" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।




               जिन्दगी शुरू हुन्छ हरेकको आमाको कोखबाट । शुरूमा आमाको स्यार-सुसार संगै बाबुको रेखदेख ।हुर्किदै जादा सानो पाईला सकि नसकी अघि बढ्न निरन्तर प्रयास गरि रहन्छ तर भरोसा उहीँ आफ्नै आमा र बुबाको हुन्छ । हरेकका बुबा आमाले आफ्नो सन्तान आफ्नै बलमा हुर्केर अघिबढोस भन्ने चाहाना सदा राखेका हुन्छन । त्यही चाहाना अनुसार नै सानोमा हरेकका सन्तान अघि बढी रहेका हुन्छन।  

           सन्तान जति हुर्कियो उति भरोसा दिने जिवनको गोरेटोमा अगिनत भरोसावालहरू भेटिन्छन । सबै उस्तै उस्तै देखिन्छन तर सबै भरोसावाल विश्वाशले भरिएको हुदैन। चिन्न बुझ्न निकै कठिन हुन्छ तर पनि संसार न हो,सबै एकनासका नै देखिन्छन। त्यसैले त कसरी छुट्टाउनु, जीवन अगाडि बढीरहेको भान भएता पनि जीवन होईन बस ! जीवनसंग भ्रम अघि बढी रहेको हुन्छ।

         सुन्दर जीवन बाचेर हेर्ने सबैको चाहाना हुन्छ तर सबैको त्यो चाहाना पूरा हुदैन। बाच्न सबै चाहान्छन,तर किन र के का लागि बाच्ने भन्ने अन्योल सधैं रहेको हुन्छ। फेरि पनि रहर र प्रयास भने सदा कायम राखेका हुन्छन। हरेक मानिसले जीवन यसरी बाच्दा ठिक होला,होइन यसरी जिउदा ठिक होला भन्दा भन्दै कसको कतिखेर जीवनको लिला सकिन्छ। सकिनेलाई पनि थाहा हुदैन। 

     तर पनि हुर्किर जीवन आफ्नै भरोसा र आँटमा संघर्ष गर्ने ठूलो अठोटसाथ अघि बढ्छ। अघि बढ्ने क्रममा निकै बाधा अवरोध आई रहदा पनि एक्लै अघि बढ्ने हिम्मत नगर्ने होइन,तर लाख प्रयास गर्दा पनि केही शिप नलागे पछि,अरूको भरोसा आफुलाई विश्वास नहुदा नहुदै थप्नु पर्ने हुन्छ। अघि बढ्नको लागि अरुको भरोसा थप्नुको विकल्प रहदैन ।अवश्य सफल हुन्छु भन्ने मनमा विश्वास रहेता पनि त्यही थपिएका,हेर्दा ठुलो विश्वास तर भित्र अविश्वासका भरोसावालहरुले गन्तव्यको अन्तिम घडीमा मात दिदा बल्ल थाहा लाग्छ। त्यतिखेर सम्म धेरै ढिलो भैसकेको हुन्छ। 

     जीवन न हो,हजार पल्ट मात खाए पनि बढ्ने प्रयास निरन्तर गर्नु नै पर्छ। यदि अघि बढ्ने चाहना छोडी दिए जीवन चौबाटोमा गएर रोकिन्छ। जहाँ चारैतिर अन्योलता र डर बाहेक केही देखिदैन। त्यसैले जीवनको यात्रामा,   गोरेटोमा भेटिएका हजार घात प्रतिघातहरुलाई पन्छ्याउदै अघि बढी रहनु पर्छ,यस बाहेक अरु विकल्प पनि हुदैन। अघि बढिरहदा गोरेटोमा भेटिएका घात प्रतिघात गर्नेहरु छोडिदै जान्छन। तर ति घात प्रतिघातहरुलाई फर्केर हेर्ने चेष्टा कहिल्यै गर्नु हुदैन। किनकी तिनले फेरी पछ्याउन सक्छन। 

       हो जन्मिदा सबैको आमा बुबा साथमा हुन्छन,तर सधै भरि उहाँहरु पनि संगसंगै जीवनको संघर्षमा हिड्नु सक्दैनन्। त्यसैले भनिन्छ नि यो संसारमा जन्मदा एक्लै,जीवनको संघर्षमा एक्लै र फेरी यो संसारलाई छाडेर जाँदा पनि एक्लै। यो एउटा प्रकृतिको नियमलाई कसैले पनि उल्लघन गर्न सक्दैन। नजन्मिदा देखिको संघर्ष, जन्मेर मृत्युसम्म दुखले भरिएको हुन्छ। बस ! मानिसले कसरी आत्मसात गर्छ। उ र उसको परिवेशले निर्धारण गरिदिएको हुन्छ। 

      जन्मिए पछि मानिस एउटा ठुलो रंगमंचमा प्रवेश गरि सकेको हुन्छ। उसले समय र परिस्थिति अनुसार आफुलाई विभिन्न पात्रमा ढाल्दै अभिनय गरि रहेको हुन्छ। कतिपय पात्र चाहेर त कतिपय पात्र नचाहेर उसले ति पात्रहरुको भूमिका निर्वाह गर्नु पर्छ। हो यहि संसारको रंगमंचमा प्रत्येक मानिसहरुले गर्ने अभिनय लगभग एकै प्रकारको हुन्छ। फरक मात्र समय र परिस्थितिको हुन्छ। 

       त्यसैले जो मानिसले वर्तमानमा बाच्ने चेष्टा गर्छ,उ नै खुशी र सुखी धेरै हदसम्म हुने गर्दछ। जसले वर्तमानलाई बिर्सेर भुतकाल र भविष्यमा बाच्ने सपना बुन्छ,उ सधै उसले बुनेको सपनाको जालमा फसिरहेको हुन्छ। हो उसलाई उ सफल भएको लाग्छ तर उसले वर्तमानको मजा चाखन पाउदैन। उसले धेरै प्राप्त गरेको अनि अन्य भन्दा अलि  ठुलो या अग्लो देखिएता पनि, उ सधै आफुसंग होचो महसुस गरिरहेको हुन्छ। 

       आफूभित्र आफैलाई होचो महसुस हुदापनि मानिस न हो,आफुलाई चेतनशील प्राणी मानेर आफूभित्र आर्को कुनामा घमण्ड हुर्काई रहेको हुन्छ। आफु भित्रको घमण्डलाई बाहिर समाजमा देखाउदा अहममा परिणत गरेर देखाउछन। मानिसको घमण्ड प्राण हदसम्म मात्र हो। यो कुरा पनि थाहा छ,थाहा हुदा हुदै पनि आफूभित्रको शान्त मन-मस्तिष्कलाई सधै अशान्त बनाई राखेको हुन्छ। जसको परिणाम हामी सबैलाई थाहा छ,होइन र ! 

                          आजलाई एतिमात्र ! यो पनि म भित्रको अशान्त मन-मस्तिष्कको खैलाबैला हो है।     

Post a Comment

أحدث أقدم