन्देही, कैलाली, नवलपरासी, मोरङ, सुर्खेत दाङ्ग, कंचनपुर, मकवानपुर, गोर्खा, सप्तरी, तनहु, महोतरी, सिन्धुली, सिराहा, सुनसरी र धनुषामा जापानिज एन्सेफलाइटिस रोगको महामारीबाट धेरै मानिसहरु बिरामी हुनुको साथै ज्यान गएको थियो। त्यतिखेर पनि विश्व स्वास्थ्य संस्थाको सहयोगबाट हामीले एन्सेफलाइटिसलाई जित्न सफल भएका छौ। तर पनि लामखुट्टेबाट हुने अर्को रोग डेंगुसंग हामी लडिरहेका छौ ।
विभिन्न महामारीको सामना अन्य देशले कसरी जुधेर सफलता प्राप्त गरे, त्यो हामीले अध्ययन गर्न जरुरी छ । जस्तै २००३ मा सार्स महामारी अत्यधिक दर्दनाक घटना सिंगापुरले ब्योहोरेको थियो । २३८ संक्रमितबाट ३३ जनाको मृत्यु भएको थियो भने संसार भर ८,०९६ सार्स संक्रमित भएका थिए जसमा ७७४ जनाको मृत्यु भएको थियो । २००३ मा सिंगापुरले जुन तयारी गरेका थिए सार्स संक्रमितहरुको लागि आज त्यो अनुभव र क्वारेन्टाइन प्रयोग गरेर १० हजार जनालाई निको पार्न सफल भएको छ भने संक्रमित २८,७९४ र मृत्यु २२ जना भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा जानकारी राखेको छ ।
विश्व स्वास्थ्य संस्थाले राम्रो स्वास्थ्य उपचारको लागि संसारको छैठौ स्थानमा सिंगापुरलाई बर्गिकरण गरेको छ । त्यसैले नेपालका नेताहरु उपचारका लागि आफ्नो देशको अस्पतालमा उपचार नगराई सिंगापुर जाने गरेका छन्। अब यही समय हो सरकारले नेपालका अस्पतालहरुलाई विश्व स्वास्थ्य संस्थाको मापदण्ड अनुरुप तयार गरेर मेडिकल पर्यटक आउने वातावरण बनाउनुको साथै आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) बाट बचाउनु पर्दछ। यो तब मात्र सम्भव छ जब सरकारले भ्रष्टाचार शुन्यमा पुर्याउने संकल्प सहित सबै नेपालीलाई एकसुत्रमा एकत्रित गराई कोरोना भाइरस विरुद्धको लडाईमा जित हासिल गर्न अघि बढ्ने छ। कोरोना भाइरस (कोभिड-१९) महामारीलाई हामि सबै नेपालीहरु एक भै संघर्ष गरि र देश विकास गर्ने अवसरको रुपमा आत्मसात गर्नु पर्दछ ।अनि मात्र म र मेरो बाट उठेर देशको निम्ति हामी र हाम्रो हुनेछौ।


إرسال تعليق